फोर्दो आणविक केन्द्रमा भारी क्षति पुगेको इरानले गर्‍यो स्वीकार

1.4k
Shares

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराक्चीले फोर्दो आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणका कारण भारी क्षति पुगेको स्वीकार गरेका छन् ।

सीबीएस न्युजलाई अन्तर्वार्ता दिँदै अराक्चीले फोर्दोमा ठ्याक्कै के भएको कसैलाई थाहा नभए पनि त्यहाँ गम्भीर र भारी क्षति पुगेको स्वीकार गरे ।

इरानको आणविक ऊर्जा निकायले क्षतिको मूल्यांकन गरिरहेको र सरकारलाई छिट्टै प्रतिवेदन बुझाउने उनले जानकारी दिए ।

अराक्चीले फोर्दोमा उल्लेख्य क्षति पुगेको स्वीकार गरे पनि अमेरिकी गुप्तचरहरूले सुनेको इरानीहरूको संवादमा अर्कै तथ्य देखिएको छ ।

द वाशिङटन पोस्टले दिएको खबरअनुसार, आन्तरिक संवादहरूमा इरानी अधिकारीहरूले क्षतिको मात्रालाई घटाएर प्रस्तुत गरिरहेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम पूर्णरूपमा ध्वस्त भएको दाबी गरेका छन् ।
उनका यी टिप्पणीका बावजूद अमेरिकी अधिकारीहरूले आक्रमणको असरको पूर्ण र सही मूल्यांकन गर्न समय लाग्ने बताएका छन् ।

इजरायल र इरानबीच युद्ध चलिरहेको बेलामा अमेरिकी सेनाले फोर्दो, नतान्ज र इसफाहानमा बम आक्रमण गरेको थियो ।

त्यसको जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि ट्रम्पले युद्धविरामको घोषणा गरेका थिए ।