विकास बैंकहरूको आकर्षक नाफा र लाभांश क्षमता: मुक्तिनाथ अगाडि, गरिमा-शाइन-कामना पछ्याउँदै

2.1k
Shares

काठमाडौं । विकास बैंकहरुको खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा वृद्धि तथा सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पियरमेन्ट चार्ज) घटेसँगै नाफा उल्लेख्य बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेको ८ वटा राष्ट्रियस्तरका विकास बैंकमध्ये ६ बैंकको नाफा बढेको छ ।

८ बैंकले गत आवमा कुल ७ अर्ब ९७ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा २२.०१ प्रतिशतले बढेको हो । अघिल्लो आव २०८०/८१ मा राष्ट्रिय स्तरका ८ विकास बैंकहरुको नाफा ५ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा गरिमा विकास बैंकको नाफामा उच्च वृद्धि हुँदा ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकको नाफामा भने गिरावट देखिएको छ ।

विकास बैंकहरुको खुद ब्याज अम्दानीसँगै खुद फि तथा कमिसन आम्दानी पनि बढेको छ । खुद ब्याज आम्दानी ४.६३ प्रतिशतले बढेर २६ अर्ब २० करोड ६२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फि तथा कमिसन आम्दानी १२.४५ प्रतिशतले बढेर ३ अर्ब १५ करोड २७ लाख रुपैयाँ पुगेको छ । कर्जा नोक्सानी व्यवस्था भने ३.७९ प्रतिशतले घटेर ६ अर्ब ४७ करोड ६६ लाख रुपैयाँमा झरेको छ । आम्दानीमा वृद्धि र नोक्सानी व्यवस्था घट्दा विकास बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

नाफामा बलियो मुक्तिनाथ र गरिमा

गत आर्थिक वर्षमा मुक्तिनाथ र गरिमा विकास बैंकले अर्थमाथि नाफा कमाएका छन् । यता ज्योति विकास बैंकको भने वित्तीय अवस्था कमजोर देखिएको छ । उत्कृष्ट देखिँदा ज्योति विकास बैंक भने कमजोर देखिएको छ । निष्क्रिय कर्जा बढेसँगै प्रोभिजन उच्च दरमा बढेको कारण ज्योति विकास बैंक सञ्चित नोक्सानीमा छ भने प्राथमिक पुँजीकोषमा पनि दबाब परेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा निक्षेप र कर्जा दुवै घटाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा मुक्तिनाथ विकास बैंकले सर्वाधिक १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.७० प्रतिशतले नाफा बढाएको बैंकको वितरणयोग्य नाफा नै १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ छ । यसबाट बैंकले सेयरधनीलाई २०.७५ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्छ ।

यस्तै दोस्रो धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक छ । गत आर्थिक वर्षमा बैंकको नाफा २०१.९७ प्रतिशतले बढेर २०१.९७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड पुगेको छ । नाफासँगै बैंकको वितरणयोग्य नाफा बढेर ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ । यसबाट बैंकले १२.५९ प्रतिशतसम्म लाभांश बाँड्ने क्षमता राख्छ । यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३.३१ प्रतिशतले वृद्धि हुँदा ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ६८ करोड ५ लाख रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश क्षमता १३.९६ प्रतिशत छ । गत आर्थिक वर्षमा कामना सेवा विकास बैंकले पनि सुधार सहितको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले गत आवमा नाफा ९.१९ प्रतिशतले बढाएर ६३ करोड ५३ लाख रुपैयाँ पुर्‍याएको छ । बैंकको वितरणयोग्य नाफा ६० करोड ७४ लाख पुग्दा लाभांश क्षमता १७.३० प्रतिशत छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ५१ लाख रुपैयाँ पुग्दा महालक्ष्मी विकास बैंकको नाफा १.२६ प्रतिशतले बढेर ५० करोड ६७ लाख रुपैयाँ पुगेको छ । लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकको नाफामा भने उच्च गिरावट देखिएको छ । लुम्बिनी विकास बैंकको नाफा ३०.१३ प्रतिशतले घटेर ३७ करोड ७९ लाख रुपैयाँ र ज्योति विकास बैंकको नाफा ९२.७४ प्रतिशतले घटेर १ करोड २४ लाख रुपैयाँमा झरेको छ ।

नाफा बढेको सांग्रिलाको वितरणयोग्य नाफा ४१ करोड ३९ लाख रुपैयाँ पुग्दा लाभांश क्षमता ११.६४ प्रतिशत छ । महालक्ष्मीको वितरणयोग्य नाफा बढेर ४९ करोड ४६ लाख रुपैयाँ पुग्दा लाभांश क्षमता ११.५१ प्रतिशत छ भने लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा घटेर २९ करोड ४४ लाख रुपैयाँमा झरेको छ भने लाभांश क्षमता ८.१३ प्रतिशतमा झरेको छ । त्योति विकास बैंक भने ७८ करोड ५ लाख रुपैयाँले सञ्चित नोक्सानीमा छ ।

गत आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकहरुको वितरणयोग्य नाफा समग्रमा १८१.३० प्रतिशतले बढेर ४ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको वितरणयोग्य नाफा १ अर्ब ७२ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

