
विराटनगर । कोशी प्रदेशका सडकमा विद्युतीय कार (ईभी) छ्यापछ्याप्ति देखिन्छन् । देशको राजधानी र त्यसका वरिपरि इलेक्ट्रिक गाडी जताततै देखिनेमा, पूर्वमा पनि विद्युतीय कारको उपस्थिति बाक्लो छ ।
पूर्वका सडकमा पेट्रोलियम कारकै हाराहारीमा इलेक्ट्रिक गाडी देखिन थाल्दा डिजेल तथा पट्रोलको खपत पनि कम भएको छ । पेट्रोलको खपत घट्नु पनि पूर्वमा इलेक्ट्रिक कार प्रयोग बढ्दो छ भन्ने प्रमाण हो ।
नेपाल आयल निगम कोशी प्रदेश प्रमुख पुष्कर कार्कीका अनुसार दुई वर्षदेखि पूर्वमा डिजल र पेट्रोलको खपत १२ देखि १५ प्रतिशतले घटेको छ । यसको मुख्य कारण विद्युतिय सवारी साधनको प्रयोग बढ्नु रहेको कार्कीको बुझाइ छ । कार्की भन्छन्, ‘हरेक वर्ष विद्युतीय सवारी साधनको प्रयोग बढ्दा पेट्रोलियम पदार्थको खपत हवात्तै घट्दो छ । यसबेला ढुवानीका साधन, लामो दुरीका यात्रु बस, विकास निर्माणमा प्रयोग हुने र खेती किसानमा प्रयोग हुने साधन मात्र नेपाल आयल निगमका नियमित उपभोक्ता रहेको देखिन्छ ।’
कोशी प्रदेशमा झण्डै २५ हजार किलोमिटर सडक सञ्जाल छ । त्यो सडक सञ्जालमा करिब ११ लाख सवारी र ढुवानीका साधन गुड्ने गरेका छन् । तीमध्ये निजी र लामा दुरीमा चल्ने अधिकांश साना सवारी विद्युतीय छन् ।
प्रदेश ट्राफिक प्रहरीका निमित्त प्रमुख डीएसपी सन्तोष श्रेष्ठ ढुवानी लगायतका सवारीबाहेकका साधन विद्युतीय देखिन थालेको बताउँछन्।
‘अहिले लामो दुरीका यात्रु बस, निर्माण सामाग्री र ढुवानीका साधन बाहेक प्रायः विद्युतीय सवारीका साधन सडकमा बाक्लो देखिन थालेका छन् । दुई वर्ष पहिलासम्म कोशी प्रदेशमा विद्युतीय सवारी साधन खासै देखिँदैन थिए,’ श्रेष्ठले भने, ‘विद्युतीय सवारीका साधनले डिजल र पेट्रोलबाट चल्ने बस, जिप, कार र मोटर साइकलको भीडलाई पातलो बनाउँदै गरेको छ ।’
हालको समयमा कोशीका सडकमा करिब ६ लाख मोटरसाइकल, करिब २५ हजार ठूला गाडी, १ लाख ४० हजार कारजिप र ३ हजार ५ सय निर्माणका मेसिनरी साधन गुड्छन् ।
सवारी व्यवसायीका अनुसार दुई वर्ष पहिलासम्म कम्तिमा ०.५ प्रतिशत विद्युतीय सवारी थिए । जुन अहिले हरेक १०० गाडी बिक्दा ९० वटा इलेक्ट्रिक हुन्छन् । कोशी प्रदेश चार पांग्रे तथा दुई पांग्रे सवारीका लागि वीरगञ्ज, भैरहवा र काठमाडौंमा निर्भर छ । यो प्रदेशका दुई मुख्य भन्सार नाका विराटनगर र मेचीको काँकडभिट्टबाट चार पांग्रे सवारी आयात ठप्प छ ।
प्रदेश अटोमोबाइल डिलर एसोसिएसनका निवर्तमान अध्यक्ष सञ्जय श्रेष्ठका अनुसार दुई वर्ष पहिलासम्म मुस्किलले ०.५ प्रतिशत विद्युतीय सवारीका साधन बिक्थे, अहिले सयवटा निजी र साना यात्रु वाहक गाडी विक्री हुँदा ९० वटा विद्युतीय र १० वटा डिजल पेट्रोलका गाडी हुने गरेको छ ।
