रुसले ११ वर्षअघि यात्रुवाहक मलेसियन विमानलाई गोली हानेर खसाएको युरोपेली अदालतको ठहर

2.2k
Shares

एजेन्सी । युरोपियन कोर्ट अफ ह्युमन राइट्सले सन् २०१४ मा रुसले यात्रुवाहक मलेसियाली विमानलाई खसाएर सबै यात्रुको हत्या गरेको कसूर ठहर गरेको छ ।

युक्रेन र नेदरल्यान्ड्सले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै उक्त अदालतले बुधवार फैसला सुनाएको हो । सन् २०१४ देखि पूर्वी युक्रेनका पृथक्तावादीहरूलाई समर्थन गरी रुसले व्यापक मानवअधिकार उल्लंघन गरेको र त्यही वर्ष मलेसिया एयरलाइन्सको फ्लाइट १७ खसाएको र सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेकोमा रुस दोषी रहेको ठहर गरेको हो ।

स्ट्रासबोर्गमा रहेको भरिभराउ इजलासमा अदालतका अध्यक्ष मात्तियास गुयोमारले रुसी सैनिकहरूले मलेसियाली विमानमा आक्रमण गरेर पूर्ण रूपमा अवैध काम गरेको बताए ।

‘प्राप्त प्रमाणका आधारमा एमएच१७ विमानलाई लडाकू विमान भन्ठानेर जानाजान क्षेप्यास्त्र प्रहार गरिएको अदालतको ठहर छ,’ अदालतले बयान जारी गरेर जनायो ।

‘ठ्याक्कै कसले क्षेप्यास्त्र प्रहार गरेको हो भनी निर्णय दिनु अदालतका लागि जरुरी थिएन किनकि रुसी सैनिक र सशस्त्र पृथक्तावादीहरूका सबै कार्यका लागि रुस नै जिम्मेवार थियो,’ अदालतको कथन छ, ‘बुक–तेलार क्षेप्यास्त्र प्रणालीले लडाकू र गैरसैन्य विमानबीचको फरक छुट्याउन नसक्ने भनी नेदरल्यान्ड्स सरकारले पेश गरेको प्रमाणलाई अदालतले स्वीकार गरेको छ ।’

रुसले सैन्य लक्ष्यलाई सटीक रूपमा पहिचान गर्ने उपाय नअपनाएर पूर्वसतर्कताका सिद्धान्तको उल्लंघन गरेको अदालतले जनायो ।

रुस सरकारले यो प्रतीकात्मक फैसलालाई बेवास्ता गर्ने जनाएको छ । तर, युक्रेनले यो ऐतिहासिक र अभूतपूर्व फैसला भएको जनाउँदै यो आफ्नो लागि जीत भएको अभिव्यक्ति दियो ।

५०१ पृष्ठ लामो फैसलामा रुसले यस मुद्दाको प्रक्रियामा भाग लिन नमान्नु पनि मानवअधिकार सम्बन्धी युरोपेली महासन्धिको बर्खिलाप भएको उल्लेख छ ।

मलेसिया एयरलाइन्सको फ्लाइट १७ मा मृत्यु भएका परिवारले ११ वर्षदेखि गरिरहेको न्यायको प्रतीक्षामा यो महत्त्वपूर्ण कोशेढुंगा भएको बताएका छन् ।

नेदरल्यान्ड्सबाट मलेसियाबाट गइरहेको बोइङ ७७७ विमानलाई सन् २०१४ जुलाई १७ मा रुसमा बनेको बुक क्षेप्यास्त्रले पूर्वी युक्रेनबाट खसाइएको थियो । पूर्वी युक्रेन पृथक्तावादी विद्रोहीहरूको नियन्त्रणमा थियो ।

उक्त घटनामा सबै २९८ यात्रु र विमान कर्मचारीको मृत्यु भएको थियो । कुल १७ मुलुकका यात्रुहरू त्यस विमानमा सवार थिए ।