
एजेन्सी । अन्तिम दुई दशकमा चीनले आफ्नो रक्षा तथा सैन्य क्षमताको विकासमा उल्लेखनीय प्रगति गरेको छ ।
एक समय विदेशी प्रविधि र आयातित हतियारमा भर परिरहेको बेइजिङ विस्तारै आत्मनिर्भरतातर्फ उन्मुख भएको छ ।
धेरै क्षेत्रहरूमा हालैका प्रविधिक उपलब्धिहरू– आधुनिक लडाकु विमान, फ्रिगेट, विमानवाहक पोत, हाइपरसोनिक क्षेप्यास्त्र र मानवरहित प्रणालीहरूको घरेलु उत्पादनमार्फत यसको स्पष्ट संकेत देखिन्छ ।
त्यस्तै, चीनले युद्धको भविष्यलाई लिएर छुट्टै दृष्टिकोण पनि अघि सारेको छ, जसमा कृत्रिम बुद्धिमत्ता (एआई), स्वायत्त प्रणाली, बहुउपक्षीय एकीकरण र ‘बौद्धिक’ युद्धलाई जोड दिइएको छ ।
वासिङ्टन र उसको गठबन्धनका लागि यी प्रगतिहरूले खतरा ठानेर घण्टी बजाइदिएका छन् । अमेरिकी सैन्य योजनाकारहरूले चीनलाई रोक्न नयाँ स्रोत परिचालन गरिरहेका छन्, गठबन्धन संरचना विस्तार गरिरहेका छन् र हतियारको सङ्ग्रह तीव्र रूपमा बढाइरहेका छन् ।
यसकै परिणाम स्वरूप सुरक्षात्मक द्विविधा र हतियार प्रतिस्पर्धाको परिचित चक्र दोहोरिइरहेको देखिन्छ । तर चीनको सैन्य मार्गचित्रबारे यस्ता मूल्याङ्कनहरूले भ्रम पैदा गर्छन् । यसले तथाकथित ‘चीन खतरा’ कथालाई अतिरञ्जित गर्छ र बेइजिङका कार्यहरूलाई केवल शून्य–योग संघर्षको रूपमा प्रस्तुत गर्छ ।
वास्तवमा, जनमुक्ति सेनाको आधुनिकीकरण चीनका व्यापक सुधारहरूको निरन्तरता हो र एक प्रमुख शक्ति बनेर उदाउन थालेको उसको अवस्थाको अभिव्यक्ति हो ।
धेरै मापदण्डका आधारमा चीनको सैन्य क्षमता अझै पनि अन्य महाशक्तिहरू, विशेष गरेर अमेरिकाभन्दा धेरै पछाडि रहेको छ र उसको आर्थिक तथा राजनीतिक भारको तुलनामा सैन्य शक्ति असन्तुलित देखिन्छ ।
आफ्नो कार्यकालको सुरुदेखि नै सी चिनफिङले व्यापक सैन्य सुधारलाई प्रमुख प्राथमिकतामा राखेका थिए । यस कार्यक्रमले उपकरण आधुनिकीकरण मात्र होइन कार्यक्षमता अभिवृद्धि र कमाण्ड संरचना सुदृढीकरणका लागि संस्थागत तथा रणनीतिक सुधारहरू पनि समेटेको थियो ।

महत्वपूर्ण कुरा त के हो भने पश्चिमी विश्लेषकहरूले सीका सुधारहरू कठोर अर्थिक अनुशासनबाट सुरु भएको प्रायः हेर्दैनन् कि ? जस्तै ३ लाख सैन्यकर्मी कटौतीले चीनको दृष्टिकोण केवल शक्ति संकलन नभएर पुनःसमायोजन, अनुकूलन र दक्षतामा केन्द्रित थियो भन्ने देखाउँछ ।
हालको चिनियाँ सैन्य सिद्धान्त ‘सैन्य बल मजबूत बनाउने सी चिनफिङको विचार’ हो, जुन २०१७ मा अंगीकार गरिएको थियो । यसले २०४९ सम्म जनमुक्ति सेनालाई विश्वस्तरीय सैन्य शक्तिमा रुपान्तरण गर्ने महत्वाकाङ्क्षी लक्ष्य राखेको छ। जसका बीचका मुख्य माइलस्टोनहरू २०२७ सम्म पूरा गर्ने भनिएको छ जुन वर्ष पीएलएको शतवार्षिकी पनि हो । केही पश्चिमी रणनीतिकारहरूले यही समयसीमालाई आधार बनाएर चीनले २०२७ सम्म ताइवान आक्रमण गर्ने दाबी अघि सारेका छन् ।
तर यस्तो दाबीको ठोस आधार छैन र यसले मुख्यतः क्षेत्रीय हतियार प्रतिस्पर्धा र बजेट वृद्धिको बहाना प्रदान गरेको छ । चिनियाँ आधुनिकीकरण तत्काल आक्रमणका लागि होइन, बरु बाह्य हस्तक्षेपलाई निरुत्साहित गर्न, सार्वभौमसत्ता सुरक्षित गर्न र दीर्घकालीन विकासलाई सुनिश्चित गर्न केन्द्रित छ ।
सीको अर्को प्रमुख विशेषता भनेको पीएलए माथि चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रण बलियो बनाउनु हो । पार्टीको नेतृत्व सन् १९२७ देखि सिद्धान्तमा भए पनि सांस्कृतिक क्रान्ति जस्ता समयमा कमजोर भएको थियो । सीले केन्द्रीय सैनिक आयोगमार्फत् (सीएमसी) ‘पूर्ण पार्टी नेतृत्व’लाई पुनःस्थापित गरेका छन्, जसमा उनी स्वयं एकमात्र नागरिक सदस्य हुन् ।
यससँगै व्यापक संस्थागत पुनर्संरचना र सैन्यभित्रै भ्रष्टाचार विरोधी अभियान चलेको छ, जसले सीएमसीसम्म पनि पुगेका धेरै उच्च अधिकारीहरू हटाइएका छन् ।

