क्लिक टक

‘नाडा अटो शो पर्खेर बसेको जमात ठूलो छ, नाइमा एक्स्पोले कुनै असर गर्दैन’

'एक्स्पोमा उड्ने कार राख्छौं'

931
Shares

हामी १७ औं संस्करणको नाडा अटो शो-२०२५ को सम्मुखमा छौं । तयारी कस्तो छ ? कसरी अगाडि बढी रहनु भएको छ?

नाडा अटो शोको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ । यसपटकको अटो शोलाई लिएर हामी धेरै नै आशावादी छौँ । अटो शो एउटा अटो शो मात्र नभएर व्यापारीहरूका लागि महत्वपूर्ण पर्व पनि हो । यसर्थ, यस वर्षको अटो शो उत्साहपूर्ण पर्वको रुपमा हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।

हालसम्मको स्थितिको कुरा गर्दा तयारी एकदमै तीब्र गतिमा अगाडि बढिरहेको छ । अटो शोलाई व्यवस्थित गर्नका एक इभेन्ट वालासँग सहकार्य गरेका छौं । विगतको भन्दा फरक ढंगले अटो शो गर्नुपर्छ भन्ने हिसाबले हामी अगाडि बढेका छौँ । फरक र राम्रो अटो गराउनका लागि हामी विभिन्न कम्पनीहरूसँग निरन्तर कुराकानी र संवादमा छौं ।

अटो शो कसरी गर्दा व्यवस्थित हुन्छ भन्ने विषयमा पनि हामीले काम गरिरहेका छौं । त्यहाँ आउने दर्शकहरूले कसरी सहजै स्टल तथा प्रदर्शनी अवलोकन गर्न सक्छन् भन्ने पाटोमा पनि हामीले बढी काम गरेका छौं । अवलोकनकर्तालाई सहज हुने हिसाबमा अटो शो व्यवस्थापन गर्नेगरी कामहरु भइरहेको छ ।

हालैमात्र नाइमा नेपाल मोबिलिटी एक्स्पो सम्पन्न भएको छ । एक साताको बीचमा एउटै ठाउँमा नाडा अटो शो पनि गर्नुपर्ने दबाबले तयारी र व्यवस्थापनमा तपाईंहरुलाई कठिनाईं सिर्जना गर्दैन?

हामीले प्रदर्शनका लागि जुन इभेन्ट म्यानेजमेन्टलाई छनौट गरेका छौं त्यो नाइमाको भन्दा अलग छ । त्यसैले १७ औं संस्करणको नाडा अटो शोको तयारी गर्न हामीलाई त्यसले कुनै पनि असर पुर्याउँदैन ।

धेरै वर्षदेखि गर्दै आएको हुनाले यसमा हाम्रो बेग्लै किसिमको दक्षता छ । धेरै वर्षदेखि अटो शो गर्दै आइराखेका हामीले एउटा नट–बोल्ट बिक्री गर्ने साथीहरूलाई पनि समेटेका छौं । त्यही कारणले यसपटक हाम्रो अटो शोमा सबैको राम्रो सहभागिता रहनेछ ।

यस वर्षको नाडा अटो शोमा अवलोकनकर्ता तथा प्रदर्शकले के–कस्तो फरक अनुभव लिन पाउँछन्? विगतको पनि लामो अनुभव भएकाले यो पटक के कुरामा बढी जोड दिनु भएको छ?

यस वर्षको अटो शोमा हामीले अटोमोबाइल मात्रै नभएर फरक किसिमको प्रदर्शनी गर्न खोजेका छौं । यस वर्षको प्रदर्शनीमा हामीले दक्षिण एसिमा नै पहिलो पटक फ्लाईङ ट्याक्सीको रूपमा उड्ने कारलाई राख्ने छौं । यो कारलाई अटो शोमा आउने व्यक्तिले अवलोकन गर्न सक्नुहुन्छ ।

