
काठमाडौं । आइएमई पे र खल्ती वालेट मर्ज भई साउन १ गतेबाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।
यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने छ ।
बिहीबार एक विशेष कार्यक्रम आयोजना गरि मर्जरको औपचारिक घोषणा गरिएको छ ।
यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।
ब्याज दिने एक मात्र वालेट को रूपमा चिनिएको आइएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो ।
अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन् ।
साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यस प्रक्रिया मार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन् ।
आइएमई पे आइएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो । अर्कोतर्फ, चार जना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए ।
आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्ण प्रसाद शर्माले आइएमई पे र खल्ती बीचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपाल को सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने बताएका छन् ।
आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए ।
आइएमई पेले Digital Services ICT Award 2024, HRM Award for Corporate Excellence in the FinTech Category 2023 र Visa Leadership Conclave Nepal 2023 मा Excellence in Fintech Partnership Award प्राप्त गरेको थियो । त्यस्तै, खल्तीले WITSA Global Innovation & Tech Excellence Awards 2022,२०२३ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक (NCHL बाट लगातार २ वर्ष) र नेपाल राष्ट्र बैंक बाट डिजिटल कारोबारमा पुर्याएको योगदानको उच्च कदरस्वरूप सम्मान प्राप्त गरेको थियो ।








प्रतिक्रिया