कुनै समय युद्धले छियाछिया भएको भियतनामले कसरी गर्‍यो अद्भुत आर्थिक प्रगति ?

784
Shares

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह स्वान नेपालको तीनदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्केकी छन् । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निमन्त्रणमा नेपाल आएकी स्वानले समकक्षी यादवका साथै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु देउवा, भियतनामका लागि नेपालका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी लगायतसँग भेटघाट गरेकी छन् ।

यी भेटघाटहरूमा स्वानले दुई देशबीच अर्थतन्त्र, व्यापार, लगानी, कृषि, शिक्षा, पर्यटन र जनस्तरीय सम्बन्ध विस्तारमा जोड दिएकी छन् । परराष्ट्रमन्त्री राणाले स्वानलाई पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका विमान कम्पनीहरूलाई उडान गराउन अनुरोध गरेकी छन् ।

यही वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सव मनाइँदैछ र त्यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने पनि स्वानको भेटघाटका क्रममा कुराकानी उठेको छ । नेपाल–भियतनाम फ्रेन्डशिप एसोसिएसन र नेपाल पीस यान्ड सोलिडारिटी कमिटीलाई यी कार्यक्रम आयोजनामा अग्रणी भूमिका निर्वाह गर्नका लागि पनि प्रस्ताव गरिएको छ ।

नेपाल र भियतनामबीच सानो आयतनमा व्यापार हुँदै आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भियतनामबाट ६.८८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने नेपालबाट भियतनामतर्फ जम्मा ४ करोड ४६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यस विशाल व्यापारघाटालाई कम गर्नका लागि नेपालले पहल गर्नु जरुरी छ । नेपालले भियतनामतर्फ हस्तकला, पश्मिना र अन्य लत्ताकपडा, जनावरका छाला लगायतका वस्तु निर्यात गर्दै आएको छ । भियतनामबाट नेपालमा सोयाबीन तेल, सामुद्रिक खानेकुरा र अन्य उपभोग्य वस्तुहरू आयात हुँदै आएको छ ।

जलविद्युतको क्षेत्रमा नेपाल र भियतनामले साझेदारी गरेका छन् । भियतनामको सोङ्दा कर्पोरेशन र नेपालको कालिका ग्रुपले मिलेर १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनामा काम गरिरहेका छन् । चिया, कफी र खाद्य प्रशोधनका क्षेत्रमा पनि साझेदारी गर्नका लागि कुराकानी चलिरहेको छ । यस साझेदारीलाई थप बढाउन जरूरी छ ।

सन् २०४५ सम्ममा उच्च आय भएको विकसित मुलुक बन्नका लागि विभिन्न रणनीतिक कदम चालिरहेको भियतनाम र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको नेपालबीचको आर्थिक साझेदारीले पारस्परिक लाभ दिनेमा शंका छैन ।

सन् २०४५ सम्ममा उच्च आय भएको विकसित मुलुक बन्नका लागि विभिन्न रणनीतिक कदम चालिरहेको भियतनाम र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको नेपालबीचको आर्थिक साझेदारीले पारस्परिक लाभ दिनेमा शंका छैन

कुनै समयमा युद्धले तहसनहस बनाएको भियतनाम कसरी उच्च आय भएको मुलुक बन्ने बाटोमा हिँड्न सफल भयो ? यसका विषयमा तल चर्चा गरिनेछ । व्यावहारिक नीतिगत सुधार, उत्पादनमा आधारित आर्थिक वृद्धि, चतुर कूटनीति र विश्व अर्थतन्त्रसँगको निकटताले भियतनामलाई अहिलेको स्थितिमा ल्याइपुर्‍याएको हो ।

सन् १९५५ देखि १९७५ सम्म चलेको युद्ध अन्त्य भएपछि सन् १९७६ मा उत्तर र दक्षिण भियतनामको एकीकरण भएको थियो । युद्धोत्तर भियतनाममा पूर्वाधारहरू सबै क्षतविक्षत थिए, १० देखि ३० लाख सैनिक तथा सर्वसाधारणको मृत्यु भएको थियो, भोकमरीको स्थिति थियो र विश्व रंगमञ्चबाट भियतनाम एक्लिएको थियो ।

