
एजेन्सी । फोर्ब्स पत्रिकाले संसारका सबभन्दा धनाढ्य व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ ।
सन् २०२५ को पहिलो ६ महिनाको तथ्यांकलाई आधार बनाएर फोर्ब्सले जुलाई १ अर्थात् मंगलवार सूची प्रकाशित गरेको हो ।
सूचीमा इलोन मस्क पहिलो स्थानमा कायम छन् । मस्कसँग ४०६.५ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँगको झगडापछि मस्कले केही दिनयता १२ अर्ब डलर गुमाएको बताइएको छ ।
दोस्रो स्थानमा ल्यारी एलिसन छन् । उनी विशाल सफ्टवेयर कम्पनी ओराकलका सहसंस्थापक र अध्यक्ष हुन् । हालैका दिनमा ओराकलको स्टक मूल्य ३२ प्रतिशतले बढेपछि उनको सम्पत्ति २६२ अर्ब डलर पुगेको थियो । गत मे महिनामा उनी चौथो स्थानमा थिए ।
त्यसक्रममा उनले मेटाका मार्क जकरबर्ग र अमेजनका जेफ बेजोसलाई पछि पारेका हुन् । जकरबर्ग २५५ अर्ब डलर र बेजोस २३३ अर्ब डलरका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
पाँचौं स्थानमा गूगलका सहसंस्थापक ल्यारी पेज छन् । उनीसँग १४५.९ अर्ब डलर बराबरको सम्पत्ति छ ।
उनीपछि वारेन बफेट (१४५.६ अर्ब डलर), स्टिभ बाल्मर (१४१.२ अर्ब डलर), सर्गे ब्रिन (१३९.५ अर्ब डलर), बर्नार्ड अर्नाउ (१३८.४ अर्ब डलर) र जेनसेन ह्वाङ क्रमशः छैटौंदेखि १०औं स्थानमा छन् ।
यी शीर्ष १० अर्बपतिहरूसँग २० खर्बभन्दा बढी सम्पत्ति छ । जुन महिनामा नास्डाक र एसएन्डपीको स्टक बढेपछि उनीहरूको सम्पत्ति बढेको हो । अमेरिकाले संसारभरिका मुलुकमाथि आयातकर लगाएपछि बढेको तनाव क्रमशः घट्दै गएपछि अर्बपतिहरूको सम्पत्तिमा पनि वृद्धि भएको हो ।
फोर्ब्सले सन् १९८७ देखि संसारका अर्बपतिहरूको अभिलेख राख्न सुरु गरेको हो ।
सन् २०२५ को अप्रिलमा फोर्ब्सको सूचीमा ३ हजार ८ जना डलर अर्बपति थिए ।








प्रतिक्रिया