कानूनअनुसार हरेक ५ वर्षमा नवीकरण गराउनुपर्ने र शुल्क समेत नलाग्ने गरी सरकारले सहजीकरण गरेको भए पनि होटलहरुले वेवास्ता गर्दै आएका छन् । नवीकरण नभएका होटललाई पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार विदेशी मुद्रा सटहीको सिफारिश गर्न नमिल्ने र पर्यटकीय सेवा सुविधा नपाउने हुँदासमेत सम्बन्धित ५ तारे सम्मका होटलले वेवास्ता गर्नुले सरकारी कानून र नियमन फितलो रहेको स्पष्ट हुन्छ ।

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ३१ वटा पाँचतारे होटलमध्ये ८ वटाको नवीकरण फेल भएको छ । पाँचतारे स्तरका होटलका रूपमा सरकारी निकाय पर्यटन विभागबाट २८ वटाले स्तर वर्गीकरण गराएकामध्ये हाल ७ वटाको र थप एक लक्जरी हेरिटेज बुटिक होटलको नवीकरण फेल भएको तथ्यांक सार्वजनिक भएको छ ।
विभागबाट लक्जरी बुटिक होटलको रुपमा दर्ता भएका ३ वटा पाँच तारे स्तरकामध्ये एउटाको नवीकरण भने साउन १३ पछि मात्रै फेल भएको देखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले साउन २८ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार ८ वटा पाँचतारे होटलको नवीकरण फेल भएको हो । विभागले गत आर्थिक वर्ष २०८१/८१ को तथ्यांकमा आधारित प्रतिवदेन सार्वजनिक गरेक कारण गत वर्ष नै ७ वटाको र यो आवकाे साउन १३ पछि अर्को एक होटलको नवीकरण फेल भएको छ ।
प्रतिवेदन तयार हुँदै गर्दा पछिल्लो २ सातामा पाँचतारा स्तरको लक्जरी हेरिटेज बुटिक होटल द्वारिकाज काठमाडौं भिलेज होटलको नवीकरण भए/नभएको अद्यावधिक भने गरिएको छैन । तथ्यांक अनुसार यो होटलकोसमेत यही साउन १३ देखि मात्रै नवीकरण फेल भएको हो ।
पर्यटन विभागका प्रवक्ता लिलाधर अवस्थीका अनुसार गत आवकाे प्रतिवेदन बनाएको र प्रतिवेदन साउनमा प्रकाशित भएकोले साउनकाे तथ्यांक अध्यावधिक भएको छैन । याे आव लागेपछि कुनै हाेटलले नवीकरणको लागि आवेदन दिएका रहेछन् भने अद्यावधिक तथ्यांक वेवसाइटमार्फत सार्वजनिक हुने उनले जानकारी दिए ।
हरेक ५ वर्षमा गर्नुपर्ने नवीकरण गराएर फेल भएका होटलमा पाँचारे होटल सोल्टी, होटल डेला अन्नपूर्ण, द एभरेष्ट होटल इन्टरनेसनल, होटल द फूलबारी लिमिटेड, ओरियन्टल होटल (र्याडिसन), याक एण्ड यति र होटल सांग्रिला हुन् । यी होटलले प्रत्येक ५ वर्षमा पर्यटन विभागबाट नवीकरण गराउनुपर्ने भए पनि अहिलेसम्म नगराएको तथ्यांकले देखाएको छ ।
