नाफा बढेसँगै वाणिज्य बैंकहरूले सरकारलाई तिरे गत वर्षभन्दा ५ अर्ब बढी आयकर, कुमारी नम्बर वान

1.2k
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले ३२ अर्ब ८० करोड १५ लाख रुपैयाँ आयकर तिरेका छन् । गत वर्ष सरकारले कुल २ खर्ब ६७ अर्ब ६० करोड १५ लाख रुपैयाँ आयकर संकलन गरेकामा त्यसको १२.२६ प्रतिशत आयकर २० वाणिज्य बैंकहरुले मात्रै तिरेका छन् ।

२० वाणिज्य बैंकमध्ये कुमारी बैंकले सबैभन्दा धेरै ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ आयकर तिर्दै बैंकिङ क्षेत्रमै सबैभन्दा धेरै आयकर तिर्ने बैंक बनेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८२१ मा बाह्य लेखापरीक्षणपछिको नाफा ४९ अर्ब ४९ अर्ब ८७ करोड रुपैयाँ हुँदा वाणिज्य बैंकहरुले २६ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ आयकर तिरेका थिए ।

गत आर्थिक वर्षमा नाफा भन्दा बढी आयकर तिरेको कुमारी बैंक बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै आयकर तिर्ने संस्था बनेको हो । गत आवमा धेरै आयकर तिर्ने संस्थाहरुमा कुमारी बैंक शीर्ष कम्पनीहरुमा पर्छ । बैंकले ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ आयकर तिरेको छ । जुन सरकारले गत आर्थिक वर्षमा संकलन गरेको कुल आयकरको १.३७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ९९ करोड ४४ लाख रुपैयाँ आयकर तिरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा बाह्य लेखापरीक्षणपछि कुमारी बैंकको कर्जा नोक्सानी व्यवस्था उल्लेख्य बढेको र गत आर्थिक वर्षमा पनि बैंकले थप कर्जा नोक्सानी व्यवस्था गर्नुको साथै नाफामा पनि कर तिर्नुपर्दा नाफा कम भए पनि आयकर भने धेरै तिर्नुपर्नेको हो । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार करयोग्य नाफा ५ अर्ब ७८ करोड १४ लाख रुपैयाँ हो ।

आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । तर, बैंकहरुले भने कर्जा नोक्सानी व्यवस्था अर्थात् जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकम तथा गैरबैंकिङ सम्पत्ति वापत व्यवस्था गरिएको रकम समेतको ५ प्रतिशतसम्मको रकमलाई खर्चको रुपमा लेखांकन गर्न पाउने व्यवस्था छ । कर्जा नोक्सानी व्यवस्था ५ प्रतिशतभन्दा माथि भएमा त्यसलाई खर्च लेखांकन गर्न नपाइने र आम्दानी मानेर आयकर तिर्नुपर्ने हुन्छ ।

‘नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकिङ व्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकम तथा गैर-बैंकिङ सम्पत्ति वापत व्यवस्था गरिएको रकम समेतको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ,’ आयकर ऐनको दफा ५९ १(क) मा भनिएको छ । सोही व्यवस्थाका आधारमा नाफा कम भए पनि कुमारी बैंक सबैभन्दा धेरै आयकर तिर्ने बैंक बनेको हो ।

बैंकले करिब १५ अर्बसम्मको कर्जा नोक्सानी व्यवस्थालाई खर्च लेखांकन गर्न पाउने भए पनि करिब २५ अर्ब कर्जा नोक्सानी व्यवस्था गरेको छ । सोही कर्जा नोक्सानी व्यवस्थालाई खर्च लेखांकन गर्न नपाउँदा बैंकले नाफा कम भए पनि आयकर धेरै तिर्नुपरेको हो ।

कुमारीपछि धेरै आयकर तिर्नेमा नबिल बैंक छ । नबिलले ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ आयकर तिरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ३९ करोड ९० लाख रुपैयाँ आयकर तिरेको थियो ।

२ अर्ब रुपैयाँभन्दा माथि आयकर तिर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई र एभरेष्टले पनि २ अर्ब रुपैयाँभन्दा धेरै आयकर तिरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ आयकर तिर्दा ग्लोबल आईएमई बैंकले २ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ५३ करोड २७ लाख रुपैयाँ आयकर तिरेको हो ।

यता सबैभन्दा कम आयकर तिर्ने वाणिज्य बैंक एनआईसी एशिया हो । बैंकले ५ करोड ५१ लाख ५२ हजार रुपैयाँमात्र आयकर तिरेको छ । त्यस्तै सिटिजन्स बैंकले ५४ करोड ५१ लाख रुपैयाँ आयकर तिर्दा हिमालयन बैंकले ५७ करोड ३८ लाख रुपैयाँ आयकर तिरेको छ । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुमा नै दोस्रो धेरै २ अर्ब ६३ करोड ८६ लाख रुपैयाँ आयकर तिरेको प्रभु बैंकले गत आवमा ८६ करोड २४ लाख रुपैयाँ आयकर तिरेको छ । आयकर ऐनको व्यवस्था अनुसार अघिल्लो आवमा धेरै आयकर तिर्नुपरेको प्रभु बैंकले गत आवमा कर्जा नोक्सानी व्यवस्था फिर्ता हुँदा ८६ करोड २४ लाख रुपैयाँ मात्रै आयकर तिरेको हो ।

गत आर्थिक वर्षमा बैंकहरुले तिर्ने आयकर बढेपनि निक्षेपकर्ताले तिर्ने ब्याजकर भने घटेको छ । ब्याजदर घटेसँगै ब्याज आम्दानीमा कमी आउँदा ब्याजदर पनि घटेको हो । २०८०/८१ मा सरकारले ३६ अर्ब ८३ करोड ८५ लाख ब्याजकर संकलन गरेकामा गत आर्थिक वर्षमा ३० अर्ब २१ अर्ब १८ करोड रुपैयाँमा सिमित भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा सरकारले कुल २ खर्ब ४६ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ आयकर संकलन गरेकामा त्यसको १०.७६ प्रतिशत अर्थात् २६ अर्ब ५४ करोड ८० लाख रुपैयाँ आयकर २० वाणिज्य बैंकहरुले तिरेका थिए ।