
एजेन्सी । क्युबाकी श्रममन्त्री मार्ता इलेना फेतो काब्रेराले देशमा मगन्तेहरू छैनन् भनी बयान दिएपछि राजीनामा दिन बाध्य भएकी छन् ।
माग्नेहरू नभएको र फोहरमैलाको डंगुरमा भेटिने मानिसहरू सजिलो गरी पैसा कमाउनका लागि त्यहाँ देखिएका हुन् भनी उनले संसद्को सत्रमा बोलेकी थिइन् । ती मान्छेहरूले गरिब भएको बहाना गरिरहेको उनको भनाइ थियो ।
उनको भनाइलाई क्युबाली र गैरआवासीय क्युबालीहरूले चर्को आलोचना गरेका थिए । त्यसपछि क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले उनलाई राजीनामा दिन लगाएका थिए ।
क्युबामा अहिले आर्थिक संकट चलिरहेको छ । गरिबीको स्तर बढेको र खाद्यान्नको अभाव भएको छ ।
मन्त्रीले गरेको टिप्पणीविरुद्ध जनताले जनाएको प्रतिक्रिया असाधारण हो किनकि क्युबामा सरकारविरोधी प्रदर्शनहरूमा कानूनी प्रतिबन्ध छ र विरोधीहरूलाई जेलमा कोच्ने गरिएको छ ।
फोहरमैलामा सामान खोज्ने मानिसहरूले रिसाइक्लिङमा अवैध सहभागिता जनाएको फेतो काब्रेराले आरोप लगाएकी थिइन् ।
उनको यस टिप्पणीले सर्वसाधारण क्युबालीहरूको आर्थिक कठिनाइलाई हलुका रूपमा लिएको भन्दै जनता रिसाएका हुन् ।
राष्ट्रपति डियाज–कनेलले पनि काब्रेराको नाम नलिइकन जनतालाई होच्याउने गरी नेतृत्वले बोल्न नहुने भनी संसदमा टिप्पणी गरेका थिए ।
क्युबामा आर्थिक संकट बढेपछि मानिसहरू फोहरको भाँडोमा खानेकुरा खोज्ने र सडकमा सुत्ने क्रम बढेको छ ।
इन्धनको अभाव र बिजुली गइरहने समस्याले दैनिक जीवन कठिन बनेको छ ।
कतिपय क्युबालीहरू आधारभूत औषधि समेत नपाएर औषधिपसल धाइरहेका छन् ।
क्युबाली अभियन्ता र बुद्धिजीवीहरूले खुलापत्र लेखेर काब्रेरालाई हटाउन माग गरेका थिए । उनको टिप्पणीले क्युबाली जनताको अपमान गरेको उनीहरूको तर्क थियो ।
फेतो काब्रेरालको राजीनामालाई सरकार र क्युबाली कम्युनिस्ट पार्टीले स्वीकृत गरेको छ ।








प्रतिक्रिया