कोशी प्रदेशमा वीरगञ्ज, भैरहवा र काठमाडौंबाट आईसीई (पेट्रोलियम गाडी) र विद्युतीय सवारी (चार तथा दुई पांग्रे) आउने गरेको छ । श्रेष्ठले भने, ‘विराटनगर र काँकडभिट्टा नाकाबाट कसैले पनि आयात गर्दैन ।’
प्रदेशमा विभिन्न कम्पनीका २० लाख देखि ५ करोड रुपैयाँसम्मका कार तथा २ लाखदेखि १० लाखसम्मका बाइक तथा स्कुटर बिक्री हुन्छन् ।
‘लामो तथा छोटो दूरीमा चल्ने ठूला र साना विद्युतीय गाडीको प्रयोग क्रमिक रुपमा बढदै छ,’ श्रेष्ठले भने । उनका अनुसार कोशी प्रदेशबाट काठमाडौंका लागि पछिल्लो समय सयौं बढी विद्युतीय माइक्रो बस गुड्ने गरेका छन् ।
पछिल्लो समय विद्युतीय सवारी साधनको माग बढ्न थालेको एमजी विद्युतीय कारका बिक्रेता मनोज विक्रम शाहको भनाइ छ।
ठाउँठाउँमा चार्जिङ स्टेसनको सुविधा भएका कारण विद्युतीय गाडी बिक्री राम्रो छ । ‘विद्युतीय गाडीमा पनि उपभोक्ताले ब्रान्डको खोजी गर्न थालेपछि जुन पायो त्यही ब्रान्डका गाडी बिक्री भइहाल्ने अवस्था छैन,’ उनले भने ।
कोशी प्रदेशमा चल्ने गाडीहरू बागमतीमा बढी दर्ता गराउन चाहन्छन् । त्यसैले कोशीमा कति गाडी कुद्छन् भन्ने यकीन तथ्य यातायात कार्यालयको विवरणले दिँदैन । श्रेष्ठले भने, ‘बागमतीमा दर्ता हुँदा रिसेल मूल्य बढी पाइने विश्वासमा कोशी र मेचीमा कार र जीप दर्ता हुँदैन ।’
यातायात कार्यालय इटहरीका अनुसार मोटरसाइकल र निजी सावरीका साधनमा कुन डिजल–पेट्रोल र कुन विद्युतीय भन्ने बेग्लै शशीर्षकमा राख्ने व्यवस्था छैन । कार्यालय प्रमुख सतीश सत्यालका अनुसार सबै सवारीका साधन एउटै शीर्षक र ढड्डामा दर्ता गर्दा विद्युतीय सवारी साधन संख्या छुट्याउन गाह्रो छ । उनले भने, ‘तर पछिल्लो समय विद्युतीय सवारी साधनको दर्ता उल्लेख्य रहेको छ।’
विद्युतीय कार र कमर्सियल गाडी कोशी प्रदेशमा क्रमिक रुपमा सडकमा बढ्दै जाँदा इलेक्ट्रिक मोटरसाइकल र स्कुटरले बजार पनि जताततै देखिन थालेका छन् ।
आयातकर्ता महावीर अटोमोबाइल्सका सञ्चालक ओमप्रसाद शर्माका अनुसार पनि नयाँ मोटरसाइकल वा स्कुटर किन्न चाहनेले इलेक्ट्रिक रोज्ने गरेका छन् ।
भारतीय जोय स्कुटर कम्पनीका आयतकर्ता समेत रहेका शर्माका अनुसार एकवर्षमा पाँचसय वटा जोय विद्युतीय स्कुटर बिक्री भएको छ । हाल पेट्रोलबाट चल्ने मोटरसाइकल वा स्कुटर चढ्नेले नयाँ इलेक्ट्रिक स्कुटर किन्न थालेका छन् भने पहिलो पटक स्कुटर र मोटरसाइकल चढ्न आउनेहरू पनि इलेक्ट्रिक नै रोज्न थालेको शर्मा बनाउँछन् ।
विद्युतीय सवारीको बिक्री बढेसँगै पेट्रोलियम सवारी बेच्नेहरू संकटमा देखिएका छन् । सोही कारण त्यस्ता कम्पनीका अधिकांश बिक्री कक्ष खाली देखिन्छन् ।