एकीकृत भियतनामलाई कम्युनिस्ट पार्टीले शासन गर्दथ्यो । उसले सोभियत शैलीमा अर्थतन्त्रलाई केन्द्रीय योजना बनाएर सञ्चालन गर्थ्यो । कृषिमा सामूहिकीकरण गरिएको थियो, उद्योग कलकारखानाहरू राष्ट्रियकरण गरिएका थिए र विदेशी व्यापारमा कठोर नियन्त्रण कायम गरिएको थियो ।

यसको परिणाम विनाशकारी रह्यो । उत्पादकत्व रोकियो, ग्रामीण र शहरी क्षेत्रमा मानिसले अभावको सामना गर्नुपर्‍यो र मूल्यवृद्धि आकासियो । भियतनाम कम्युनिस्ट सोभियत खेमाबाट प्राप्त सहायतामा पूर्ण निर्भर बन्यो । त्यसमाथि अमेरिकाले सन् १९७५ मा साइगोनबाट लज्जास्पद रूपमा भाग्न परेपछि भियतनामविरुद्ध लगाएको नाकाबन्दीले भियतनामलाई थप एक्ल्यायो । सन् १९९४ मा मात्र अमेरिकाले उक्त नाकाबन्दी हटाएको थियो । यी विविध कारणहरूले गर्दा सन् १९८० को दशकमा भियतनाम संसारकै सबभन्दा गरिब मुलुकमा पर्दथ्यो । उसको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १०० डलरभन्दा पनि कम थियो ।

यस्तो विषम परिस्थितिमा भियतनामले नीतिगत परिवर्तन गर्नैपर्ने थियो । भियतनामी नेताहरूले समाजवादको आदर्शलाई अपनाइरहेको भए पनि सुधार नगर्ने हो भने आफ्नो शासनसत्ता नै धरापमा पर्ने कटु यथार्थ बुझ्न थालेका थिए ।

सन् १९८६ मा कम्युनिस्ट पार्टीले सुधारको दह्रो निर्णय लियो । दोए मोआ नाम दिइएको आर्थिक तथा राजनीतिक सुधारको नीतिले चीनका तङ स्याओपिङको सुधार तथा खुलापनकै जस्तो कार्यक्रमहरू ल्यायो ।

त्यस सुधारले कृषिमा सामूहिकीकरणलाई परित्याग गरिदियो । किसानहरूलाई खेत भाडामा लिन दिइयो र आफूले खाएर पुगेको भन्दा बढी कृषि उत्पादन बजारमा बेच्न अनुमति दिइयो । त्यसो गर्दा खाद्यान्नको उत्पादनमा तत्कालै अभिवृद्धि भयो । एक दशकभित्रमा भियतनाम चामल आयात गर्ने मुलुकबाट संसारको दोस्रो ठूलो चामल निर्यातक मुलुक बन्यो ।

त्यससँगै सरकारी स्वामित्वका संस्थाहरूलाई विकेन्द्रीकरण गरियो । उनीहरूले बढी स्वायत्तता हासिल गरे । निजी संस्थाहरूलाई व्यापारका लागि प्रोत्साहन गरियो । साना उद्योगहरूलाई कानूनी रूपमा खोल्न दिइयो । यसले गर्दा उद्योगी व्यवसायीहरूले फस्टाउने अवसर पाए ।

भियतनामले विदेशी लगानी पनि यही बेला खुला बनायो । चीन, दक्षिण कोरिया, ताइवान, सिंगापुर जस्ता छिमेकी मुलुकहरूबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि भियतनामले कूटनीतिक पहल थाल्यो । उसले व्यापारमा उदारीकरण पनि गर्न थाल्यो । भन्सार शुल्कलाई क्रमशः घटाउन थाल्यो र वस्तु निर्यातलाई प्रोत्साहन पनि गर्‍यो ।

