
विराटनगर । खोल्सामा जताततै फल्ने ‘कालो सुन’का नामले परिचित छ अलैँची । दशकपछि यो ‘कालो सुन’ले गतिलो मूल्य पाउँदा यसको खेतीमा लागेका किसान उत्साहित छन् ।
दशकअघि अलैँचीको मूल्य प्रतिमन एक लाखभन्दा बढी हुँदा यसको खेतीले पुरै इलाम ढाकेको थियो । दुई वर्षअघि अलैँचीको मूल्य प्रतिमन ३२ हजारमा झर्दा अधिकांश किसानले अलैँची खेती मासेर अन्य नगदेवाली खेती सुरु गरेका थिए ।
यसपाली अलैँचीको मूल्य प्रतिमन १ लाख १० हजारसम्म पुगेपछि किसान पुनः अलैँचीमा फर्किएका छन् । पूर्वमा अलैँचीको उद्गमस्थल मानिने इलामका १० वटै पालिकामा यसबेला किसानले खेत र मकैवारी मासेर अलैँचीलाई मुख्य खेतीका रूपमा विस्तार गरिरहेका छन् । यस वर्ष थप एक हजार हेक्टरमा अलैँची खेती विस्तार हुने कृषि ज्ञान केन्द्र इलामको अनुमान छ।
यहाँका प्रायः किसानले मकै र खेतवारी मासेर विदेशी मुद्रा आर्जनमा भरपर्दो हिस्सा हुँदै आएको अलैँची खेती गर्न थालेका हुन् । इलाम सन्दकपुर–५ का विप्लप भट्टराईले भने, ‘अलैँचीको मोल पुरानै लयमा फर्केपछि मैले यसपाली १४ रोपनी मकैवारी मासेर अलैँचीको विरुवा रोपेको छु ।’
यहाँका जुनसुकै खोल्सामा जताततै फल्ने ‘कालो सुन’ अलैँचीले यसपाली मनग्गे मूल्य पाएको छ । भट्टराईका अनुसार, त्यसैले यसको खेतीमा थप किसान उत्साहित बनेका छन्।
जोगमाई–५ का महेश सापकोटाले यसपाली मात्र १० लाख रुपैयाँभन्दा बढी मूल्यका विरुवा बिक्री गरेका छन् । विगतमा यति धेरै विरुवा बिक्री हुँदैनथ्यो । यसपाली अचाक्ली विरुवाको माग रहेको उनले बताए । उनका अनुसार, मागअनुसार अलैँचीको विरुवा उपलब्ध गराउनै गाह्रो भएको छ।
पछिल्लो दशकपछि यहाँका किसान अलैँची खेतीमा उत्साहित देखिएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलको भनाइ छ। १० वर्षअघि अलैँचीको भाउ प्रतिमन एक लाखसम्म थियो । २०७९ र ८० मा प्रतिमन ३२ हजारमा झरेपछि किसान निराश भएका थिए । उनले भने, ‘यो साल प्रतिमन १ लाख १० हजारसम्म मूल्य पाएपछि सबैले मकैबारी मासेर अलैँची खेती लगाउन थालेका छन् ।’
पौडेलका अनुसार, इलामबाट मात्र यसपाली ३ अर्ब रुपैयाँभन्दा बढीको अलैँची भारत निकासी भएको तथ्यांक छ । मेची भन्सार कार्यालयका अनुसार, यो नाकाबाट गत वर्ष मात्र ७ अर्ब ६७ करोड ४० लाख रुपैयाँ मूल्यको ४२ लाख ९४ हजार ५५० किलो अलैँची निकासी भएको छ।
अलैँची कम लागतमा बढी मूल्य लिन सकिने नगदेवाली हो । सन्दकपुर–२ का गिरिराज खनालले ४५ रोपनीमा अलैँचीको व्यावसायिक खेती गरेका छन् । अघिल्लो वर्ष यो खेतीबाट खनालले ३४ लाख रुपैयाँ आम्दानी गरेका थिए । गत वर्ष पनि अलैँचीबाट ४५ लाख रुपैयाँ आम्दानी भएको उनको भनाइ छ ।
दश वर्ष वैदेशिक रोजगारीबाट फर्केर अलैँची खेती सुरु गरेका खनाल अघिल्लो स्थानीय निर्वाचनमा निर्वाचित निवर्तमान वडाध्यक्ष पनि हुन् ।
पूर्वको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा र धनकुटा गरी १४ हजार १९१ हेक्टरमा अलैँची खेती लगाइएको कोशी प्रदेश कृषि निर्देशनालयको तथ्यांक छ ।
निर्देशनालयकी प्रवक्ता पूर्णमाया गुरुङका अनुसार, कोशी प्रदेशमा गत वर्ष ७ हजार १५० टन अलैँची फलेको थियो । उनका अनुसार, अलैँची खेतीको व्यवस्थापन पक्ष कमजोर हुँदा कोशी प्रदेशमा अलैँचीको उत्पादन प्रति हेक्टर ०.५० टन मात्र छ। डडुवा, छिर्के र फुर्के रोगको असरका कारण उत्पादन वृद्धि हुन सकेको छैन ।
अलैँची खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्छ । तर कृषि स्रोतका अनुसार, यस परियोजनाले किसानका लागि खासै मद्दत गरेको छैन । परियोजनाले अलैँची खेतीका लागि किसानलाई सहुलियत दिनुभन्दा पनि अनुदानका नाममा कमिसन लिने, अनुगमनका नाममा फिल्ड भत्ता खाने र उल्टै किसानसँग सागसब्जी र कुखुरा माग्ने काम मात्र गर्दै आएको छ। स्रोतका अनुसार, परियोजनाले अनावश्यक रूपमा दलका कार्यकर्तालाई करारमा राखेर आर्थिक दोहन मात्र गर्दै आएको छ।
इलाममा मात्र १ हजार ६९१ हेक्टरमा अलैँचीको खेती भइरहेको कृषि ज्ञान केन्द्र इलामको तथ्यांक छ । केन्द्रका सूचना अधिकारी जीवन ठाडामगरका अनुसार, गत वर्ष इलाममा १ हजार १५९ टन अलैँची उत्पादन भएको थियो । उनका अनुसार, यस वर्ष अलैँची खेती उत्साहजनक रूपमा विस्तार भइरहेको छ र करिब एक हजार हेक्टरमा थप खेती विस्तार हुने अनुमान छ।







प्रतिक्रिया