
विराटनगर । मोरङ बेलबारी–११ राधानगरका मनोज लिम्बु (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि पाँच वर्ष दक्षिण कोरिया बसे । उक्त अवधिमा कमाएको रकम पत्नी वविता (नाम परिवर्तन)लाई पठाए । पतिले पठाएको रकमले उनले बेलबारी बजारमा घडेरी किनेर आफ्नो नाममा पास गरिन् । पतिकै कमाइले घर पनि बनाइन् ।
पाँच वर्षपछि मनोज घर आइपुगेपछि वविताले आफूसँगै बस्न नसक्ने बताउँदै सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मोरङमा निवेदन दिइन् । उनी मिलेर बस्न मानिनन् । अदालतले वविताको नाममा रहेको घर र जग्गा मनोजले नै पाउने र ववितालाई एक घडेरीसहित पूर्व–पश्चिम राजमार्गमा जोडिएको चार कठ्ठा जमिन दिने सहमतिमा उनीहरूको सम्बन्ध विच्छेद गरिदियो ।
उनीहरूका १२ वर्षीय छोरीको संरक्षकत्व लिँदै पालन–पोषणको खर्च बाबुले उपलब्ध गराउनुपर्ने आदेश अदालतले गराएको छ । पाँच वर्षसम्म पति बेगार एक्लै बस्नु पर्दा भोगेको मानसिक तनाव र शारीरिक आवश्यकतालाई वविताले मनोजसँग बस्न नसक्ने आधार अदालतलाई देखाएकी छन् ।
सुनवर्षी नगरपालिका–२ अमरदहका सन्तोष कडेल (नाम परिवर्तन) पनि विवाह गरेको एक महिना पछि वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगे । उनले कमाएको रकम पत्नी सरिता(नाम परिवर्तन)लाई पठाइरहे । चार वर्षपछि फर्कँदा पत्नीले अलग्गै बस्ने भन्दै अदालतमा सम्बन्ध विच्छेदको लागि गुहारिन् । अदालतले सम्बन्ध विच्छेद गरिदियो ।
सन्तोषले भने, ‘चार वर्ष कमाउन खाडी मुलुक पुगेर फर्कँदा न श्रीमती घरमा पाइयो, न त तातो घाममा पसिना चुहाएर कमाएको पैसा नै हात पर्यो,’ सन्तोषले भने, ‘म विदेश गएपछि उसको अर्को केटासँग सम्बन्ध बढेछ । उसले त्यो केटाबिना बाँच्न नसक्ने बताएपछि म पनि सम्बन्ध विच्छेद गर्न तयार भएँ ।’ उनका अनुसार सरिताले आफूले खाडी मुलुकबाट चार वर्ष पठाएको रकम नै अंशको रुपमा लिएर सम्बन्ध विच्छेद गरिन् ।
मोरङ पथरीका सरोज राई र सुस्मिता (नाम परिवर्तन) को पनि विवाह भएको दुई महिना पछि सम्बन्ध विच्छेद भएको छ । विवाहपूर्वको जस्तो आफू स्वतन्त्र नभएको भन्दै सरिताले अंश नलिने उल्लेख गर्दै सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिइन् । अदालतले सम्बन्ध विच्छेद गरिदियो ।
जिल्ला अदालत मोरङमा सम्बन्ध विच्छेदका निवेदन नपरेको दिन नै हुँदैन । जिल्ला अदालतका एक अधिकारीले भने, ‘सम्बन्ध विच्छेदले विकराल रुप लिएको छ । अधिकांश निवेदन पुरुष वैदेशिक रोजगारीबाट फर्केपछि महिलाले हालेका छन् ।’ ती अधिकारीका अनुसार श्रीमान् विदेशमा रहँदा पठाएको रकमले यहाँ मोजमस्ती गर्ने र फर्केपछि महिलाले सम्बन्ध विच्छेद गर्ने चलन पछिल्लो समय बढेको छ । अझ घरमा नाती–नातिना समेत भएका बुढाबुढीको समेत जीवनको अन्तिम कालमा सम्बन्ध विच्छेदका लागि निवेदन पर्ने गरेको देख्दा अचम्म लाग्ने गरेको उनी बताउँछन् ।
यो वर्षको वैशाखदेखि साउन अन्तिमसम्ममा सम्बन्ध विच्छेदका लागि अदालतमा ५३७ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षका बाँकी रहेका ४६३ सम्बन्ध विच्छेदका मुद्दा छन् । ती अधिकारीका अनुसार यो वर्षको चार महिनामा मात्र ६६६ जोडीको सम्बन्ध विच्छेद भइसकेको छ ।
अघिल्लो वर्ष सम्बन्ध विच्छेदका लागि यो अदालतमा १ हजार ७९८ वटा मुद्दा दर्ता हुँदा १ हजार ५३५ जोडीको सम्बन्ध विच्छेद भएको थियो । अदालतका अनुसार त्यस अगाडि १ हजार १७१ मुद्दा दर्ता हुँदा ७४० वटा फछ्र्यौट भएको थियो ।
सबैभन्दा बढी श्रीमान वैदेशिक रोजगारीबाट फर्केपछि महिलाले सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराउने गरेको वरिष्ठ अधिवक्ता गणेश लुईटेलले बताए । ‘श्रीमानले विदेशबाट पठाएको रकमले यहाँ अरुसँगै रमाइलो गरेर हिँड्ने र उनी फर्केपछि सम्बन्ध विच्छेद गर्ने महिला बढी रहेका छन्,’ उनको भनाइ छ । महिलाले दर्ता गरेको मुद्दामा प्रायः सबै सम्बन्ध विच्छेद हुने गरेको उनी बताउँछन् ।