यस्तै, अटो शोमा विभिन्न खालका रोबोटहरूको पनि प्रयोग हुनेछ । रोबोटहरूले अथितिहरुलाई स्वागत गर्ने किसिमको वातावरण बनाउने योजनामा पनि काम गरिरहेका छौं । रोबोटमार्फत् फूलको गुच्छाहरू दिएर अतिथिहरूलाई स्वागत गर्ने अवस्था हामीले बनाउने सोचेका छौं।

समग्रमा भन्नुपर्दा हामीले यस पटकको अटो शोको संरचनामा नयाँ परिवर्तन गरेर जाने छौं । अवलोकन गर्न आउने मानिसले नयाँ किसिमको अनुभूति लिन पाउनु हुनेछ । पहिलाको अटो शो र यो अटो शोमा तपाईंहरूले धेरै नै भिन्नता पाउनुहुनेछ ।

हामीले फ्लाईङ ट्याक्सी भित्र्याएपनि सरकारको नीति नआइसकेका कारणले डेमो गरेर देखाउन सम्भव हुँदैन । यद्यपि, अवलोकनकर्ताले यसलाई हेर्न र अवलोकन गर्न सक्नेछन् । रोबोटहरूको पनि यो पटक फरक किसिमको प्रदर्शनी र प्रयोग देख्न पाइनेछ ।

प्रदर्शनीमा आउने अवलोकनकर्ता तथा प्रदर्शकका लागि कस्तो किसिमको व्यवस्थापन गर्नुहुन्छ? हामीले सहज किसिमको व्यवस्थापन देख्न सक्छौं वा सक्दैनौं?

यो पटक लगभग ३ लाख स्क्वायर फिटमा अटो शो हुँदैछ । अटो शोमा कम्पोनेन्टका साथीहरू पनि हुनुहुन्छ । अटो शोमा १९ वटा चार पांग्रे, १३ लाइट कमर्सियल भेहिकल, झन्डै आधा दर्जन दुई पांग्रेको सहभागिता हुनेछ । पहिला चार वटा दुई पांग्रे भनिएकामो बीएमडब्लू पनि थपिएर पाँचको सहभागिता हुने तय भएको छ ।

अन्य कम्पोनेन्टको ३५ वटा स्टलहरू हुन्छन् भने ८-९ वटा बैंक तथा बिमा कम्पनीको सहभागिता हुनेछ । सबै गरेर करिब १२५ वटाभन्दा बढी स्टलहरू यस वर्षको अटो शोमा देख्न पाइनेछ । यो व्यवस्थित पनि हुनेछ ।

१९ वटा चारपांग्रे, १३ वटा व्यावसायिक सवारी र ५ वटा दुईपांग्रे सवारी ब्रान्डसहित शोमा १२५ बढी प्रदर्शक रहने बताउनु भयो । यो सहभागिता तपाईंहरुका लागि सन्तोषजनक हो?

यो सहभागितालाई हामीले कम महसुस गरेका छैनौँ । अहिले नाइमा अटो शोमा स्टल राख्नेहरुले पनि बारम्बार फोन गरेर स्पेस दिनुप¥यो, हामी तपाईंकोमा स्टल राख्न चाहन्छौँ भनेर भनिरहनु भएको छ । तर, हामीसँग कुनै स्पेस नै खाली छैन । त्यसैले गर्दा यो उपस्थिति कमजोर होइन ।

गत वर्षसँग तुलना गर्ने हो भने पनि यस वर्षको सहभागिता अझ बढी हो । स्पेस पुगेको भए अरू साथीहरूलाई पनि समावेश गर्न सक्थ्यौँ । भृकुटीमण्डप बाहेक हामीहरूसँग प्रदर्शनीको अर्को विकल्प पनि छैन । व्यवस्थित प्रदर्शनीका लागि हामीले बारम्बार नेपाल सरकारलाई नै आग्रह पनि गर्दै आएका छौं ।

अब, यो पटक अर्थमन्त्रीले पनि प्रदर्शनी स्थलको मागलाई सकारात्मक रुपमा लिनु भएको छ । यो योजनालाई अगाडि बढाउने बचन पनि दिनु भएको छ । पक्कै पनि अर्को वर्ष वा केही वर्षपछिबाट हामीले ठूलो स्पेसमा प्रदर्शनी गर्न पाउँछौँ भन्ने लाग्छ । अहिले भृकुटीमण्डपको विकल्प नभएकाले धेरै सहभागि हुन चाहने साथीलाई पनि सहभागि गराउन पाइएको छैन ।

हालै अर्को अटो शो सम्पन्न भएकाले नाडा अटो शोको कारोबार कम हुन्छ होला नि? आँकलन के छ?

