भदौ ३ देखि भृकुटीमण्डपमा नाडा अटो शो, १९ चारपांग्रे र १३ वटा व्यावसायिक सवारी ब्राण्ड राखिने

203
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ । कार्यक्रमले देशको मोटर उद्योगमा नयाँ उत्साह र नवप्रवर्तन ल्याउने अपेक्षा गरिएको नाडाको भनाइ छ ।

आयोजकका अनुसार यसपटकको शो ‘गो फर मोर’ भन्ने नारासाथ नवीनतम प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक समेट्दै ग्राहक र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एउटै छानामुनि ल्याउनेछ । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम तय भएको छ ।

शोमा विशेष रूपमा प्रस्तुत गरिने प्रविधिहरूमा युनिट्री रोबोट्स (स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीक), दीपल ईभीटिओएल यूएभी (भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक) लगायत रहने नाडाले जनाएको छ ।

नाडा अटो शोमा १९ वटा चारपांग्रे ब्रान्डहरू,१३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिने छन् ।

त्यस्तै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था गरि ३५ कम्पनीहरूको पनि स्टल रहने छ ।

शोमा १२५ भन्दा बढी प्रदर्शकहरू हुने छन् भने १ लाखभन्दा बढीले शोको अवलोकन गर्ने अपेक्षा आयोजनको छ ।

३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने आयोजकको भनाइ छ ।

कार्यक्रमको टाइटल स्पोन्सर एमएडब्ल्यु वृद्धी रहेको छ भने को-स्पोन्स शिखर इन्स्योरेन्स रहने छ भने पावर्ड बाइ ‘क्याम्पा कोला’ रहेको छ । मोबिलिटी पार्टनर यांगो हुने छ भने एक्सक्लुसिभ टिकटिङ पार्टनर खल्ती बाइ आईएमई हुने छ । भाद्र २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक पाइने खल्ती बाइ आईएमईले जनाएको छ

शोमा नेपाल ल्युब तेलले १२ भाग्यशाली विजेताहरुलाई एक वर्षका लागि निःशुल्क ल्युब्रिकेन्ट सेवा दिने भएको छ ।

शोमा सुविधा र सुरक्षा सुनिश्चित गर्न सुविधाजनक जोन विभाजन, अग्रिम टिकट प्रि-बुकिङ, मिडिया डेस्क, महानगरिय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क, आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी र आगो नियन्त्रण व्यवस्थाको व्यवस्था गरिएको छ ।

नाडा अटो शोका मुख्य आकर्षणमा के छन् ?

नाडा अटो शोमा प्रमुख आकर्षणहरूमा विन्टेज मोटर शो (मोरिस माइनर, फिएट, प्यूजो, बीटल, मिनी कूपर, टोयोटा आरटी, मर्सिडिज बेंज, टोयोटा आरटी४०, भिएर बस, टोयोटा कोरोल्ला, माज्डा फेमिलिया, टोयोटा एमआर२) हुने छन् भने मेड इन नेपाल प्याभिलियन, इन्टरनेसनल बिजनेस प्याभिलियन, साथै ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित सेमिनार, कार्यशाला र अन्तरक्रियाहरू रहेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले १६ सफल संस्करणको इतिहास, अग्रणी ब्राण्डहरूको सहभागिता र लाखौं दर्शकको विश्वासले नाडा अटो शोलाई नेपालको अटोमोटिभ उद्योगको सबैभन्दा उत्कृष्ट मञ्चको रूपमा पुष्टि गरेको बताए।