गृहमन्त्रीको निर्देशनपछि पनि रोकिएन तस्करी, विराटनगर र मेची भन्सारले भेटेनन् राजस्व लक्ष्य


विराटनगर । कोशी प्रदेशका दुई प्रमुख भन्सार कार्यालय गत वर्ष पनि लक्ष्यअनुसार राजस्व असुली गर्न असफल भएका छन् । यसको मुख्य कारण तेस्रो मुलुकसँगको व्यापार घट्नु र भारतबाट अत्यधिक मात्रामा चोरी पैठारीमार्फत सामान भित्रिनुलाई मानिएको छ ।

विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८०.५ प्रतिशत र मेची भन्सार कार्यालयले लक्ष्यको ९१.८६ प्रतिशत राजस्व असुली गरेको छ । लक्ष्यअनुसार राजस्व असुली नभए पनि दुवै कार्यालयको राजस्व असुली अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको तथ्याङ्क छ ।

विराटनगर भन्सारले गत आर्थिक वर्ष ४१ अर्ब ५५ करोड राजस्व असुली गर्ने लक्ष्य पाएको थियो । त्यसमा ८०.५ प्रतिशत अर्थात् ३३ अर्ब ६२ करोड मात्र राजस्व असुली भएको छ । यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी भएको प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ मा ५० अर्ब ८१ करोड रूपैयाँ लक्ष्य राख्दा ३० अर्ब ३४ करोड रूपैयाँ असुली भयो ।

हरेक वर्ष लक्ष्यअनुसारको राजस्व असुली गर्न नसकेको यो कार्यालयले चालु वर्ष ४१ अर्ब ३४ करोड राजस्व असुली गर्ने लक्ष्य पाएको छ । यो लक्ष्य गत वर्षकोभन्दा २१ करोड रूपैयाँ कम हो ।

त्यसैगरी, कोशीको अर्को प्रमुख भन्सार कार्यालय मेचीले लक्ष्यको ९१.८६ प्रतिशत राजस्व असुली गरेको छ । उसले १७ अर्ब ३४ करोड रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य पाउँदा १५ अर्ब ९३ करोड उठाएको छ । यो असुली अघिल्लो वर्षको दाँजोमा ११.९४ प्रतिशतले बढी रहेको मेची भन्सार प्रमुख हरिहर पौडेलको भनाइ छ । राजस्व असुली लक्ष्यमा नपुगे पनि यो कार्यालयले चालु वर्षका लागि १८ अर्ब ८७ करोड रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य पाएको छ । यो गत वर्षकोभन्दा १ अर्ब ५३ करोडले बढी हो ।

कोशी प्रदेशको ठूलो भन्सार विराटनगर विगत पाँच वर्षदेखि लक्ष्यअनुसारको राजस्व असुली गर्न असफल हुँदै आएको छ । यसको मुख्य कारण तेस्रो मुलुकसँगको व्यापार हरेक वर्ष घट्नु र भारतबाट चोरीबाटो हुँदै हुने अवैध आयात मानिएको छ ।

विराटनगर भन्सारको राजस्व असुली औद्योगिक कच्चा पदार्थको आयातमा टिकेको छ । त्यसबाहेक, राजस्व बढी तिर्ने तथा भारत र तेस्रो मुलुकबाट आयात हुने लत्ता कपडा, जुत्ता–चप्पलको लगायत कमर्सियल आइटमको आयात हवात्तै घटेको छ ।

त्यसबाहेक मोटरसाइकल, पेट्रोलियम पदार्थ, एमएस बिलेट र कच्चा तेललगायतका सामानको आयात पनि उल्लेख्य घटेको छ । विराटनरगका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भने, ‘बढी राजस्व असुली लत्ता कपडा, चिनी, पेय पदार्थ, मोबाइल, एसी र ड्राइफुडलगायतका वस्तु भन्सार नाकाबाट नभई चोरी नाकाबाट भित्रिँदा राजस्व असुली प्रभावित बनेको हो ।’