कारोबारमा कम हुन्छ भन्ने हामीलाई लाग्दैन । अझ पहिलाको भन्दा राम्रो हुन्छ । नाडाले जहिले पनि भदौमा अटो शो गर्दै आएको विषय सर्वव्यापी नै छ । यस कारणले गर्दा दशैँको अगाडि गाडी किन्न चाहनेहरुले पनि नाडा अटो शो नै कुरेर बसिराखेको स्थिति छ । नाइमा अटो शोमा सहभागि भएका धेरै साथीहरुले नाडा अटो शो हुँदैछ र हामी त्यसमा जानुपर्छ भन्ने खालको कुराहरु गरिरहेका छन् ।

यसर्थ, कारोबार तथा अन्य कुनै पनि विषयमा कमि आउँदैन । हामीहरूको स्टल बढी भएको पनि उत्साहपूर्ण नै हुनेछ । अटोमोबाइलसँग जोडिएको हरेक हिसाबको स्टल भएकाले पनि कारोबार वा आकर्षण कम हुने हामीले सोचेका छैनौँ । अटो शोमा कम्तिमा सात–आठ सय वटा गाडी बुकिङ हुने अनुमान छ । यस वर्ष एक लाख भन्दा बढी दर्शकले अवलाकन गर्ने कुरामा पनि हामी विश्वस्त छौं ।

नाडा अटो शोमा १२५ बढी ब्रान्डले प्रदर्शन गर्ने भनिएको छ । सहभागि ब्रान्ड ल्याउन निकै कसरत गर्न पर्यो होला नि?

यसअघि नै नाडा अटो शो निकै ब्रान्डिङ भइसकेको छ । यसर्थ, सहभागि हुने ब्रान्ड आफैं खोज्दै आउनुहुन्छ । हामीले खोज्दै जानुपर्ने, वा सहभागि गराउन मिहिनेत गर्नुपर्ने दबाब छैन । यदि त्यहाँ स्पेस खाली भएको भए हामीले अझ बढी ब्रान्ड सहभागि गराउन सक्थ्यौं । आजसम्म पनि धेरै ब्रान्डले सहभागिताका लागि आग्रह गरिरहेको अवस्था छ ।

यस वर्षको नाडा अटो शोमा एमएडब्लू ग्रुपले के–के नयाँ प्रदर्शन देख्न पाइनेछ?

एमएडब्लू ग्रुप अफ कम्पनीको ईडीको हिसाबमा भन्नुपर्दा हामीले त्यहाँ करिब सातवटा स्टलहरू राख्ने छौँ । यस पटक विशेष गरेर हामीले फ्लाईङ कार पनि राख्ने छौं जुन डिपल कम्पनीको हो । त्योबाहेक हामीले रोबोटहरू पनि ल्याउँदै छौँ । समग्रमा अटो शोको फरक ढंगको प्रविधि र अटोमोबाइलको संयोजन देख्न पाइनेछ ।

अन्य संस्था टुक्रिने अलग हुने भएपनि नाडा भने वर्षौंसम्म एक थियो । तर, यस वर्ष एक साताको अन्तरालमा दुई अटो शो हुने स्थिति पैदा भयो । व्यक्तिगतरुपमा यो विषयलाई हेर्दा तपाईंलाई कस्तो अनुभुति हुन्छ?