दोए मोआ आर्थिक सुधारको नीति मात्र थिएन । यो त भियतनामको अस्तित्व जोगाउने अस्त्र साबित भयो । चीनको जस्तै समाजवादमा आधारित बजार अर्थतन्त्रलाई अपनाएर भियतनामले एकदलीय शासन कायम राख्दै बजारको गतिशीलतालाई पनि अँगाल्यो । यसको परिणाम सुखद रह्यो । सन् १९९० को दशकमा भियतनामको वार्षिक आर्थिक वृद्धि औसतमा ७ प्रतिशतभन्दा बढी रह्यो ।

त्यसपछि भियतनामले विश्व बजारमा पहुँच बढाउन थाल्यो । अन्य विकासशील मुलुकहरूले हिचकिचाहट देखाएको भए पनि भियतनामले विश्व व्यापार प्रणालीलाई खुला दिलले अपनायो ।

भियतनामलाई दुई दशकसम्म विनाशकारी युद्धमा झोसेको अमेरिकाले दक्षिणपूर्वी एसियाका मुलुकहरूसँगको सम्बन्ध विस्तारका सिलसिलामा भियतनाममाथिको नाकाबन्दी सन् १९९४ मा अन्त्य गर्‍यो । दुई देशबीचको कूटनीतिक सम्बन्ध सन् १९९५ मा सामान्य बन्यो । त्यसपछि भियतनाममा व्यापार र लगानीको बाढी नै आयो । महत्त्वपूर्ण रूपमा अमेरिकाको उपभोक्ता बजारमा भियतनामले पहुँच पायो ।

सन् २००१ मा भियतनाम र अमेरिकाले द्विपक्षीय व्यापार सम्झौता गरे । यस सम्झौता अन्तर्गत भियतनामले भन्सार शुल्क घटायो, बौद्धिक सम्पत्तिको संरक्षणलाई दरिलो बनायो र विदेशी लगानीका लागि विभिन्न क्षेत्रहरूलाई खुला गरायो ।

त्यसको परिणामस्वरूप भियतनामी वस्तुहरूले अमेरिकी बजारमा निर्बाध पहुँच पाए । विशेषगरी भियतनामी लत्ताकपडा, जुत्ताचप्पल र पछि गएर विद्युतीय सामग्रीहरू अमेरिकातर्फ विशाल आयतनमा निर्यात हुन थाले । सन् २०२० सम्म आइपुग्दा भियतनामको सबभन्दा ठूलो विदेशी बजार अमेरिका नै थियो । भियतनामको कुल निर्यातको करिब एकतिहाई अमेरिकी बजारले नै धानेको थियो ।

सन् १९९५ मा भियतनाम दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन आसियानको सदस्य बन्यो । त्यसले गर्दा उसलाई क्षेत्रीय व्यापार सञ्जालमा प्रवेश गर्न सजिलो भयो । बहुराष्ट्रिय कम्पनीहरूको प्रभुत्व रहेको आपूर्ति शृंखलामा जोडिनका लागि भियतनामलाई आसियानको सदस्यताले सहयोग गर्‍यो ।

सन् २००७ मा भियतनाम विश्व व्यापार संगठनमा जोडियो । दुई वर्षको छलफलपछि भियतनामले त्यो अवसर पाएको थियो । त्यसले भियतनामलाई विश्व व्यापारमा मान्यता दिनुका साथै उदारीकरणलाई पनि गति दियो । विश्व व्यापार संगठनको सदस्य बनेपछि भियतनामले थप प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पायो किनकि लगानीकर्ताहरूलाई उक्त देशको आर्थिक सुधारप्रति विश्वास कायम भयो ।

चीनको जस्तै समाजवादमा आधारित बजार अर्थतन्त्रलाई अपनाएर भियतनामले एकदलीय शासन कायम राख्दै बजारको गतिशीलतालाई पनि अँगाल्यो । यसको परिणाम सुखद रह्यो

दोए मोआका रूपमा नीतिगत सुधारले भियतनामी अर्थतन्त्रको आधारशिला राखेको थियो । त्यसमा टेकेर अर्थतन्त्रलाई थप बलियो बनाउनका लागि भियतनामले उत्पादनमा जोड दियो ।

