
एजेन्सी । बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनक गोल्डम्यान स्याक्स बैंकका वरिष्ठ सल्लाहकार नियुक्त भएका छन् ।
सन् २०२४ को जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका सुनकले बैंकका ग्राहकहरूलाई सल्लाह दिनेछन् । त्यहाँ उनले पार्ट टाइम काम गर्नेछन् ।
विश्व राजनीति र अर्थतन्त्रमा आफ्नो अद्वितीय दृष्टिकोण दिन सक्ने भएकाले सुनकलाई नियुक्त गरिएको गोल्डम्यान स्याक्सले जनाएको छ ।
सुनक बहालवाला सांसद हुन् । कन्जर्भेटिभ पार्टीका तर्फबाट उनी योर्कशायरका सांसद हुन् ।
उनले यसअघि पनि गोल्डम्यान स्याक्सका लागि काम गरिसकेका छन् । राजनीतिमा आउनुअघि उनी उक्त बैंकमा विश्लेषकको भूमिकामा थिए ।
गोल्डम्यान स्याक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी डेभिड सोलोमनले सुनलाई कम्पनीमा भित्र्याउन पाउँदा खुशी भएको बताए ।
सुनकले संसारभरि रहेका गोल्डम्यान स्याक्सका ग्राहकसँग समय बिताउने र सिकाइको संस्कृतिमा योगदान गर्ने सोलोमनको भनाइ छ ।
उनले बैंकबाट पाउने तलब द रिचमोन्ड प्रोजेक्टलाई दान दिनेछन् । पोहोर साल उनले पत्नी अक्षता मूर्तिसँग मिलेर यो परोपकारी संस्था खोलेका थिए । यसले बेलायतमा शिक्षा क्षेत्रको सुधारमा काम गर्नेछ ।
सुनकले बैंकका तर्फबाट बेलायती सरकारसमक्ष कुनै पनि किसिमको पैरवी गर्न पाउने छैनन् ।
उनले यसबाहेक अक्सफोर्ड विश्वविद्यालयको ब्लाभातनिक स्कूल अफ गभर्नमेन्ट र अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा रहेको हूभर इन्स्टिच्युशनमा पनि काम गरिरहेका छन् । तर, यसका लागि उनले कुनै तलब पाउने गरेका छैनन् ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुनकले तीन कार्यक्रममा सम्बोधन गरेर ५ लाख पाउन्डभन्दा बढी रकम कमाइसकेका छन् ।








प्रतिक्रिया