मलाई त्यस्तो खास किसिमको प्रतिक्रिया पैदा भएको छैन । साथै, अर्को अटो शो गर्दा यो अटो शो सफल हुँदैन भन्ने कुरामा कुनै हिसाबमा पनि लागेको छैन । । यस वर्षको अटो शो सम्माननीय प्रधानमन्त्रीले उद्घाटन गर्दै हुनुहुन्छ । जुन पनि निकै महत्वपूर्ण कुरा हो ।

उहाँले पनि नाडा पुरानो संस्था भएकाले आफैं आएर उद्घाटन गर्छु भनेर भन्नु भएको छ । यो पनि हाम्रो लागि गर्वको विषय हो । त्यसबाहेक पनि हामीले अटो शो अवलोकनका लागि सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरूलाई पनि आग्रह गरेका छौं । उहाँहरू सबैबाट नै लगभग आउने कुरा भएको छ ।

व्यक्तिगतरुपमा तपाईंले यही अटो शो तथा समग्र अटो व्यवसायीको संस्थाका योगदान गर्दै आउनुभएको छ । त्यसलाई सम्झिँदा यस वर्ष पनि एकै ठाउँ भएको भए राम्रो हुन्थ्यो भन्ने लाग्दैन ?

तपाईंले सोध्नुभयो त्यसका लागि धन्यवाद । तर, मलाई के लाग्छ भने अटो शो वर्षमा एउटै हुनुपर्छ भन्ने छैन । एउटा मोटरसाइकल फिल्डबाट आएको व्यापारी मान्छे भएकाले हिजोको दिनमा हामीले वर्षमा २५ हजार मोटरसाइकल बेच्थ्यौँ । आजको दिनमा मोटरसाइकलको उद्योग मात्रै करिब ३ लाखभन्दा बढीको छ । त्यसले गर्दा एउटै अटो शो पर्याप्त छैन । तर, एक साताको अन्तरालमा भन्दा पनि छ महिनाको अन्तरालमा भएको भए राम्रो हुन्थ्यो । यो पटक एक साताको अन्तरमा राखिएपनि अर्को वर्षबाट छ/छ महिनामा गर्ने स्थिति सिर्जना हुन्छ भन्ने लाग्दछ । अटो शो एउटा भन्दा वर्षमा दुई वटा, तीन वटा हुँदै जानुपर्छ भन्ने हामीहरूको मान्यता छ ।

दुई संस्था बनेर राम्रो भयो वा भएन त्यो देखिँदै जाला । तर, नाइमा र नाडाबीचमा एक अर्कालाई कमजोर देखाउने र आफू अब्बल ठहरिने अस्वस्थ प्रतिस्पर्धाले समग्र अटो व्यवसाय क्षेत्रको हित गर्दैन होला नि?

हामीले नाइमाको गठन हुनु भनेको नाडाबाट फुटेर गएको भन्ने सोचेका छैनौँ । त्यो विशेष गाडी आयातकर्ताहरु मिलेर खोलेको संस्था हो । त्यसमा पाट्र्स इम्पोर्टरहरु पनि सहभागि हुन पाउनुहुन्न । यसर्थ, नाइमा चार पांग्रे र दुई पांग्रे सवारीसाधन आयातकर्ताको प्रतिनिधित्व रहने संस्था हो ।

नाडामा आजको दिनमा पनि करिब ३ हजार जति सदस्यता छन् । यसमा हामी नट–बोल्ट बेच्नेदेखि लिएर गाडी आयात गर्नेसम्मका सबै किसिमका मानिस सहभागि छौं । त्यसले गर्दा दुई संस्थाको बारेमा तुलना गर्नु उचित जस्तो लाग्दैन । नाडा ५०औँ वर्षको इतिहास बोकेको संस्था हो ।

अब नाडाले एउटा गोल्डेन जुब्ली पनि मनाउन गइराखेको छ । नाइमाको आफ्नो बेग्लै किसिमको स्ट्रेन्थ छ र उहाँहरू इम्पोर्टरहरू हुनुहुन्छ । नाइमाको मापदण्डहरु पनि सोही किसिमले बेग्लै छन् । यस हिसाबले गर्दा उहाँहरूको एउटा सानो तर, विशिष्टकृत संस्था हो भने नाडा समग्र अटोमोबाइल क्षेत्रका मानिसलाई समेट्ने खालको संस्था हो।