संसारको कारखाना भनिने चीन बलियो बन्दै गएपछि पश्चिमले उसबाट जोखिमको अनुभव गर्न थाल्यो । चीनमा मजदुरहरूको तलब वृद्धि हुँदै जाँदा र पश्चिमबाट भूराजनीतिक तनावहरू चर्किंदै जाँदा बहुराष्ट्रिय कम्पनीहरूले वैकल्पिक उत्पादन केन्द्रहरूको खोजी गर्न थाले । भियतनाममा युवा श्रमिकको विशाल संख्या, कम पारिश्रमिक, राजनीतिक अस्थिरता र बलियो पूर्वाधारका कारण बहुराष्ट्रिय कम्पनीहरूको ध्यान आकर्षित हुन थाल्यो ।

विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीहरूले भियतनाममा कारखाना खोल्न थाले । दक्षिण कोरियाको विशाल कम्पनी सामसुङले बाक निन्ह र थाइ न्गुयेन प्रान्तहरूमा विशाल स्मार्टफोन कारखानाहरू बनाउनका लागि अर्बौं डलरको लगानी गर्‍यो । त्यसपछि भियतनाम संसारको सबभन्दा ठूलो मोबाइल फोन निर्यातक मुलुकहरूको सूचीमा पर्न थाल्यो । इन्टेल कम्पनीले भियतनाममा सेमीकन्डक्टर चिपको उत्पादन र परीक्षण कारखाना बनायो । एप्पलले आफ्ना एयरपोडहरूको उत्पादन भियतनाममा गर्न थाल्यो र अन्य पाटपुर्जाको उत्पादन पनि त्यस देशमा गराउन खोजिरहेको छ ।

यसरी चाइना प्लस वान अर्थात् चीनबाहेकको आपूर्ति शृंखलाको नीति बहुराष्ट्रिय कम्पनीहरूले अँगाल्न थालेपछि भियतनामले त्यसबाट लाभ उठाउन पायो । उसले आफूलाई चीनको भरपर्दो विकल्पका साथै विश्व आपूर्ति शृंखलामा विश्वासिलो साझेदारका रूपमा उभ्यायो ।

सेमीकन्डक्टर चिप जस्ता अत्याधुनिक प्रविधिका साथै श्रमिकहरूको योगदानमा आधारित परम्परागत उद्योगहरू पनि भियतनाममा फस्टाउन थाले । उक्त देश लत्ताकपडा, जुत्ताचप्पल र फर्निचरको अग्रणी निर्यातक बन्यो । नाइक र एचएन्डएम जस्ता विश्वका ठूला ब्रान्डहरूका उत्पादन भियतनामका कारखानाले गर्न थाले । यी उद्योगहरूमा लाखौं संख्यामा कामदारहरूले रोजगारीको अवसर पाएपछि कैयौं परिवार गरिबीको रेखामाथि उक्लिन सफल भए ।

आपूर्ति शृंखलामा पकड जमाउन थालेपछि विद्युतीय सामग्री, भारी यन्त्रहरू र गाडीका पाटपुर्जा जस्ता उच्च मूल्यवान वस्तुमा पनि भियतनामले उत्पादन बढायो । सरकारले औद्योगिक पार्क, निर्यात प्रशोधन क्षेत्र र पूर्वाधार विकासमा जोड दिएर अर्थतन्त्रलाई थप बलियो बनाउनका लागि योगदान गरिरहेको छ ।

भियतनामले क्षेत्रीय सञ्जालहरूका साथ गरेको व्यापार सम्झौताले उसको प्रतिस्पर्धात्मक क्षमतालाई अझ बलियो बनाएको छ । कम्प्रिहेन्सिभ यान्ड प्रोग्रेसिभ एग्रीमेन्ट फर ट्रान्सपसिफिक पार्टनरशिपको सदस्यका रूपमा भियतनामले जापान, क्यानडा र अस्ट्रेलिया जस्ता बजारमा विशेष पहुँच प्राप्त गर्‍यो । त्यस्तै, सन् २०२० मा ईयू–भियतनाम फ्री ट्रेड एग्रीमेन्ट नामक सम्झौताले भियतनामी वस्तुलाई युरोपेली संघ जस्तो विश्वकै सबैभन्दा ठूलो एकीकृत बजारमा शून्य भन्सार शुल्कसहित प्रवेश दिलायो । अझ, रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशिप जस्तो एसियाकै ठूलो व्यापार सम्झौतामा जोडिएर भियतनामले चीन, जापान र दक्षिण कोरियाको नेतृत्व रहेको क्षेत्रीय आपूर्ति सञ्जालसँग गहिरो रूपमा पहुँचको अवसर पायो ।

