
काठमाडौं । युक्रेन र पश्चिम एसियामा चलिरहेका युद्धमा चालकरहित प्रणाली ड्रोन तथा कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोगले भविष्यका द्वन्द्वहरू थप घातक बन्ने संकेत दिएका छन् ।
रुस–युक्रेन युद्धमा रुसले युक्रेनको भूभागमा लगातार नियन्त्रण कायम गर्दै गएको भए पनि त्यो सुस्त गतिमा मात्र अघि बढेको छ । युक्रेनले ड्रोनहरूको प्रभावकारी उपयोग गरेका कारण यो सम्भव भएको हो । अहिले पनि रुसले युक्रेनमाथि विशाल संख्यामा क्षेप्यास्त्रहरू आक्रमण गरिरहेको छ तर युक्रेनले पनि रुसको भूभाग भित्रसम्म पुगेर ड्रोनमार्फत क्षति पुर्याउन सफलता पाएको छ ।
युक्रेनले गत जुन महिनामा चलाएको अपरेशन स्पाइडर वेबले ड्रोन युद्धको उम्दा उदाहरण प्रस्तुत गरेको थियो । १८ महिनाको तयारीपछि युक्रेनले रुसका पाँचवटा क्षेत्रमा एफपीभी ड्रोनहरू पठाएर २० वटा जति रुसी बमवर्षक तथा निगरानी प्रयोजनका विमानहरू ध्वस्त पारेको थियो ।
रुसले आफ्ना बमवर्षक विमानहरू युद्धभूमिबाट निकै टाढा लगेर राखेको भए पनि युक्रेनले ड्रोन युद्धमार्फत तिनलाई ध्वस्त पार्न सकेको थियो । केही हजार डलरमा तयार भएका ड्रोनले लाखौं डलर खर्च गरेर बनाइएका विमानलाई ध्वस्त पार्नु आफैंमा ठूलो सफलता हो ।
सन् २०२२ मा युद्ध सुरु हुँदा युक्रेनले बेराक्तार टीबी२ ड्रोन उपयोग गरी रुसका आर्टिलरी प्रणाली, ट्यांक र सेनाका जत्थालाई ध्वस्त पारेको थियो । जमिनबाट आकाशमा मार हान्ने रुसी बुक क्षेप्यास्त्र प्रणाली र एस–३०० प्रक्षेपकहरूलाई युक्रेनी टीबी२ ड्रोनहरूले नष्ट गरेको भिडियो त्यतिखेर सामाजिक सञ्जालमा पोस्ट भएका थिए ।
उता, रुसले पनि इरानमा बनेको शाहेद–१३६ कामिकाजे ड्रोनहरू प्रहार गरेर युक्रेनमाथि प्रभावकारी आक्रमण गर्न सकेको थियो । यी ड्रोनहरूमा जीपीएस कोअर्डिनेशन गरिएको थियो र यिनको ड्याशबोर्डमा रहेको एआईले तारोमा सटीक प्रहार गर्न सघाएको थियो । तिनलाई बीचैमा रोक्न पनि असम्भव जस्तै थियो ।
ड्रोनको उपयोगसँगै एआईले पनि आधुनिक युद्धकलालाई घातक बनाएको छ । विशेषगरी शत्रुमाथि प्रहार गर्ने क्रममा तारो निर्धारण गर्ने र युद्धभूमिमा तत्काल निर्णय लिनुपर्ने अवस्थामा एआई भरपर्दो माध्यम बन्न पुगेको छ