यसर्थ, दुई संस्था जन्मिएर यसले बजारमा नकारात्मक असर गर्छ भन्ने लाग्दैन । नाइमा अलग्गै संस्था हो र नाडा अलग्गै संस्था हो। संस्थाको प्रबन्धपत्र, नियमावलीदेखि लिएर अन्य कुराहरुलाई हेर्ने हो भने पनि यो स्पष्ट हुन्छ । हामीले आजका दिनमा सातवटै प्रदेशलाई समेटिसकेका छौँ ।

नाडाको आज नेपालभर कनेक्सन छ । यो संस्था सबै ठाउँमा पुगिसकेको छ । यसका अलावा, नाइमामा हुने साथीहरू नाडामा पनि हुनुहुन्छ । यताको सदस्यता खारेज गरेर उता खोल्नुभएको भए त्यसलाई फुटेको भन्न मिल्थ्यो । तर, नाडामा हुनुहुन्छ र नाइमा खोल्नुभएको छ भने त्यसलाई फुटेको मान्न सकिँदैन ।

त्यसो भए, भोलिका दिनमा अटो क्षेत्रको नीतिगत व्यवस्थादेखि अन्य कुराहरुमा नाडा र नाइमा दुबै संस्थाको सहकार्य देख्न सकिन्छ?

पक्कै पनि भोलिका दिनमा यो किसिमको सहकार्य देख्नुहुन्छ । हामी दुबै संस्थाको उद्देश्य एउटै हो । अटोमोबाइल व्यवसायीहरूको हकहितका लागि काम गर्ने हाम्रो लक्ष्य भएकाले यो किसिमको सहकार्य भोलिका दिनमा देख्न पाइन्छ । हामीहरूको संस्थाको नाम अलग भए पनि उद्देश्य एउटै हुनेछ ।

नेपालको अटोमोबाइल बजार हाल कस्तो अवस्थामा छ ? पछिल्ला वर्षहरूमा भइरहेको आयात, खरिदबिक्रीलाई कसरी हेर्नुहुन्छ?

विगतको दुई–तीन वर्ष अगाडिभन्दा अहिले धेरै कुराहरु सुधारोन्मुख अवस्थामा छन् । म विगत ३० वर्षदेखि यहि क्षेत्रमा छु । कोरोना महामारीपछि अटोमोबाइल बजारमा केही नकारात्मक प्रभाव देखिएको थियो । सरकारले लगायतको आयात प्रतिबन्ध लगायतका कुराले यस्तो अवस्था पैदा भएपनि हाल सुधार भएको छ । हामी सुधारको पाटोमा थप अगाडि बढी रहेका छौं ।

अटो व्यवसायमाथि सरकारको कर संरचना, भन्सार नीतिहरु कुन अवस्थामा छन्? वर्तमान नीतिहरू व्यवसायमैत्री छन् भन्ने लाग्छ?

आगामी दिनमा सरकारले लङ–टर्म नीति ल्याइदिएको खण्डमा झन् राम्रो हुने थियो । स्थिर र लङटर्म नीति सरकारले ल्याएको खण्डमा यो उद्योग थप राम्रो हुने देखिन्छ । तर, यहाँ लङ–टर्मको सोचाई तथा भिजन छैन ।

यस कारणले गर्दा मान्छेलाई लगानी गर्न पनि सहज अवस्था देखिँदैन । सरकारले अलिकति लङ–टर्म सोलुसन, लङ–टर्म भिजनको हिसाबले नीति निर्माण गरेको खण्डमा यो क्षेत्र थप राम्रो हुने अपेक्ष गर्न सकिन्छ ।

१७औँ संस्करणको नाडा अटो शो गर्दै हुनुहुन्छ । नाडाले नीतिगत पहलदेखि अटोमोवाइल क्षेत्रमा गरेको योगदानलाई कसरी सम्झनुहुन्छ?