यी सम्झौताहरूले भियतनामलाई भन्सार शुल्कबाट हुन सक्ने अवरोध हटाउन मद्दत गरे । यसले गर्दा भियतनामका निर्यातलाई भारत वा बंगलादेशजस्ता प्रतिस्पर्धीभन्दा बढी आकर्षक बनायो । अमेरिका र चीनबीच चलेको व्यापार युद्धका क्रममा अमेरिकाले चिनियाँ सामानमाथि लगाएको अतिरिक्त भन्सार शुल्कबाट जोगिन खोज्ने कम्पनीहरूका लागि भियतनाम स्वाभाविक विकल्प बन्यो । त्यसो त भियतनामी वस्तुमाथि अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाएको छ तर पहिला ४६ प्रतिशत आयातकर लगाउन खोजिएकोमा भियतनामले सम्झौता गरेर त्यसलाई घटाएको हो । भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लागेकोमा भियतनामको २० प्रतिशतले उसैलाई भारतभन्दा बढी प्रतिस्पर्धात्मक बजार बनाएको छ ।

राज्य नियन्त्रण र बजारको गतिशीलताको सन्तुलन भियतनामको आर्थिक वृद्धिको प्रमुख विशेषता हो । त्यहाँ कम्युनिस्ट पार्टीले राजनीतिक नियन्त्रण कायम गरेको छ, तर निजी क्षेत्र र विदेशी पूँजीका लागि अर्थतन्त्र खुला छ । ऊर्जा र बैंकिङ जस्ता क्षेत्रमा अझै पनि सरकारी स्वामित्वका संस्थाहरू हावी छन् तर उत्पादन र निर्यात वृद्धिमा निजी कम्पनी र विदेशी लगानीकर्ताले अगुवाइ गरेका छन् ।

पश्चिमा उदारवादीहरूले यस मिश्रित मोडेलको आलोचना गरेको भए पनि यसले अर्थतन्त्रलाई स्थिरता दिएको छ । रुस, पोल्यान्ड, चेकोस्लोभाकिया, बुल्गेरिया, इस्टोनिया र लाट्भिया जस्ता पूर्व समाजवादी देशहरूमा देखिएको अराजक रूपान्तरणभन्दा भिन्न रूपमा भियतनाम निजीकरणको ठूलो आघात (शक थेरापी) बाट जोगियो र उसले आर्थिक स्थिरता कायम गर्‍यो ।

हालैका वर्षमा भियतनामको विदेशनीतिलाई बाँस कूटनीति (ब्याम्बु डिप्लोमेसी) भनेर व्याख्या गरिएको छ । कम्युनिस्ट पार्टीका महासचिव गुयेन फू ट्रोङले यो पदावलि बनाएका हुन् । बाँसझैं भियतनामको कूटनीति गहिरो जरा गाडिएको अर्थात् सिद्धान्तमा दृढ तर परिस्थिति अनुसार झुक्न सक्ने लचिलो स्वरूपमा रहेको छ ।

जरा भनेको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय हितप्रति भियतनामको अडिग प्रतिबद्धता हो । उपनिवेश, युद्ध र ठूला शक्तिहरूको दबाब सहनुपरेको इतिहास रहेको भियतनामले आफ्नो भौगोलिक अखण्डता र राजनीतिक स्वायत्ततामा सम्झौता नगर्ने दृढता व्यक्त गरेको छ ।

