
एजेन्सी । इटलीको मिलान फेशन वीकमा मोडलहरूले छालाबाट बनेको चप्पल लगाएर र्याम्पमा हिँड्दा भारतमा हंगामा भएको छ ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनको अनलाइन संस्करणमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार, त्यो चप्पल भारतको महाराष्ट्रमा रहेको कोहलपुरी चप्पलसँग दुरुस्तै मिल्ने भनी भारतीयहरूले आवाज उठाइरहेका छन् ।
सन् २०१९ मा भारत सरकारले कोहलपुरी चप्पल पहिलोपटक कोहलपुरमा बनेको तथ्यलाई आधिकारिक मान्यता दिएको थियो ।
भारतको एमआईटी इन्स्टिच्युट अफ डिजाइनमा फेशन डिजाइनकी उपप्राध्यापक आर्शिया कपूरले भारत सरकारको मान्यताले कोहलपुरी चप्पलको अद्वितीय सांस्कृतिक विरासतलाई पहिचान गरेको बताइन् ।
प्राडाको चप्पलको डिजाइन सांस्कृतिक चोरीको उदाहरण भएको उनको भनाइ छ ।
प्राडाले यी चप्पलहरू जोडीको १२ सय डलर (१ लाख ६४ हजार रुपैयाँ) मा बेचिरहेको छ ।
वास्तविक कोहलपुरी चप्पललाई चाहिँ जम्मा १५ सय रुपैयाँमा पाइन्छ ।
भारतको सत्तारूढ भारतीय जनता पार्टीका सदस्य धनञ्जय महादिकले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसलाई पत्र लेखेर यस सांस्कृतिक तथा व्यापारिक चोरीका विरुद्ध कदम चाल्न आग्रह गरेका छन् ।
प्राडाले कोहलपुरको उत्पादनलाई पहिचान गर्नुपर्ने र स्थानीय चप्पल निर्माताहरूलाई राजस्व दिनुपर्ने उनले बताए ।
प्राडाले अर्डर दिएमा आफूहरूले चप्पल बनाइदिने महादिकको भनाइ छ । यसरी कोहलपुरी ब्रान्ड संसारभरि पुग्ने उनले बताए ।
महाराष्ट्र चेम्बर अफ कमर्सले प्राडाका अध्यक्ष पेत्रिजियो बर्तेलीलाई कोहलपुरी चप्पल निर्माताहरूको चिन्ताका विषयमा पत्र लेखेको छ ।
प्राडाले त्यसको जवाफ दिँदै चप्पलहरूको डिजाइन शताब्दियौंदेखि प्रचलनमा रहेका भारतीय चप्पलहरूबाट प्रेरित भएको जनायो ।
तर, यो स्वीकारोक्ति मात्र पर्याप्त नभएको उपप्राध्यापक आर्शिया कपूरको भनाइ छ । प्राडाले कोहलपुरका चप्पल निर्माताहरूलाई कामको अवसर र राम्रो पारिश्रमिक दिनुपर्ने उनी बताउँछिन् ।
प्रतिक्रिया