रुसका शाहेद ड्रोनहरूले युक्रेनको राजधानी किएभमा आक्रमण गरी विद्युत् प्रसारण केन्द्रहरूलाई विनाश गरी शहरलाई अन्धकारमय बनाइदिएका थिए । त्यसबाहेक रुसले ओर्लान–१० नाम खोजी ड्रोन उपयोग गरेर युक्रेनका सैनिकहरू कहाँ बसेका छन् पत्ता लगाउने गरेको थियो । त्यसपछि रुसले भारी मात्रामा आर्टिलरीको उपयोग गरी ठूलो संख्यामा युक्रेनी सैनिकहरूलाई सफाया गरेको थियो । अहिले रुसले महिनामा करिब २७ सय शाहेद ड्रोन र करिब २५ सय डिकोय ड्रोन बनाउने गरेको अनुमान छ । मंगलवार मात्र रुसले ७२८ वटा ड्रोनहरू युक्रेनमाथि प्रहार गरेको देख्दा पनि उसको ड्रोन उत्पादन क्षमता बलियो भएको स्पष्ट हुन्छ ।
उता, युक्रेनले पोक्रोभा र बुकोभेल–एडी लगायतका इलेक्ट्रोनिक वारफेयर प्रणालीहरू उपयोग गरी रुसका ड्रोनको सञ्चार प्रणालीलाई अवरुद्ध पारेको थियो । सन् २०२३ मा युक्रेनी सैनिकहरूले यो प्रणाली उपयोग गरी दर्जनभन्दा बढी ओर्लान–१० ड्रोनहरू एक हप्ताभित्रै खसाइदिएका थिए ।
रुसले क्रासुखा–४, लीयर–३, मुर्मान्स्क बीएन र बोरिसोग्लेब्स्क जस्त इलेक्ट्रोनिक प्रणाली उपयोग गरेको छ । ती प्रणालीले युक्रेनी ड्रोनहरूलाई सहजताका साथ कारवाही गर्न बाधा गरिरहेका छन् ।
ड्रोनको उपयोगसँगै एआईले पनि आधुनिक युद्धकलालाई घातक बनाएको छ । विशेषगरी शत्रुमाथि प्रहार गर्ने क्रममा तारो निर्धारण गर्ने र युद्धभूमिमा तत्काल निर्णय लिनुपर्ने अवस्थामा एआई भरपर्दो माध्यम बन्न पुगेको छ ।
युक्रेनले युद्धमा डेल्टा जस्ता एआईमा आधारित सफ्टवेयर उपयोग गरेको छ । त्यस एआईले ड्रोन, भूउपग्रह र जमिनमा रहेका सेन्सरहरूबाट डेटा संकलन गरी तत्कालै सैन्य कमान्डलाई सूचना दिन्छ । सन् २०२४ को डिसेम्बरमा डेल्टाको उपयोग गरी युक्रेनी सैनिकहरूले जापोरिजामा रहेको रुसको कमान्ड पोस्टको पहिचान गरेका थिए । त्यसपछि उनीहरूले हिमार्स क्षेप्यास्त्र प्रहार गरी रुसका उच्च दर्जाका तीनजना अधिकृतहरूको हत्या गरेका थिए ।
रुसले पनि युद्धमा एआईको भरपूर उपयोग गरेको छ । उसले सामूहिक प्रहार गरिने ड्रोन स्वार्म र आफैं तारो निर्धारण गर्ने अटोनोमस टार्गेटिङ सिस्टमका लागि एआईको उपयोग गर्ने गरेको छ । एआईको निर्देशनमा चल्ने रुसको लान्सेट प्रणालीले शत्रुलाई आफैं पहिचान गरी प्रहार गर्न सक्छ । रुसको लान्सेट लोइटरिङ म्युनिशन्सले युक्रेनका लगभग २०० वटा एम७७७ हावित्जर हतियारलाई ध्वस्त पारिसकेको ड्रोन बनाउने कम्पनी जालाले पुष्टि गरेको छ ।
साइबर युद्धमा पनि एआईको उपयोग हुने गरेको छ । रुसले गत डिसेम्बर महिनामा युक्रेनका सरकारी कार्यालयमा साइबर आक्रमण गरी हप्तौंसम्म अत्यावश्यक सेवाहरू अवरुद्ध गरेको थियो ।
युक्रेनका सरकारी निकाय र महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी रुसले १ हजारभन्दा बढी साइबर आक्रमण गरेको र युक्रेनले त्यसलाई रोकेको खबर सार्वजनिक भएको थियो ।

