‘बीपीओमा रोजगारीको अवसर पर्याप्त छ, सरकारले प्रोत्साहित गरे पुग्छ’

854
Shares

काठमाडौं । विश्वभर बिजनेस प्रोसेसिङ आउटसोर्सिङ (बीपीओ) निकै चर्चित छ । कुनै कम्पनीले कस्टमर सर्भिस, अकाउन्टिङ, डाटा इन्ट्रि, बुककिपिङ, कानुनी काम कारबाही, प्राविधि सपोर्ट जस्ता व्यावसायिक प्रक्रिया आफैं नगरी तेस्रो पक्ष अर्थात् बाह्य सेवा प्रदायकलाई जिम्मा लगाउँछ भने त्यो प्रक्रिया हो, बीपीओ ।

कुनै कम्पनीले आफूलाई मुख्य काममा केन्द्रित गर्न, खर्च घटाउन वा दक्षता बढाउन यी काम अर्को कम्पनी वा अर्को देशका दक्ष श्रमिकलाई दिन्छन् ।

अहिले नेपाल विश्वको उदीयमान बीपीओ गन्तव्य बनिरहेको छ । प्रविधिको फड्को, दक्ष जनशक्ति, सस्तो श्रम लागत, चाँडो भाषा सिक्ने नेपालीको खुबी (खासगरी अंग्रेजी) जस्ता कारण नेपाल बीपीओको स्थायी गन्तव्य बनिरहेको छ । देशमै बसेर विदेशको काम र स्थानीय अन्य कम्पनीभन्दा राम्रो सेवा सुविधाले पनि शिक्षित जनशक्तिलाई बीपीओले तानिरहेकोछ ।

केही नेपाली कम्पनीहरूले विदेशी कम्पनीलाई वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट तथा सफ्टवेयर सर्भिसेज दिइरहेका छन् । केही नेपाली कम्पनीले विदेशी कम्पनीको कल सेन्टर सञ्चालन गरिरहेका छन् । केही कम्पनीले अकाउन्ट, अडिट र लिगल काम पनि गरिरहेका छन् । खासगरी युरोप, अमेरिका, अस्ट्रेलियाका कम्पनीहरुका लागि नेपाल आकर्षक बीपीओ गन्तव्य बनिरहेको छ ।

स्टर्लिङ वेल्स सर्भिसेस बीपीओ क्षेत्रमा काम गरिरहेको नेपाली कम्पनी हो जुन बेलायतमा मुख्यालय रहेका केही फिनटेक कम्पनीहरुको सिस्टर कम्पनी हो । कम्पनीले अन्तर्राष्ट्रिय सल्लाहकार संस्थाका रूपमा व्यवसायहरूलाई दिगो विकास र रूपान्तरणतर्फ अघि बढाउन काम गर्दै आएको छ ।

स्टर्लिङ् वेल्स सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु गजुरेल हुन् । गजुरेलले नै नेपालमा यस कम्पनीको सुरुवात् गरेका हुन् । हाल काठमाडौंमा रहेको कार्यालयमा स्टर्लिङ वेल्सका सय भन्दा बढी कर्मचारीले काम गरिरहेका छन् । कम्पनीसँग चार्टर्ड एकाउन्टेन्ट, कानुन व्यवसायी र प्रोफेसनलहरू आवद्ध छन् । नेपालमा पर्याप्त सम्भावना र क्षमतावान युवा पुस्ता देखेर नै उक्त कम्पनी भित्र्याएर सुरु गरेको गजुरेल बताउँछन् ।

गजुरेलले २००७ डिसेम्बरमा इन्स्ट्यिुच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)बाट सीए योग्यता लिएका थिए । उनी आईक्यानको गोल्ड मेडलिस्टसमेत हुन् ।

यसपछि, गजुरेलले नेपालकै एक अडिट फर्ममा रहेर काम गर्दै अनुभव बटुले । केही समय अडिट फर्ममा काम गर्दै गर्दा उनलाई तत्कालीन नेपाल बंगलादेश बैंक (हालको नबिल बैंक)मा जोडिने अवसर आयो, बैंकमा उनले एक वर्षभन्दा बढी काम गरे ।

त्यसपछि सन् २००९ मा उनी युके गए । युके पुगेपछि एकाउन्टिङ फर्ममा काम गरे । विभिन्न एकाउन्टिङ फर्ममा काम गर्दा गर्दै गएपछि उनले ‘बिग फोर’मध्येको एक केपीएमजीमा काम गरे । केपीएमजीको अनुभवले उनलाई आफूले नै केही गर्नुपर्छ भन्ने भावना पैदा गर्यो ।

गजुरेलले सन् २०१७ मा युकेमा कम्पनी खोले । प्रारम्भमा ग्राहक शून्य थिए, लगातार काम गर्दै जाँदा त्यसतर्फ सेवा लिनेहरु बढ्न थाले ।

हाल उनले खोलेको ग्रुपको अफिस नेपाल, भारत र युकेमा छन् । समग्र ग्रुपमार्फत ६ बिलियन अमेरिकी डलरभन्दा बढीको एसएसए (सेयर, सर्भिस एन्ड एकाउन्टिङ) ओभरल्याप ह्यान्डलको काम भइरहेको उनी सुनाउँछन् ।

अहिले उनको ग्रुपबाट एकाउन्टिङ सर्भिस लिने ग्राहक २,५०० भन्दा बढी छन् । यति मात्र होइन, युकेमै उनीहरूले एक सफ्टवेयर पनि लन्च गरिसकेका छन्, जसले सूचना प्रविधि (टेक)तर्फको यात्रा पनि तय भइइसकेको छ । उक्त नयाँ टेक कम्पनीमा पनि मानिस जोडिएर काम गरिरहेका छन् । हाल युकेमा टेक कम्पनी स्थापना गर्न सक्नुको मुख्य आधारसमेत नेपाल रहेको गजुरेल बताउँछन् ।

नेपालमा आएर कम्पनी खोलेर काम गर्न कहाँबाट प्रोत्साहन मिल्यो भन्ने प्रश्नमा उनी भन्छन्, ‘पहिलो कुरा म नेपाली हुँ । मैले नेपालमै पढें र काम पनि गरें । नेपाल छोड्दै गर्दा बाहिर जान नहुने कुरा धेरैले राखेका थिए,’ गजुरेल भन्छन्, ‘तर, अहिले म गर्वका साथ भन्न सक्छु कि हिजो बाहिर गएको भएपनि आज मैले नेपालमै बसेर रोजगारी सिर्जनाका लागि काम गरिरहेको छु ।’

नेपालमा नेपालमा अझै पर्याप्त सम्भावना रहेको ट्यालेन्टेड युवाको क्षमतालाई प्रयोग गर्न सक्यो भने झनै राम्रो गर्न सकिने बताउँछन् ।

बीपीओ व्यवसायको वर्तमान अवस्था, सम्भावना र चुनौतिका विषयमा के भन्छन् स्टर्लिङ वेक्लसका सीईओ गजुरेल ? हेरौं भिडियोः