बाँसझैं भियतनामको कूटनीति गहिरो जरा गाडिएको अर्थात् सिद्धान्तमा दृढ तर परिस्थिति अनुसार झुक्न सक्ने लचिलो स्वरूपमा रहेको छ

त्यससँगै बाँसको डाँठको लचिलोपनले प्रमुख शक्तिसँग ‘डिल’ गर्ने भियतनामको व्यावहारिक दृष्टिकोण देखाउँछ । चीन र अमेरिका जस्ता प्रतिस्पर्धी शक्तिको बीचमा रहेको भियतनामले दुवैसँग सकारात्मक सम्बन्ध कायम राखेको छ । चीनसँग उसले व्यापार र कम्युनिस्ट पार्टी स्तरको सम्बन्धलाई अगाडि बढाएको छ भने दक्षिण चीन सागरमा सावधानीपूर्वक तनाव व्यवस्थापन गरेको छ । अमेरिकासँग भने आर्थिक र सुरक्षा सम्बन्ध अझ गहिरो बनाउँदै सन् २०२३ मा सम्बन्धलाई विस्तृत रणनीतिक साझेदारीको स्तरमा उचालेको छ ।

बाँस कूटनीतिले सम्बन्ध विविधीकरणमा पनि जोड दिन्छ । भियतनामले आसियानका छिमेकी मुलुकहरू, युरोपेली संघ, जापान, भारत र दक्षिण कोरियासँग पनि बलियो सम्बन्ध विकास गरेको छ । यसले गर्दा उसलाई कुनै एक साझेदारमा निर्भर हुनबाट बचाएको छ । क्षेत्रीय स्तरका ठूला व्यापार सम्झौता गरेर भियतनामले भूअर्थनीतिमार्फत भूराजनीतिक धक्काबाट जोगाउनका लागि आधार तयार पारेको छ ।

भियतनामको आर्थिक रूपान्तरण आश्चर्यजनक छ । विश्व बैंकका अनुसार, सन् १९८० को दशकमा ७० प्रतिशतभन्दा बढी रहेको गरिबी आज घटेर ५ प्रतिशतभन्दा कम भएको छ । औसत आयु ७३ वर्षभन्दा माथि पुगेको छ । साक्षरता दर ९४ प्रतिशतभन्दा बढी छ ।

भियतनामले शिक्षा क्षेत्रमा ठूलो लगानी ग‍रेर उच्च मूल्यका उत्पादनमा अनुकूल हुन सक्ने दक्ष जनशक्ति उत्पादन ग‍रेको प्रतिफल पाइरहेको हो । अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीहरूको मूल्यांकन गर्ने पिसा परीक्षामा भियतनामले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । मानव पूँजीप्रति भियतनामको प्राथमिकता यसले झल्काउँछ ।

भियतनामको आर्थिक उत्थानले नेपाल जस्ता विकासशील मुलुकहरूलाई महत्त्वपूर्ण पाठ सिकाउँछन् । विचारधाराको जडताभन्दा व्यवहारवादलाई महत्त्व दिएर भियतनामले समाजवादलाई बजारको यथार्थसँग मिलाउँदै स्थिरता कायम गरेको छ र आर्थिक वृद्धि पनि हासिल गरेको छ । व्यापार सम्झौता र आपूर्ति सञ्जालमा समावेश हुँदा भियतनामले द्रुत गतिमा औद्योगिकीकरण गर्न सकेको कुराले पनि महत्त्वपूर्ण पाठ सिकाउँछ । त्यस्तै श्रममा आधारित उत्पादन क्षेत्रलाई अर्थतन्त्रको आधार बनाउँदा भियतनाममा रोजगारी सिर्जना भयो । विद्युतीय सामग्री र उच्च मूल्यका उद्योगले भियतनामको निर्यात आम्दानी बढाए ।

व्यावहारकिता अपनाउँदै भियतनामले विगतमा शत्रुतापूर्ण रहेको अमेरिकासँगको सम्बन्धलाई सुधारेर निर्यातकेन्द्रित आर्थिक वृद्धिको आधार बनाएको कुराले पनि राम्रो पाठ पढाउँछ ।