आईसीई बिक्रेताका अनुसार ३ वर्ष पहिलाको तुलनामा यसबेला १० प्रतिशत पनि व्यवसाय छैन । दिनहुँ खस्कँदो व्यापारका कारण प्रतिष्ठित कम्पनीका बिक्रेताहरूले विराटनगरमा नजिकिँदो चाडपर्वका लागि अफर पनि सार्वजनिक गरेका छैनन् । ति कम्पनीका बिक्रेताहरू सवारी साधनको कुम्भ मेलाहरू हाल चल्दै गरेको नाइमा मोबिलिटी एक्स्पो र केही दिन पछि हुन लागेको नाडा अटो शोले निर्धारण गर्ने प्याकेजको पर्खाइमा छन् ।
पूर्वमा इलेक्ट्रिक गाडीले बजार समाउँदा डिजल र पेट्रोलका गाडी बेच्न व्यवसायी अटो व्यवसायबाट पलायन हुने वा वैकल्पिक व्यवसायी खोज्ने स्थितिमा पुगेको बताउँछन् । विराटनगरमा टोयोटा गाडीको आधिकारिक विक्रेता एवं नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले भने, ‘मानिससँग पैसा छैन, बैंकको ब्याजदर उतारचढाव यसरी भइरहन्छ । अनि कहाँबाट गाडीको बिक्री हुन्छ र व्यवसाय चल्छ ?’
कोशी प्रदेशका सडकमा टोयोटा, सुजुकी, एमजी, हुन्डाई, भोक्सवागन, रेनो, टाटा, महिन्द्रा, किया लगायतका प्रख्यात कम्पनीका कार गुड्छन् । घिमिरेले भने, ‘पछिल्लो ३ वर्षयता ती कुनै पनि कम्पनीका कारको व्यापार १० प्रतिशत पनि छैन ।’
विद्युतीय कारको प्रभाव बढ्दा डिजल र पेट्रोलमा अधारित कारको बजार शून्य प्रायः रहेको महिन्द्राका गाडी बिक्रेता किरण भट्टराई बताउँछन् । ‘जग्गाको कारोबार चलायमान नभएसम्म र बैंकले स्थायी ब्याजदरमा लगानी नगरेसम्म अटो व्यवसाय लयमा फर्कने स्थिति छैन।’
आईसीई कारको बजार ३ वर्ष पहिलाको तुलनामा अहिले ९० प्रतिशतले घटेको दाबी गर्ने भट्टराईले भने, ‘आर्थिक मन्दी छँदैछ, आईसीई कारको बिजनेस घटनुको अर्को कारण विद्युतीय कारले बजार आक्रामण रुपमा अघि बढाउनु पनि हो । आईसीई कारको तुलनामा विद्युतीय कारको भन्सार कम छ र त्यसकारण मूल्य पनि कम छ ।’
मानिसहरू खर्च गर्न डराइरहेका बेला सस्तो मूल्यमा ईभी पाइएकाले ग्राहक त्यतैतिर आर्कषित हुँदा आईसीई कारको भविष्य संकटमा परेको उनी बताउँछन् । उनी पनि अटो शोले तताउने बजार र निर्धारण हुने अफरको पखाइमा छन् ।
डिजल पेट्रोलबाट चल्ने सवारी लामो दूरीका र ठूला कमर्सियल गाडीमात्र बिक्री हुने गरेका छन् । नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालका पूर्वउपाध्यक्ष सुभाष आचार्यले भने, ‘आर्थिक मन्दीको समयमा सस्तो मूल्यमा पाइने ईभीले आईसीई कारलाई विस्थापित गरिसक्यो ।’
पूर्वमा ढुवानी र लामो दुरी चल्ने गाडीमा आईसीईको एकाधिकार छ तर निजी र्फ ईभीले सडक ढाकेको छ । ‘ अहिले कोशीमा ईभीको बजार ८० प्रतिशत र आईसीईको २० प्रतिशत छ,’ आचार्यले भने, ‘ आईसीई कारमा ३०० प्रतिशतसम्मकर छ, ईभीमा २० देखि ४० प्रतिशतमात्र । अढाई करोडमा पाइने आईसीई कार जस्तै ईभी कार ६०–६५ लाखमा पाइन्छ । त्यसैले पनि ईभीले आईसीईलाई बजारबाट विस्थापित गर्न सुरु गरिसकेको छ ।’







प्रतिक्रिया