
विराटनगर । मेयर र उपमेयरबीचको आपसी द्वन्द्वसँगै राजनीतिक टकरावका कारण कोशी प्रदेशका दुई उपमहानगरपालिका—सुनसरीको धरान र इटहरी—बिहीबारदेखि बजेट शून्यतामा पुगेका छन् ।
यो प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगरपालिका र ४६ नगरपालिका सहित १३७ स्थानीय तह छन् । धरान र इटहरी उपमहानगरपालिका बाहेक सबै स्थानीय तहले चालु वर्षको नीति तथा कार्यक्रम र बजेट निर्धारित मिति अर्थात असार १० गते सार्वजनिक गरी पारित गरिसकेका छन् ।
लाहुरेसँगै पछिल्लो समय श्रमदानको गाउँले परिचय बनाएको कोशीको प्रमुख सहर मध्येको धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट विजयी मेयर हर्क साम्पाङ र माओवादी केन्द्रबाट विजयी उपप्रमुख आइन्द्र विक्रम बेघाबीचको जुँगाको लडाइँले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट नै सार्वजनिक हुन नसक्दा धरान बजेटबिहीन बनेको हो ।
धरान नगरको राजस्व परामर्श समितिले बैशाख ३१ गते चालु वर्षका लागि १ अर्ब ६० करोड १५ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गर्न उपमहानगरलाई सुझाव दिएको थियो । तर, मेयर र उपमेयरबीचको राजनीतिक द्वन्द्वका कारण तोकिएको समयमा बजेट सार्वजनिक गर्नु त परै जाओस्, यो उपमहानगरपालिकाले अहिलेसम्म बजेट बनाउन र वडालाई बजेटको सिलिङ समेत टुंगो लगाउन सकेको छैन ।
यसबीचमा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि नगरसभाको मिति तय गर्न दुई पटक कार्यपालिका बैठक बोलाइए पनि सहमति हुन नसकेपछि धरान बजेटविहीन हुन पुगेको हो । धरानका मेयर साम्पाङ र उपमेयर बेघाबीच श्रमदान कार्यक्रमको रकम भुक्तानीको विषयमा सुरु भएको विवाद उत्कर्षमा पुग्दा उपमहानगरले चालु वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न नसकेको हो ।
विवाद बढ्दै गएपछि बजेट सीमा निर्धारण समितिको बैठकमा दुई पक्षबीच हातपातसमेत भएको थियो । मेयरले धरान–१६ मा रहेको बहुभाषिक पाठशाला संरक्षणका लागि श्रमदान गरेको भिडियो र फोटो सार्वजनिक गरेका थिए । श्रमदान भनेर प्रचार गर्दै मेयरले रकम भुक्तानीका लागि उपमेयरलाई दबाव दिएका थिए । तर, उक्त पाठशाला उपमहानगरकै बजेटले निर्माण भएको भन्दै उपमेयरले मेयरले मागेको भुक्तानी गर्न नमानेपछि दुईबीचको राजनीतिक द्वन्द्वले धरानलाई नीति तथा कार्यक्रम र बजेटविहीन बनाएको हो ।
गत वर्ष पनि बजेट सार्वजनिक गर्ने समयमा धरानका मेयर र उपमेयरबीच तीव्र विवाद थियो । त्यो विवादलाई सम्हाल्दै धरान उपमहानगरले चालु वर्षका लागि १ अर्ब ८९ करोडको बजेट सार्वजनिक गरेको थियो ।
त्यसैगरी, पूर्वको चर्चित इटहरी उपमहानगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर हेमकर्ण पौडेल र एमालेबाट निर्वाचित उपमेयर संगीता कुमारी चौधरीबीचको राजनीतिक टकरावले बजेट नै पारित हुन नसकेपछि इटहरी पनि बिहीबारदेखि बजेट शून्यतामा पुगेको हो ।
यो उपमहानगरपालिकाको कार्यपालिकाको असार १० गतेको बैठकमा उपमेयर चौधरीले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट सार्वजनिक गरेकी थिइन् ।
गत बुधवार बसेको कार्यपालिका बैठकमा मेयर पौडेलले अनुसूचीबिनाको बजेट पारित गर्न खोजेको भन्दै उपमेयरसहित एमाले पक्षधर कार्यपालिका सदस्यहरूले असहमति जनाएपछि बजेट पारित हुन नसक्दा व्यापारिक केन्द्र इटहरी पनि बजेटविहीन बनेको हो ।
इटहरी उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत छ । २० वटा वडा रहेको यो उपमहानगरमा कांग्रेसले मेयरसहित ५ वटा वडा र एमालेले उपमेयरसहित १५ वटा वडामा जितेको अवस्था छ ।







प्रतिक्रिया