रसुवा बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्‍यायो: नाडा

0
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले रसुवामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ ।

बिहान रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका केरुङ ररसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्‍याएको नाडाको भनाइ छ ।

यसले भन्सार परिसरमा रहेको निर्माणाधीन सुक्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएकोभन्दै नाडाले पीडितहरूप्रति सहानुभूति दिएको छ । आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय रहेको भन्दै नाडाले सहानुभूति प्रकट गरेको हो ।

हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहँदै आएको नाडाले जनाएको छ । ‘पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा हामी ऐक्यबद्धता जनाउँछौं । यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौ । यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढन अनुरोध गर्दछौं,’ नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाढीले सुक्खा बन्दरगाहमा रहेका कतिपय सवारी साधन बगाएको र सयौं सवारीमा क्षति पुर्‍याएको छ ।