नवीकरण भएका यी होटलमध्ये दि सोल्टी काठमाडौं, र्याडिसन र याक एण्ड यति सञ्चालनमा रहेका होटल हुन् । दि एभरेष्ट होटल पनि सञ्चालनमा आएको भए पनि भूकम्पपछि यो होटल पाँच वर्ष बन्द भयो । यो होटल पछिल्लो समय सञ्चालनमा आएको, होटलमै सरकारी कार्यक्रम हुँदै आएको र होटलको कोठासमेत आंशिक रुपमा सञ्चालनमा आइसकेको भएको भनिए पनि यसले अझै पर्यटन विभागमा दर्ता गरेर तथ्यांक अद्यावधिक भने गराएको छैन । यसले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पारेका कारण होटलको तारा स्तरीकरण निलम्बनमा छ । यसले आवश्यक सर्त पूर गरेको अवस्थमा मात्रै स्तर वर्गीकरण भएर तारा दिइने विभागको भनाइ छ ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस नगरेको र होटलले आवश्यक शर्त पूरा गरेर आवदेन नदिएका कारण दि एभरेष्ट होटलको तारा वर्गीकरण निलम्बनमा रहेको भए पनि विभागले अस्थायी रुपमा विदेशी मुद्रा सटहीको सिफारिश दिएकोले सोही आधारमा होटलले विदेशी राखिरहेको हुनसक्ने अवस्थीले क्लिकमान्डुलाई जानकारी दिए ।
दि एभरेष्ट होटलका एचआर निर्देशक नारायण पौडेलले भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको प्रकृयामा रहेकोले नवीकरण नभएको देखिएको बताए । उनका अनुसार सो प्रकृया पूरा नभएसम्मको लागि विभागले अस्थायी रुपमा दिएको विदेशी मुद्रा सटहीको सुविधाका कारण होटलले विदेशीलाई सेवा दिएको छ ।
सञ्चालनमा नरहेका अन्नपूर्ण, सांग्रिला र फूलबारी होटलको पनि स्तर वर्गीकरणको तथ्यांक अद्यावधि छैन । अन्नपूर्ण होटलले कोरोना महामारीपछि बन्द गरेको छ । यसको भने गत असार २५ देखि मात्रै नवीकरण फेल भएको हो । यो होटल भत्काएर नयाँ संरचना बनाउँदै गरेको कारण यसले तथ्यांक अद्यावधिक गराउन जरुरी नठानेको हो ।
नवीकरण नभएका पाँचतारे होटलले कानून अनुसार विदेशी मुद्रा सटहीसहितको सुविधा प्रयोग गर्न पाउँदैनन् । नवीकरण नभएका होटलले विदेशी मुद्रा सटहीको सिफारिस लिन नपाउने पर्यटन विभागकै भनाइ छ ।
विभागका प्रवक्ता अवस्थीका अनुसार अनुसार नवीकरण नभएका होटलले सरकारलाई भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी नगरेको, कतिपय होटलको क्यासिनोको दायित्व देखिएको छ ।
अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसपछि आउने जस्तोसुकै अवस्थाको जिम्मेवारी र दायित्व आफूले लिने जानकारी गराइएको छ । साथै, होटलले आवश्यक मापदण्ड पूरा गरेर स्तर वर्गीकरण कायम रहेको प्रमाणपत्रको प्रतिलिपि बुझाउन नसकेको र केही होटल बन्द भएकाले नवीकरण नभएको हो ।
नवीकरण नभएका होटललाई पर्यटन विभागले नेपाल राष्ट्र बैंकसमक्ष गर्नुपर्ने विदेशी मुद्रा कारोबारको अनुमतिका लागि सिफारिस दिदैँन् । विभागले सिफारिस नदिए पनि साना होटलले भने कसरी विदेशी मुद्राको कारोबार गरेका छन् भन्ने जानकारी आफूहरुलाई नहुने पनि अवस्थीले बताए ।
‘पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७०’ अनुसार कुनै पनि होटलले विदेशी मुद्रा कारोबारको लागि राष्ट्र बैंकबाट लिने अनुमति पूर्व पर्यटन विभागको सिफारिस चाहिन्छ । यसका लागि स्तर वर्गीकरण अनिवार्य छ । विभागमा स्तर वर्गीकरण भएका होटललाई मात्रै विदेशी मुद्रा कारोबारको अनुमति दिने गरिएको छ ।