रुसले एआईको उपयोग गरी गलत सूचना प्रवाह गरेको उदाहरण पनि छ । सन् २०२४ को जुन महिनामा एआईले बनाएको एउटा डीपफेक भिडियो सार्वजनिक भएको थियो । त्यसमा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीकी पत्नी ओलेनाले करिब ५० लाख डलर पर्ने बुगाती गाडी किनेको भनी दाबी गरिएको थियो । भिडियोमा बुगातीका एक कर्मचारी र गाडी किनेको कागजात पनि देखाइएको थियो तर त्यो झूटो थियो । बुगाती पेरिसले यसको खण्डन गरेको भए पनि त्यो भिडियो भाइरल भएर २ करोडभन्दा बढी भ्युज पाइसकेको थियो ।
इजरायल र इरानले गरेको १२ दिनको युद्धमा पनि ड्रोन र एआईको उपयोग भएको थियो । इजरायलले युद्ध शुरू हुनुभन्दा धेरै अघि इरानी भूमिभित्र गोप्य रूपमा साना ड्रोनहरू पठाएको थियो । त्यसपछि इरानमा रहेका इजरायली गुप्तचर निकाय मोसादका एजेन्टहरूले इरानको जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरू राखिएको स्थान नजिकै ती ड्रोनहरू राखेका थिए । सुरुमै इरानका क्षेप्यास्त्रहरूलाई ध्वस्त पारेर इजरायलले अग्रता लिएको थियो । त्यसबाहेक पनि इजरायली ड्रोनहरू धेरैपटक उडेर इरानका क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र महत्त्वपूर्ण पूर्वाधारमा ५०० भन्दा बढी आक्रमण गरेका थिए ।
त्यसबाहेक इजरायलले इरानबाट प्राप्त सूचनाहरूको विश्लेषणका लागि एआईको उपयोग गरेको थियो । अमेरिकाको पालन्टियर कम्पनीले उपलब्ध गराएको एआई सफ्टवेयरले इजरायललाई इरानीहरूको सूचना विश्लेषण गर्न सघाएको थियो ।
सन् २०२४ को अक्टोबरदेखि नै डेटा संकलन गर्न थालेकोमा एआईमार्फत त्यसको द्रुत विश्लेषण गर्न इजरायलीहरू सफल भएका थिए । त्यसैको आधारमा उनीहरूले इरानका उच्च सैन्य अधिकृत र आणविक वैज्ञानिकहरूलाई पहिचान गरी सटीक प्रहारमार्फत सफाया गर्न सकेको थियो । इजरायलले हमास र हेज्बोल्लाहका शीर्ष नेताहरूको सफायाका लागि पनि गुप्तचर सूचनालाई एआईमार्फत विश्लेषण गरेको थियो ।
इरानले पनि प्रत्याक्रमणका क्रममा इजरायलमाथि सयौं शाहेद ड्रोनहरू प्रहार गरेको थियो । तीमध्ये ९० प्रतिशतलाई आफ्नो प्रतिरक्षा प्रणालीले रोक्न सफल भएको इजरायलले दाबी गरेको छ । तर, ती ड्रोन र तीसँगै प्रहार गरिएका क्षेप्यास्त्रहरूले इजरायलमा व्यापक क्षति गरेका छन् ।
