सीजी ब्रुअरी ३ वर्षपछि सञ्चालन नाफामा, ९ महिनामै गर्यो सवा २ अर्बको व्यापार

1.3k
Shares

काठमाडौं । चौधरी ग्रुपको सीजी ब्रुअरी नेपालले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा सवा २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले २ अर्ब २१ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो जुन अघिल्लो आवको सोही अवधिको भन्दा १६ प्रतिशत बढी हो ।

९ महिनामा गरेको कुल आम्दानी २ अर्ब २१ करोड १० लाख रुपैयाँको आधारमा सो आवमा वार्षिक व्यापार पनि २ अर्ब ९५ करोड रुपैयाँ हुने प्रक्ष्येपण गर्न सकिन्छ । यद्यपि, चौथो त्रैमास बढी बियर बिक्री हुने त्रैमास हुनाले कुल आम्दानी प्रक्ष्येपितभन्दा केही बढी हुनेछ ।

९ महिनाको व्यापारका आधारमा कम्पनीले मासिक २४ करोड ५७ लाख र दैनिक औसत ८१ लाख रुपैयाँको बियर बिक्री गरेको बुझिन्छ ।

नेपाल आइस, मुस्ताङ आदि बियर उत्पादन गर्ने कम्पनीले सन् २०२४ मा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ५ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा सर्वाधिक ४ अर्ब ५४ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ मा १३ प्रतिशतले व्यापार घटेको थियो ।

९ महिनामा देखिएको सुधारले कम्पनी २०२३ को स्थितिमा पुगेको अनुमान गर्न सकिन्छ ।

यसो त कम्पनी ३ वर्षमा पहिलोपल्ट सञ्चालन नाफामा पुगेको छ । सन् २०२१ मा २०.५ प्रतिशत नाफा मार्जिन रहेकामा २०२२ मा ११.८ प्रतिशत थियो । त्यसयता २ वर्ष कम्पनीको नाफा मार्जिन नेगेटिभ रहेको थियो ।

कम्पनीले सन् २०२४ मा गरेको व्यापारमध्ये ७४ प्रतिशत आम्दानी नेपाल आइस र मुस्ताङ प्रिमियमबाट गरेको छ । सन् २०२३ मा उक्त दुई वस्तुबाट ७६ प्रतिशत आम्दानी भएको थियो ।

सन् १९९३ मा स्थापना भएको कम्पनीले वार्षिक ५ लाख ८५ हजार हेक्टोलिटर बियर उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले नेपाल आइस, रियल गोल्ड र मुस्ताङ बियर उत्पादन गरी व्यापार गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको बियर हङकङ, जापान, बेलायत, अमेरिका र अस्ट्रेलियामा निर्यात गर्दैै आएको छ ।

कम्पनीको मुख्य स्वामित्व चौधरी ग्रसपको एफएमसीजी युनिट सीजी फुड्ससँग रहेको छ । कम्पनीको उद्योग नवलपरासीमा रहेको छ । सो उद्योगमा ब्रुइङ र बोटलिङको कार्य हुँदै आएको छ । ब्रुइङको माल्ट युरोप र भारतबाट आयात गर्दै आएको छ । राइस फ्लेक्स र चीनी भने आन्तरिक बजारको खपत गर्ने गरेको छ ।

देशभर ३ सय डिलर र ५३ हजार खुद्रा पसल रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।