ज्योति र लुम्बिनीको कर्जा घट्यो

गत आर्थिक वर्षमा ज्योति विकास बैंकको निक्षेप ८.६७ प्रतिशतले घटेर ६३ अर्ब ५० करोडमा झरेको छ भने कर्जा ३ अर्ब ८६ करोड रुपैयाँले घटेर ४८ अर्ब २७ करोड रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षमा विकास बैंकहरुको निक्षेप समग्रमा ३.७५ प्रतिशतले बढेर ५ खर्ब ८२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा ३.७१ प्रतिशतले बढेर ४ खर्ब ७१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । तर, ज्योति विकास बैंकले भने व्यवसाय घटाएको छ । यस्तै लुम्बिनी विकास बैंकको कर्जा १.७६ प्रतिशतले घटेर ४७ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ । बैंकको निक्षेप भने १.९८ प्रतिशतले घटेर ५८ अर्ब २ करोड रुपैयाँमा झरेको छ ।

मुक्तिनाथ विकास बैंकको निक्षेप ९.६१ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंकको कर्जा ५.४१ प्रतिशतले बढेर ९९ अर्ब १४ करोड पुगेको छ । गरिमाको निक्षेप ७.७२ प्रतिशतले बढेर ९२ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.२१ प्रतिशतले बढेर ७३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । गत आवमा प्रतिशतको आधारमा सबैभन्दा धेरै व्यवसाय बढाउन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ । बैंकको कर्जा ८.३७ प्रतिशतले बढेर ५८ अर्ब २६ करोड पुगेको छ भने निक्षेप ९.३० प्रतिशतले बढेर ७२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

कामना सेवाको निक्षेप ६.३८ प्रतिशतले बढेर ६३ अर्ब ५० करोड रुपैयाँ पुग्दा कर्जा ७.०४ प्रतिशतले बढेर ५२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको कर्जा २ प्रतिशतले बढेर ४५ अर्ब ८९ करोड पुग्दा कर्जा १.१० प्रतिशतले बढेर ५६ अर्ब २० करोड पुगेको छ । यस्तै महालक्ष्मी विकास बैंकको कर्जा ३.५८ प्रतिशतले बढेर ४५ अर्ब ८५ करोड र निक्षेप ०.१७ प्रतिशतले बढेर ५६ अर्ब २२ करोड पुगेको छ ।

गत आर्थिक वर्षमा विकास बैंकहरुको कर्जा र निक्षेप सामान्य वृद्धि हुँदा खुद ब्याज आम्दानी पनि ४.६३ प्रतिशतले बढेको छ । ज्योति विकास बैंकको खुद ब्याज आम्दानी नै ११.६९ पतिशतले घटेर २ अर्ब ९ करोड ४९ लाख रुपैयाँमा झरेको छ । यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको पनि खुद ब्याज आम्दानी घटेको छ । बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशतले घटेर १ अर्ब ८८ करोड रुपैयाँमा झरेको हो ।

गत आर्थिक वर्षमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी सर्वाधिक १३.४८ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ पुगेको हो । सबैभन्दा धेरै खुद ब्याज आम्दानी रहेको मुक्तिनाथको ७.५० प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ७२ लाख रुपैयाँ पुगेको हो ।

गरिमाको निष्क्रिय कर्जा घट्दा ७ बैंकको घट्यो

गत आर्थिक वर्षमा गरिमा विकास बैंकको निष्क्रिय कर्जा ०.१३ प्रतिशत बिन्दुले घटेर ४.७२ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जा घटेपनि गत आवमा बैंकले ५३ करोड ८० लाख रुपैयाँ थप कर्जा नोक्सानी व्यवस्था गरेको छ । अघिल्लो आवमा १ अर्ब ७१ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेकोमा गत आवमा नोक्सानी व्यवस्था घटेसँगै नाफामा उच्च वृद्धि भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ । ज्योति विकास बैंकको निष्क्रिय कर्जा ५.२९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशतले पुगेको हो । निष्क्रिय कर्जा बढ्सँगै बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि १ अर्ब २८ करोड ३४ लाख छुट्र्याएको छ । अघिल्लो आवमा बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ छुट्याएको थियो । सबैभन्दा कम निष्क्रिय कर्जा रहेको मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा अनुपात ०.३८ प्रतिशतले बिन्दुले बढेर २.२७ प्रतिशत पुगेको छ । बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थाको लागि ५६ अर्ब ३० करोड रुपैयाँ छुट्याएको छ । अघिल्लो आवमा बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि ७७ करोड ६८ लाख रुपैयाँ छुट्याएको थियो ।

कामना सेवाको निष्क्रिय कर्जा ०.०२ प्रतिशत बिन्दुले बढेर ३.३८ प्रतिशत पुग्दा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा ०.८१ प्रतिशत बिन्दुले बढेर ४.२४ प्रतिशतले पुगेको हो । यस्तै लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा १.२६ प्रतिशत बिन्दुले बढेर ४.५५ प्रतिशत पुगेको छ । महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा ४.०७ प्रतिशतबाट बढेर ४.८६ प्रतिशत पुगेको हो । निष्क्रिय कर्जासँगै कर्जा नोक्सानी व्यवस्थामा मुक्तिनाथ र गरिमा विकास बैंक बाहेक सबैको बढेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि ९० करोड छुट्याउँदा महालक्ष्मी विकास बैंकले ४५ करोड लुम्बिनी विकास बैंकले ६८ करोड, कामना सेवा विकास बैंकले ४२ करोड रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ३४ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको हो ।

Skip This