लुईटेलकाअनुसार केटाले पनि निवेदन दिने गरेका छन् । केही जोडीको त छोरा–छोरीको विवाह गरिसकेर पनि सम्बन्ध विच्छेद भएको देखिएको अधिवक्ता लुईटेलले बताए । अदालतले फैसला गर्नुअघि दुवै पक्षलाई राखेर परामर्श गर्छ । त्यस्तो अवस्थामा एउटा पक्ष अडानमा रहँदा मुद्दा फैसलामा जान्छ । ‘मुद्दा हाल्ने अधिकांश पुरुष पक्षले परामर्शमा लचकता देखाउँदा पुरुषले हालेको मुद्दा प्रायः मिलापत्रमा टुंगिन्छन्,’ उनले भने, ‘तर परामर्शमा कुरा नमिलेपछि अदालतले उनीहरूलाई छुट्याइदिन्छ ।’
त्यसबाहेक अनमेल विवाह, प्रेम विवाह, सामूहिक परिवारमा बस्न नमान्ने, पारिवारिक अपहेलना, मानसिक यातना दिएको नाममा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता हुने गरेको अर्का अधिवक्ता रामप्रसाद भण्डारीले बताए । उनका अनुसार त्यसरी निवेदन दिनेमा बढी महिला र युवा पुस्ता छन् । ‘आमा–बाबु र समाजको प्रवाह नगरी आफू स्वतन्त्र हुँ भन्ने नाममा पनि सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेका छन्,’ भण्डारीले भने, ‘श्रीमान विदेशमा बस्दा आफूलाई पैसा नपठाई बाबुआमालाई पठाएको र दुःख दिएको जनाएर सम्बन्ध विच्छेद गर्ने पनि उत्तिकै छन् ।’
उनका अनुसार केही मुद्दा विवाहपछि युरोपेली मुलुक पुगेर आफूले त्यहाँको नागरिकता पाएपछि महिलाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको पनि पाइएको छ ।
युरोपेली मुलुकको नागरिकता पाएका युवासँग विवाह गरेर आफू त्यहाँ पुगेपछि महिलाले सम्बन्ध विच्छेद गरेर युवालाई छाड्ने गरेको घटना पनि उल्लेख्य भएको अधिवक्ता भण्डारीले बताए ।
महिलाको आर्थिक पक्ष सबल हुँदै जानु, आत्मनिर्भर बढ्नु र स्वतन्त्र रहन पाउने अधिकारका कारण बढी मात्रामा महिला सम्बन्ध विच्छेद गर्न उत्साहित भएको पाइएको मनोविद् नित्यानन्द कुमार साहको भनाइ छ । ‘आर्थिक रुपमा सबल हुँदै गएपछि जीवन स्तर बढ्छ,’ साहले भने, ‘त्यसपछि आत्मनिर्भर बढ्छ र स्वतन्त्र हुनका लागि सम्बन्ध विच्छेद हुने गरेको छ ।’ सम्बन्ध विच्छेदका लागि विभिन्न कारण रहेको उनको भनाइ छ ।
‘वैदेशिक रोजगारी मुख्य कारक बन्दै गएको छ । श्रीमानले विदेशबाट पठाएको रकम अर्को पुरुषसँग सम्बन्ध राखेर उडाउने, आफ्नो नाममा जायजेथा जोड्ने र श्रीमान फर्केर आएपछि सम्बन्ध विच्छेद गरेर बस्ने विकृति बढेको छ,’ साहले थपे, ‘यही स्थिति रहिरहने हो भने वैदेशिक रोजगारीमा विदेश पुगेका धेरै पुरुष घर फर्कँदा घर न घाटको हुने अवस्था देखिँदै छ ।’
त्यसमा महिलाको मात्र भन्दा पुरुष पनि कारण रहेको उनको भनाइ छ । पैसाका लागि श्रीमतीलाई घरमा छाड्ने, पैसा पठाए भइहाल्छ नि भन्ने सोच राख्ने र विदेशमा रहँदा पनि विभिन्न सामाजिक सञ्जालमार्फत परस्त्रीसँग जोडिने लगायतका कारणले श्रीमतीसँगको सम्बन्धमा दरार उत्पन्न हुने गरेको पाइएको उनी बताउँछन् । पुरुषको बेवास्ता, हिंसा, आर्थिक जिम्मेवारी नलिनु, विश्वासघात र संवादको कमी जस्ता कारणले सम्बन्धमा समस्या आउने गरेको छ ।
श्रीमान वा श्रीमती लामो समय टाढा बस्दा भावनात्मक दूरी बढ्ने र यसले पनि समस्या ल्याउने गरेको छ । विदेशमा बस्नेले पठाएको पैसाले यहाँ जीवनशैली बदलिन्छ, जसले कहिलेकाहीँ सम्बन्धमा असन्तुलन ल्याउने उनी बताउँछन् ।
सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनका आधारमा आर्थिक वर्ष २०७९/८० मा देशभर ४० हजार १८३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । यो संख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ ।








प्रतिक्रिया