नेपाल ओभरसिजले एक दिनमै बेच्छ ५२ लाखको म्यामी पोको प्यान्ट डाइपर र जोन्सनको पाउडर-क्रिम-साबुन

350
Shares

काठमाडौं । म्यामी पोको प्यान्टको बेबी डाइपर, बालबच्चाका लागि प्रयोग हुने जोन्सन एन्ड जोन्सन कम्पनीको साबुन, क्रिम, स्याम्पु, सेटाफिलको स्किनकेयर प्रोडक्ट बेच्ने कम्पनीले गत आवको साढे १० महिनामा १ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको छ । जोन्सन एन्ड जोन्सन, युनिचार्म, सेटाफिल र अन्य विभिन्न ब्रान्डका सामाग्री बेच्ने नेपाल ओभरसिज मार्केटिङ कम्पनीले मध्य जेठसम्म १ अर्ब ६५ करोड ८० लाख रुपैयाँको सामाग्री बिक्री गरेको हो ।

यस हिसाबले कम्पनीले महिनामा १५ करोड ८० लाख र दिनमा करिब ५२ लाख रुपैयाँको व्यापार गर्ने गरेको छ । नेपाल ओभरसिजले सन् २०२४ मा २ अर्ब १६ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब १५ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब २५ करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यसहिसाबले कम्पनीले ती वर्षमा दैनिक औसत ५९ लाख, ५९ लाख, ६२ लाख र ४७ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९७ मा स्थापना भएको कम्पनीले नेपालमा विभिन्न प्रकारका एफएमसीजी वस्तु आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनी बीटुबी मोडलमा व्यापार गर्दै आएको छ । कम्पनीको देशभर २ सय ५० भन्दा बढी वितरक छन् ।

कम्पनीको दुई वटा ब्रान्ड (म्यामी पोको प्यान्ट र जोन्सन एन्ड जोन्सन)को सामग्रीबाट नै उच्च व्यापार हुने गरेको उल्लेख गरेको छ । सन् २०२४ मा युनिचार्म र जोन्सन एन्ड जोन्सनबाट मात्रै ७३ प्रतिशत व्यापार गरेको थियो । गत आवमा सोही दुई वटा ब्रान्डको सामग्रीबाट ६६ प्रतिशत आम्दानी गरेको छ ।

कम्पनीको स्वामित्व पवनकुमार अग्रवालसँग ६० प्रतिशत, रामजी अग्रवालसँग २० प्रतिशत र मिरा अग्रवालसँग २० प्रतिशत रहेको छ । उनीहरु १९८७ देखि नै एफएमसीजीको व्यापार गर्दै आएका छन् । नेपाल ओभरसिजले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८२ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७८ करोड रुपैयाँको रेटिङ गराएको छ । रेटिङ रकम यसअघिको भन्दा ३ करोड बढी हो ।

नेपाल ओभरसिजको पुँजीको पर्याप्तता सहज रहे पनि आम्दानीसँगै नाफा मार्जिन पनि घटेको छ ।

गत आवमा नेपाल ओभरसिजको नाफा मार्जिन पछिल्लो ५ वर्षकै कम हो । २०२१ मा ६ प्रतिशत सञ्चालन नाफा गरेको कम्पनीले २०२२ मा ६.३ प्रतिशत, २०२३ मा ६.३ प्रतिशत, २०२४ मा ४.५ प्रतिशत रहेकामा २०२५ को साढे १० महिनामा नाफा मार्जिन ३.४ प्रतिशत रहेको छ ।

नियन्त्रित लाभांश नीतिले कम्पनीको नेटवर्थ सहज अवस्थामा छ भने ७८ प्रतिशत उधारो बैंक ग्यारेन्टीबाट सुरक्षिा रहेकाले डिफल्ट जोखिम पनि छैन । यद्यपि, कम्पनीले क्षमता बराबर नै कर्जा लिएको छ । कर्जा लिमिट धेरै लिएर बसे पनि क्षमताको ९४ प्रतिशत कर्जा लिइसकको छ ।