
एजेन्सी । एप्पलका फोनहरुमा नग्न भिडियो कल गर्न नपाइने भएको छ । कम्पनीले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओइस २६ मा फेसटाइम भिडियो कलमा नग्नता देखिएमा स्वतः कल रोक्ने सुविधा परीक्षण गरिरहेको हो । हाल विकासकर्ताका लागि मात्र उपलब्ध गराइएको आईओएस २६ को डेभलपर प्रिभ्यु संस्करणमा यो नयाँ सुविधा देखिएको हो ।
भिडियो कलको क्रममा नग्न शरीर देखिए स्क्रिनमा ‘संवेदनशील गतिविधि भइरहेको’ चेतावनी सन्देश देखिनेछ । यो सन्देशसँगै प्रयोगकर्तालाई कल अन्त्य गर्ने वा निरन्तर रहने विकल्प दिइन्छ । निरन्तर गर्दा पुनः संवेदनशील काम भएको देखिए पुनः सन्देश देखा पर्नेछ ।
यो फिचर मूलतः बालबालिकाको सुरक्षा सुनिश्चित गर्न एप्पलको ‘कम्युनिकेसन सेफ्टी’ प्रणाली अन्तर्गत ल्याइएको थियो । तर अहिलेको परीक्षण संस्करणमा यो वयस्क प्रयोगकर्ताको खातामा समेत काम गरिरहेको देखिएको छ । अझ रोचक कुरा त के छ भने – यो सुविधा बन्द गरे पनि निरन्तर सन्देश प्राप्त भइरहेको छ जसले गर्दा प्रयोगकर्तामाझ केही अन्योल उत्पन्न भएको बताइएको छ । डेभपलरले प्राविधिक गडबडी भएको अनुमान गरेका छन् ।
एप्पलका अनुसार भिडियो वा फोटोहरूमा नग्नता छ कि छैन भन्ने जाँच फोनकै भित्रै ‘अन डिभाइस मेसिन लर्निङ’द्वारा गरिन्छ, जसमा प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने बताइएको छ । कम्पनीले स्पष्ट पारेको छ कि यस्तो विश्लेषण गर्दा एप्पलले कुनै पनि भिडियो सामग्री आफैं प्राप्त गर्ने या हेर्ने गर्दैन ।
यद्यपि, कतिपय प्रयोगकर्ताले ‘ज्याकेट खोल्दा पनि फेसटाइम रोकिने हो ?’ भन्दै सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरिरहेका छन् । यस्तो अवस्थामा कुन तहको नग्नतालाई ’संवेदनशील’ मानिन्छ भन्ने बारे अहिले स्पष्ट जानकारी दिएइको छैन र एप्पलले प्रयोगकर्ताको प्रतिक्रिया अनुसार सुधार गर्ने अनुमान गरिएको छ ।
आईओएस २६ हाल परीक्षण चरणमा रहेको छ भने अन्तिम संस्करण सेप्टेम्बरमा ल्याइनेछ ।








प्रतिक्रिया