
काठमाडौं । नेपालमा इन्टनरेट सेवा दिन थालेको ६ वर्षमै डिसहोम प्रमुख प्रतिस्पर्धी सेवाप्रदायक बनेको छ । २०७६ फागुन १३ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट इजाजतपत्र लिएर सेवा सुरु गरेको डिसहोम छोटो समयमै अग्रणी सेवाप्रदायकको सूचीमा मात्रै होइन वर्षोदेखि सेवा सुरु गरेको टेलिकमलाई पछि पारेर सेवा संख्याका हिसावले दोस्रो स्थान जमाउन सफल भएको छ ।
नेपाल दूरसञ्चार प्राधिरकणले सार्वजनिक गरेको जेठ २०८२ सम्मको तथ्यांकअनुसार ग्राहक संख्याको हिसाबले पहिलो नम्बरमा वर्ल्डलिंक कम्युनिकेसन छ भने दोस्रो नम्बरमा डिसहोम फाइबर नेट देखिन्छ ।
सरकारी सेवाप्रदायक नेपाल टेलिकमको फाइवर टु दि होम (एफटीटीएच)ले पहिलो नम्बरसँग प्रतिस्पर्धा गर्न केही वर्षदेखि दोस्रोको सूचीमा देखिए पनि सरकारी रणनीति कमजोर भएको र ग्राहक संख्याको वृद्धिदर न्यून भएको फाइदा तेस्रो सूचीमा रहेको कम्पनिले उठाउन सफल भएको छ ।
टेलिकमलाई उछिनेर डिसहोम दाेस्रो नम्बरको सेवाप्रदायक भएसँगै अब यसको प्रतिस्पर्धा ग्राहक संख्याका हिसावले अरु सेवाप्रदाकसँगकाे तुलनामा निकै अगाडिकै वर्ल्डलिंकसँग हुने भएको छ ।
तथ्यांकअनुसार डिसहोमले गत जेठसम्ममा ३ लाख ५६ हजार ७६५ ग्राहक संख्या बनाएको छ । यो अवधिमा टेलिकमले टेलिकम ३ लाख ५२ हजारको ग्राहक संख्यामै रोकिएको छ । यो बेलासम्मममा पहिलो नम्बरको सूचीमा परेको वर्ल्डलिंकको ग्राहक संख्या १० लाख ७ हजार पुगेको तथ्यांकमा देखिन्छ ।
डिसहोमले दोस्रो स्थानमा आउने सुरुवाति चरणमा लिएको आक्रामक बजार विस्तार शैलीले नै काम गरेको दाबी गरेको छ । डिस होमका अनुसार अहिले आक्रामक भन्न मिल्दैन तर कस्टुमर सर्भिस नै राम्रो भएको भनेर बुझ्नुपर्ने हुन्छ ।
बजारमा विस्तारको रणनीतिलाई थप प्रभावकारि बनाउँदै पहिलो नम्बरसँगको फराकिलो अन्तरलाई साँधुरो बनाउने र तेस्रोसँगको अन्तर फराकिलो बनाउने रणनीतिका साथ काम भइरहेको पनि डिसहोमले जानकारी दिएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार २०७७ मा नेपाल टेलिकमको ग्राहक संख्या २ लाख ४३ हजार थियो । त्यतिबेला वर्ल्डलिंकको ग्राहक संख्या ३ लाख ६८ हजार मात्रै थियो ।
२०७८ मा टेलिकमको २ लाख ९३ हजार ग्राहक थियो भने वर्ल्ड लिंकको ४ लाख ८५ हजार पुगेको थियो ।२०७९ मा आइपुग्दा टेलिकमको इन्टरेनटका ग्राहक २ लाख ९८ हजार मात्रै हुन पुग्यो । त्यतिबेला वर्ल्डलिंकले ६ लाख ४५ हजार ग्राहक पुर्याइसकेको थियो ।
२०८० जेठमा आइपुग्दा टेलिकमको इन्टरनेटका ग्राहक २ लाख ९० हजारमा खुम्बिएको थियो । त्यतिबेला वर्ल्ड लिंकले ७ लाख ७२ हजार ग्राहक पुर्याइसकेको थियो ।
२०८१ मा आइपुग्दा टेलिकमको ग्राहक ३ लाख १२ हजार २२८ पुगेको छ । यतिबेला वर्ल्डलिंकको ग्राहक संख्या ९ लाख १२ हजार पुगिसकेको थियो ।








प्रतिक्रिया