
एजेन्सी । भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धी वाड्रालाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।
चुनाव आयोगले सत्तारूढ दल भारतीय जनता पार्टीसँग साँठगाँठ गरेको आरोप लगाउँदै गान्धी र अन्य विपक्षी नेताहरूले संसद् परिसरमा विरोध प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
भारतीय सञ्चारमाध्यमहरूले प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, शिवसेना (उद्धव) पार्टीका नेता सञ्जय राउत, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगे, समाजवादी पार्टी प्रमुख अखिलेश यादव र शिव सेना (उद्धव) पार्टीकी प्रियंका चतुर्वेदीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
राहुल गान्धी र अन्य विपक्षी नेताहरूलाई बसमा अन्यत्र राखेर लगिएको थियो । गाडीमा राखिँदै गर्दा गान्धीले पत्रकारहरूलाई बताए, ‘यो राजनीतिक लडाइँ हैन, यो संविधान बचाउने लडाइँ हो । एक व्यक्ति, एक मतका लागि लडाइँ भइरहेको हो ।’
प्रहरीका जोइन्ट कमिश्नर दीपक पुरोहितले विपक्षी नेताहरूलाई पक्राउ गरिएको पुष्टि गरे । तर, कतिजनालाई पक्राउ गरिएको खुलाएनन् । उनीहरूलाई नजिकैको प्रहरी चौकीमा लगिएको उनले जानकारी दिए ।
विपक्षी नेताहरूले यति ठूलो संख्यामा विरोध प्रदर्शनका लागि अनुमति नलिएको पुरोहितले बताए । चुनाव आयोगसम्म जुलुस लैजान ३० जना सांसदलाई अनुमति दिइएको भए पनि २०० जना आएको उनको भनाइ छ । कानून व्यवस्था नबिग्रोस् भन्नका लागि उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।
संसद् भवन बाहिर गरिएको विरोध प्रदर्शनमा राजनीतिक दलका नेता र कार्यकर्ताहरूले नारा लगाउँदै प्लेकार्ड देखाएका थिए । उनीहरूले प्रहरीको ब्यारिकेडलाई भत्काउने प्रयास पनि गरेका थिए ।
विपक्षी गठबन्धनले चुनाव आयोगका विरुद्ध गम्भीर आरोप लगाएको छ । आयोगले मतदाता सूचीमा छेडखानी गरेर भाजपालाई जिताउनका लागि भूमिका खेलेको विपक्षी दलहरूको आरोप छ ।
पोहोर साल महाराष्ट्रमा भएको विधानसभा निर्वाचनदेखि नै मतदाता सूचीमा भएको घोटालाको कुरा उठिरहेको हो । लोकसभा निर्वाचनको ६ महिनापछि भएको विधानसभा निर्वाचनमा असामान्य रूपमा नयाँ मतदाताको नाम आएको भन्दै विपक्षी दलहरूले आपत्ति उठाएका छन् ।
कर्नाटकमा भएको लोकसभा निर्वाचनमा पनि यस्तै किसिमका आरोपहरू लगाइएको थियो ।








प्रतिक्रिया