त्यस्तै, सीको सुधारमा नवप्रविधि र पूर्वाधुनिक टेक्नोलोजीलाई विशेष प्राथमिकता दिइएको छ । सन् २०१९ देखि चीनले आधिकारिक रूपमा ‘बौद्धिक युद्ध’ अवधारणा अपनाउन थालेको छ । जसमा एआई, स्वायत्त प्रणाली, मानव–मेसिन सहकार्यलाई जोड दिइएको छ । यो रणनीतिक परिवर्तन हो जसले संज्ञानात्मक क्षेत्रलाई युद्धको नयाँ र अत्यन्त महत्वपूर्ण रंगशाला मानेको छ । लक्ष्य हो – बहुअंगी, एकीकृत युद्ध जसलाई इन्टरनेट अफ थिङ्स, मेसिन स्वायत्तता र मानव–मेसिन एकीकरणले बलियो बनाउनेछ– जुन चीनको परम्परागत ‘सक्रिय रक्षा’ सिद्धान्तको आधुनिक व्याख्या हो ।
आउदो सेप्टेम्बर ३ मा तियानआनमेन स्क्वायरमा हुने विजय दिवस परेडमा कुन नयाँ प्रणाली देखाइनेछ भन्ने अहिले चर्चा चलिरहेको छ । हालैका उपलब्धिहरूले यसलाई झन् चासोको विषय बनाएको छ ।
हवाई क्षेत्रमा चीनले छैटौँ पुस्ताका लडाकु विमान जे-३६ र जे-५० परीक्षण थालेको छ । जुन सन् २०२४ डिसेम्बरमा पहिलोपटक सार्वजनिक रूपमा देखिएका थिए। यद्यपि चीनले यिनको औपचारिक घोषणा गरेको छैन । तर रिपोर्टहरूमा यी विमानहरू स्टेल्थ, गतिशीलता र अनुकूलतामा ठूलो फड्को हुन सक्ने बताइएको छ । २०२४ देखि चीन अमेरिकापछि दुईथरी स्टेल्थ लडाकु विमान संचालन गर्ने संसारको दोस्रो देश बनेको छ ।
हाइपरसोनिक क्षेप्यास्त्र क्षेत्रमा चीनलाई विश्व नेता मानिन्छ । यी प्रणालीहरू अत्यधिक गतिमा यात्रा गर्न र अप्रत्याशित रूपमा मोडिन सक्छन्, जसले रक्षा नेटवर्कलाई चुनौती दिन्छ । चीनले परम्परागत र आणविक दुवै प्रकारका हाइपरसोनिक प्रणालीमा लगानी गरिरहेको छ ।
मानवरहित प्रणालीहरू पनि द्रुततर रूपमा अग्रभागमा आइरहेका छन् । चिनियाँ रणनीतिकारहरू ड्रोन तथा रोबोट प्रणालीलाई भविष्यको युद्धमा निर्णायक मान्न थालेका छन् । हालैको प्रगतिमा मेपल सिडबाट प्रेरित स्वार्मिङ ड्रोन, मच्छर आकारका टोही रोबोट, एकैपटक १०० ड्रोन प्रक्षेपण गर्न सक्ने ‘नाइन हेभेन्स’ ड्रोन क्यारियर र २०२५ अगस्टमा सार्वजनिक गरिएको उच्च–गति भीटीओएल ड्रोन रहेका छन् । त्यस्तै जुलाईको सैन्य अभ्यासमा हावाबाट उड्ने ड्रोन र रोबोटिक कुकुरहरूको संयुक्त सञ्चालन पनि देखाइएको थियो ।