चल्तीका पाँचतारे होटले नै स्तर वर्गीकरण कायम रहेको प्रमाण पुर्याउन नसक्दा विदेशी मुद्रा कारोबारको लागि राष्ट्र बैंकलाई सिफारिससमेत गर्न नमिल्ने विभागले नै जानकारी दिएको छ । तर ती होटलको नवीकरण भने फेल छ । विभागमा तीन तारे माथिको होटल र लक्जरी रिसोर्ट तथा लजले पर्यटकीय सेवा सुविधा लिन अनिवार्य पुग्नुपर्छ ।
पर्यटन विभागका अनुसार हरेक पाँच वर्षमा होटल व्यवसाय नवीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ । होटल नवीकरण नहुँदा विदेशी मुद्राको कारोबार, पर्यटकीय सेवा सुविधा प्रवाह र सरकारबाट लिने कुनै पनि सुविधा लिन पाइदैन ।
होटल नवीकरण गराउँदा हरेक ६ महिनाको आवधिक प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । यसको नवीकरण गर्न कुनै शुल्कको तिर्नु पर्दैन । शुल्क विना नै नवीकरण हुने भएपनि होटलहरूले अटेर गरिरहेका छन् ।
होटल नवीकरण नहुँदा नयाँ पर्यटकीय सवारी साधन ल्याउन, भन्सार छुट, विदेशी मुद्रा विनिमय कारोबारसहितका गतिविधि ठप्प हुन्छ । विदेशीलाई सेवा दिने, पाँचतारे होटल भएकोले डलर कारोबार अनिवार्य रूपमा गर्नुपर्छ । पर्यटकीय सेवाका उद्योगले पाँच प्रतिशतमात्रै भन्सार तिरेर आवश्यक सामग्री आयात गर्न सरकारले नै सहजीकरण गर्छ ।
नवीकरणबिना होटलले विदेशी मुद्राको कारोबार गर्ने, पर्यटकीय सवारी चलाउने र अन्य सेवासुविधा लिन नपाउने स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै सोल्टी, याक एण्ड यति, र्याडिसन, एभरेष्ट होटलले निर्वाध रूपमा विदेशी मुद्राको कारोबार गरिरहेको विषयमा सरकारले नै आँखा चिम्लिएको विभागकै एक कर्मचारीको दाबी छ ।
केही होटलले भने अस्थायी अनुमतिपत्र लिएर विदेशी मुद्राको कारोबार गरिहेको दाबी गरेका छन् । यस विभागमा विभाग भने मौन छ ।



सोल्टी होटल पाँचतारे डिलक्समा स्तरोन्नती
पर्यटन विभागको तथ्यांक अनुसार तीन वटा पाँचतारे होटल पाँचतारे डिलक्समा परेका छन । यसमध्ये मेची क्राउन प्लाजा, सोल्टी होटल र हिल्टल होटल पाँचतारे डिलक्स छन् ।
सोल्टी होटल २०८१ असार १७ देखि पाँचतारे डिलक्स भएकोले पाँचतारेमा नवीकरण गरिरहनु नपरेको र यसको अर्को होटल सोल्टी शिबक्रिम नवीकरण भइसकेको सोल्टी होटलका कम्पनी सचिव लिलाबहादु खत्रीले बताए । उनका अनुसार पर्यटन विभागले तथ्यांक अद्यावधिक गर्दा सोल्टी होटललाई पाँचतारे स्तरमै राखेको र तथ्यांक अद्यावधिक नगरेको कारण नवीकरण नभएको देखिएको हो ।
उनका अनुसार सोल्टीले समयमा नै नवीकरण गर्ने र पर्यटन विभागलाई बुझाउनुपर्ने विवरण तथा आवश्यक शर्त पूरा गरेरै होटल सञ्चालन गरिरहेको छ । सोल्टीका हाल सञ्चालनमा रहेका ताहाचल र नेपालगन्जको दुबै हाेटल नवीकरण भइसकेको र कुनै कैफियत नभएको हाेटलले जानकारी दिएको छ ।







प्रतिक्रिया