पोलिथिन दाना, एलपी ग्यास, एचआरसीटी, शुद्ध फलाम र कच्चा तेललगायतका आयातीत वस्तुले भन्सार राजस्व असुली धान्दै आएको छ । श्रेष्ठले थपे, ‘विगतमा यो नाकाबाट चीनबाट सामान आउँदा राजस्व असुली बढेको थियो । अहिले चीनबाट नगण्य मात्रामा सामान आउँदा र अन्य तेस्रो मुलुकबाट पनि २५ प्रतिशतभन्दा बढीले व्यापार घट्दा राजस्व असुली प्रभावित बनेको हो ।’

आर्थिक वर्ष २०७६/७७ मा ४९ अर्ब ६४ करोड रूपैयाँ राजस्व असुली लक्ष्य राख्दा विराटनगर भन्सारले २९ अर्ब ३१ लाख मात्र राजस्व असुली गरेको थियो । यो लक्ष्यको ५९ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७७/७८ मा ४६ अर्ब १४ करोड रूपैयाँ लक्ष्य राख्दा ४० अर्ब ४१ करोड मात्र असुली भयो ।

आर्थिक वर्ष २०७८/७९ मा ४९ अर्ब ६५ करोड रूपैयाँ लक्ष्य राख्दा ४० अर्ब ४२ करोड मात्र असुली भयो । त्यसैगरी, २०७९/८० मा ६० अर्ब ३५ लाख असुली लक्ष्य राख्दा ३३ अर्ब १३ करोड मात्र असुली भयो ।

आर्थिक वर्ष २०८०/८१ मा ५० अर्ब ८१ करोड रूपैयाँ लक्ष्य राख्दा ३० अर्ब ३४ करोड मात्र असुली भयो ।

तेस्रो मुलुकबाट हुने आयात २५ प्रतिशतले घटेको छ । बढी राजस्व तिर्ने कमर्सियल वस्तुको आयात घट्दो छ । दैनिक उपभोग्य वस्तुमा भन्सार महसुल र भ्याट गरेर ४० प्रतिशतसम्म मूल्य फरक हुँदा ती सामानको अत्यधिक तस्करी बढ्दा राजस्व प्रभावित भएको छ ।

दैनिक उपभोग्य वस्तुमा करमाथि कर थुपारेर सीमावर्ती बजारको तुलनामा ४० प्रतिशतसम्म मूल्य फरक छ । खुला सीमानाका कारण ती वस्तु एक रुपैयाँको पनि भन्सार नाकाबाट आयात भएको छैन । यथास्थितिमा नभई हचुवाको भरमा राजस्व असुली लक्ष्य तोक्नु र तस्करी बढ्नुले भन्सारको राजस्व असुली प्रभावित भएको हो । चालु वर्षको बजेटले पनि लत्ता कपडा र दैनिक उपभोग्य वस्तुहरूमा भन्सार महसुल तथा भ्याटमा पुनर्विचार गरेन । यसपालिपनि तस्करी मौलाउने र राजस्व असुली प्रभावित बन्ने पक्का देखिएको छ ।

दुई महिना पहिले गृहमन्त्री रमेश लेखकले प्रदेशका सुरक्षा निकाय प्रमुखलाई ३० दिनभित्र तस्करी रोक्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि सुरक्षा निकायले जोगबनीबाट दैनिक उपभोग्य वस्तु लिएर आउने सर्वसाधारणलाई कडाइ गरे पनि तस्करी नियन्त्रण हुन सकेको छैन ।

भन्सार स्रोतका अनुसार गृहमन्त्रीको निर्देशनपछि पनि संगठित रूपमा तस्करी भने कायमै छ । सुरक्षाकर्मीले दिनभरि सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याउने सामान नियन्त्रण गर्छन् । तर, रातभरि व्यावसायिक कारोबारका लागि हुने संगठित तस्करी कायमै छ ।

भारतसँगको खुला नाकाबाट हुने अवैध व्यापारका कारण विराटनगर भन्सारको राजस्व असुली वर्षौंदेखि प्रभावित बन्दै आएको छ । भन्सार स्रोतका अनुसार मुखले नभई व्यवहारमा तस्करी नियन्त्रण नभएसम्म विराटनगर भन्सारको राजस्व असुली लक्ष्यमा पुग्ने स्थिति छैन ।