नाडाले अटोमोबाइल क्षेत्रको विसकामा धेरै योगदान गरेको छ । आजका दिनमा पनि सरकारसँग अटो क्षेत्र सुधारका लागि लबिङहरू गरिराखेका छौँ । भर्खरै मात्र पनि यातायात व्यवस्था विभागसँग छलफल भइरहेको छ जसमा हामीले समग्र अटो व्यवसायी र नागरिकलाई हित गर्ने कुराहरु राख्दै आएका छौं ।

यातायात व्यवस्था विभागले कस्तो खालको गाडीहरू आयात गर्न पाउने भनेर नीतिगत प्रावधान बनाउँदैछ । त्यसका लागि पनि नाडा, नाइमालाई बोलाएर उहाँहरूले राय–सुझाव लिँदै हुनुहुन्छ । हामीले व्यवसायीको हकहितको लागि व्यक्तिगत स्वार्थ नहेरिकन काम गरेका छौं ।

राज्यलाई कसरी राम्रो हुन्छ भन्ने हिसाबले काम अटो व्यवसायीहको हिसाबमा हामीले गर्दै आएका छौं । भर्खरै मात्र युरो–सिक्स लागू भएको छ जुन आवश्यक पनि थियो । त्यसमा हामीले सकारात्मक ढंगमा काम गरेका छौं । नाडा भन्दा पनि मुख्य राज्य हो, राज्य भएन त्यहाँ नाडाजस्तो संस्थाहरू हुन सक्दैनन् । त्यसले जहिले पनि हामीले राज्यको हकहितको लागि काम गर्दै, सहयोग गर्दै आएका छौं ।

अटो व्यवसायको दीर्घकालीन स्थायित्वका लागि नीति निर्माण तहमा नाडाले कस्तो भूमिका खेलिरहेको छ? सरकार, लगानीकर्ता र व्यवसायीबीचको समन्वयलाई कसरी प्रभावकारी बनाउने योजना छ?

हामीले नाडा अटो शोको बेलामा पनि अटो डायलगहरू आयोजना गर्दैछौँ । यसमा भारतबाट र चीनबाट गेस्टहरूलाई आमन्त्रणा गरेका छौँ । अटो डायलगमा उहाँहरू पनि सहभागि हुनुहुनेछ । नीतिगत रुपमा नेपाल सरकारका विशिष्ट व्यक्तिहरूलाई पनि हामीले त्यो अटो डायलगमा बोलाएका छौँ । त्यहाँ सबै हिसाबले छलफल गरेर भावी योजनाहरू बनाउने पाटोमा हामी अगाडि बढ्ने छौं ।

हालै सम्पन्न भएको नाइमा मोबिलिटी एक्स्पोमा हामीले छुटदेखि अन्य विभिन्न अफरहरू देख्यौँ । नाडा अटो शोमा चाहिँ हामीले त्यो देख्न पाउँछौँ वा पाउँदैनौँ ?

पक्कै पनि नाडा अटो शोमा विभिन्न खालका स्किमहरू ल्याउँदै आएका छौँ र यो वर्ष पनि आउनेछन् । फेरि दशैँको अगाडि जहिले पनि हरेक कम्पनीले आ–आफ्नो स्किमहरू ल्याएका हुन्छन् । धेरैभन्दा धेरै साथीहरूले नाडा अटो शोमा स्किमहरू घोषणा गर्ने योजना बनाउनु भएको छ । यसर्थ, नाडा अटो शोबाट गाडी बुकिङ गर्दा अथवा गाडी खरिद गर्दा छुटहरू पाउने अवस्था रहन्छ । यसर्थ, नाडा अटो शोमा सबैलाई स्वागत गर्न हामी आतुर छौँ । सबैलाई आउन आग्रह गर्दछु । यसपटकको नाडा अटो शो पहिलाको नाडा अटो शोभन्दा फरक अनुभुति गर्न पाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं र त्यो अनुसारको काम पनि गरिरहेका छौं । सम्पूर्णलाई नाडा अटो शोमा आउनका लागि निमन्त्रणा पनि छ ।

पूरा भिडियो