नौसैनिक शक्ति अझै प्रमुख प्राथमिकता हो । चीन अहिले ल्याओनिङ र शान्दोङ नामक दुई विमानवाहक पोतसहित तेस्रो घरेलु डिजाइन गरिएको फुजिआनको समुद्री परीक्षण गर्दैछ । यो २०२५ अन्त्यसम्म सेवामा आउने अपेक्षा छ । चाँडै नै चौथो टाइप–००४ को निर्माण सुरु भइसकेको छ । यो चीनको पहिलो आणविक–सञ्चालित क्यारियर हुनेछ । यद्यपि अमेरिकासँग अझै ११ आणविक क्यारियर छन् । तर चीनले तीव्र गतिमा पछ्याइरहेको छ । त्यस्तै, चीनले २०२३ मा लञ्च गरेर २०२५ मा सेवा प्रवेश गराएका टाइप ०५४बी फ्रिगेट, टाइप ०७६ एम्फिबियस असल्ट शिप (२०२४) र विकासरत टाइप ०९६ आणविक पनडुब्बी पनि छन्, जसलाई पश्चिमेली विश्लेषकहरूले अमेरिकी योजनाकारका लागि ‘दुःस्वप्न’ भनेका छन्।
अहिले सबैभन्दा नयाँ भनेको ‘बोहाइ सी मोन्स्टर’ नामक विङ–इन–ग्राउन्ड इफेक्ट क्राफ्ट हो । यसले जहाज र विमानको बीचमा रहेको जस्ता विशेषता राख्दै, पानी सतहमै तीव्र गतिमा यात्रा गरी रडारबाट बच्न सक्छ । तर यति भए पनि चीनसँग अझै विश्वव्यापी रसद सञ्जाल र अत्याधुनिक आणविक पनडुब्बी प्रविधि अभाव छ । जसले उसको नौसैनिक शक्ति क्षेत्रीय सीमिततामा रहेको देखाउँछ।

चीनको आणविक शस्त्रागार पनि विस्तारै बढ्दैछ । हरेक वर्ष करिब सय वारहेड थपिँदै गएको अनुमान छ । सन् २०३० सम्म यसले १००० भन्दा बढी वारहेड पुर्याउन सक्छ, जसले अमेरिकी भूमिसमेत लक्षित गर्न सक्छ । तथापि, चीनले अहिलेसम्म ‘पहिलो प्रयोग नगर्ने’ नीति घोषित गर्दै गैरआणविक राष्ट्र वा आणविकहिन क्षेत्रमाथि कहिल्यै प्रयोग नगर्ने प्रतिज्ञा गरेको छ । दीर्घकालीन रूपमा चीन पूर्ण आणविक निशेधसमेतको वकालत गर्छ, यो कुरा अमेरिकासँग फरक छ ।
यी सबै विकासक्रमहरूले पीएलएमा गम्भीर रुपान्तरण भइरहेको देखाउँछन् । तर धारणा र वास्तविकताबीच ठूलो अन्तर छ भन्ने बुझ्न सकिन्छ । चीनको सैन्य आधुनिकीकरण द्रुत भए पनि यसको उद्देश्य विस्तारवादी सत्ता होइन । सार्वभौम रक्षा, बाह्य डर देखाउने शक्तिहरूलाई निष्क्रिय पार्नु र आफ्नो आर्थिक भार अनुरूप रक्षा क्षमता बनाउनु हो । ताइवान आक्रमण समयरेखा जस्ता पश्चिमेली आशङ्काहरूले चीनको वास्तविक उद्देश्यलाई गलत व्याख्या गर्दै अस्थिरता पैदा गर्ने खतरा राख्छ ।
भविष्यको पीएलए अझ प्रविधि–सम्पन्न, बहुअंगी रूपमा समन्वित र कम्युनिस्ट पार्टी नेतृत्वसँग अझ बलियो रूपमा बाँधिएको हुनेछ । तर यसको मुख्य भूमिका रक्षात्मक नै हुनेछ । बाह्य दबाब रोक्ने, राष्ट्रिय हित रक्षा गर्ने र शान्तिपूर्ण विकासको लागि स्थान सुनिश्चित गर्ने । यो वास्तविकता स्वीकार्न ‘चीन खतरा’ कथाबाट माथि उठेर सन्तुलित मूल्याङ्कन आवश्यक छ, जसले चीनको सैन्य आधुनिकीकरणको महत्व पनि बुझोस् र यसको सीमाहरू पनि । त्यतिबेला मात्र अन्तर्राष्ट्रिय समुदाय अविश्वास र टकरावको दुष्चक्रबाट बच्न सक्छ ।
(समाचार संस्था आरटी इन्टरनेशनलमा प्रकाशित लादिस्लाभ जेमानेकको लेखको अनुवाद ।)








प्रतिक्रिया