प्रचण्डलाई ओलीको जवाफः ‘फ्लडलाइट र प्यारापिट हेर्न खेल मैदानमा जानुस्’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक स्टाटसमार्फत् दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा दाहालले ‘कीर्तिपुरको क्रिकेट मैदानमा ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट? बन्यो त प्यारापिट?’ भन्दै प्रश्न गरेका थिए । जसको जवाफ प्रधानमन्त्री ओलीले फेसबुकबाट दिएका हुन् ।

‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन । तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’

सोमबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष दाहालले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा दाहालले भनेका थिए, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो ।’

एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाएका थिए ।