इरानी आक्रमणका कारण मध्य इजरायलमा रहेको आवासीय क्षेत्रमा भारी क्षति पुगेको थियो । २४ घन्टासम्म लगातार उड्ने र १७ सय किलोमिटर टाढासम्म पुग्न सक्ने शाहेद १२९ ड्रोनले इजरायली प्रतिरक्षा प्रणालीलाई आच्छुआच्छु पारेका थिए । शाहेद–१३१ र शाहेद–१३६ ड्रोनले नेभिगेशन र लक्ष्य निर्धारणमा एआई उपयोग गर्ने गरेको छ । शत्रुले सञ्चार प्रणालीबाट विमुख बनाउने कार्य अर्थात् जामिङलाई पनि यसले छल्न सक्छ ।

यसअघि सन् २०२४ को अप्रिलमा इजरायलले सिरियाको राजधानी दमास्कसमा आक्रमण गरी इरानका सैन्य कमान्डरको हत्या गरेपछि इरानले इजरायलमाथि ड्रोन, क्रुज र बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो । तीमध्ये धेरैजसोलाई इजरायलका आइरन डोम, डेभिड्स स्लिङ र एरो ३ ले रोकिदिएका थिए ।
आइरन डोममा एआई प्रविधि उपयोग गरिएकाले त्यसले कुन क्षेप्यास्त्र घना आबादी भएको क्षेत्रमा खस्छ र कुन चाहिँ निर्जन क्षेत्रमा जान्छ भनी फरक छुट्याइदिन्छ । यसले गर्दा कुन चाहिँलाई खसाउने र कुनलाई छोडेर ऊर्जा बचाउने भनी इजरायललाई प्राथमिकता निर्धारण गर्न सजिलो भएको थियो । तर, पछिल्ला १२ दिनको युद्धमा इरानले विशाल संख्यामा ड्रोन र क्षेप्यास्त्रहरू प्रहार गरेकाले एआईको शक्तिप्राप्त भए पनि इजरायली प्रतिरक्षा प्रणाली अप्ठ्यारोमा परेको थियो ।
यसरी ड्रोन र एआईले आधुनिक युद्धको रूपरेखामा परिवर्तन गरेका छन् । अन्य मुलुकहरूले पनि यसमा चासो देखाउन थालेका छन् । चीनले युद्धमा उपयोग हुने ड्रोनमा व्यापक लगानी गरेर नवप्रवर्तनमा सफलता पाएको खबरहरू आएका छन् ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाले एकैपटकमा १०० वटा ड्रोनहरू पठाउन सक्ने ड्रोन मदरशिप बनाइसकेको र त्यसलाई हतियारका रूपमा उपयोग गर्न थालिसकेको बताइन्छ । ज्यो थ्येन नाम दिइएको उक्त हतियारले एकैपटकमा अनेकौं ड्रोन पठाएर शत्रुको प्रतिरक्षा प्रणालीलाई हावाकावा खेलाइदिन्छ ।
लडाकू विमानमा चालक राखेर शत्रुको भूभागमा पठाउँदा चालकको मृत्यु हुने जोखिम रहन्छ । तर, मानवरहित ड्रोन पठाउँदा शत्रुलाई प्रहार गर्छ र आफ्नो सैनिक पनि सुरक्षित रहिरहन्छ । आकारमा सानो हुने भएकाले ड्रोनलाई सञ्चालन गर्न पनि सहज छ । त्यस्तै, एआईको शक्तिप्राप्त हतियारले शत्रुमाथि सटीक रूपमा प्रहार गर्ने वा शत्रुको क्षेप्यास्त्रलाई प्रतिरक्षा गर्ने र शत्रुबाट संकलित सूचनाको द्रुत विश्लेषण गरेर उसलाई निर्णायक चोट दिने काम गर्ने गरेको छ । त्यसैले शक्तिराष्ट्रहरू यसमा नवप्रवर्तन गरिरहेका छन् । लेजर र एरियल ड्य्रागनेट जस्ता ड्रोनप्रतिरोधी क्षमता (काउन्टर ड्रोन केपेबिलिटिज) को परीक्षणहरू भइरहेका छन् ।








प्रतिक्रिया