मस्कलाई अफ्रिकातिर लखेट्नुपर्ने ट्रम्पको भनाइ, कस्तो रह्यो मस्कको प्रतिक्रिया ?

1.5k
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र अर्बपति इलोन मस्कबीचको तिक्तता पुनः बढेको छ ।

रिपब्लिकन पार्टीले ल्याएको खर्च विधेयकको कटु आलोचना गरिरहेका मस्कलाई दक्षिण अफ्रिकातिर खेद्नुपर्ने भनी ट्रम्पले बयान दिएका छन् । साथै मस्कका कम्पनीहरूलाई सरकारी ठेक्का पनि दिन नहुने ट्रम्पको भनाइ छ ।

उक्त विधेयकलाई मंगलवार सिनेटले झिनो बहुमतले पारित गरेको थियो ।

ट्रम्पको भनाइ सार्वजनिक भएपछि मस्कले यस विषयलाई चर्काउन मज्जै आउने भए पनि अहिलेका लागि संयमित हुने बताए ।

संसारका सबभन्दा धनी व्यक्ति मस्कले सन् २०२४ मा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पमाथि व्यापक लगानी गरेका थिए । ट्रम्प निर्वाचित भएपछि केही महिनासम्म मस्क उनका घनिष्ठ मित्र बनेका थिए र सरकारी खर्चकटौती गराउने डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोज)को प्रमुख बनेका थिए ।

ट्रम्पले मरिहत्ते गरेको विधेयकले अमेरिकाको ऋण थप बढाउने भन्दै मस्कले विरोध गर्दै आएका छन् । सरकारमा हुँदा नै उनले विधेयकको विरोध गरिरहेकोमा डोज छोडेपछि विरोध चर्काएका थिए । उनले आफ्नो अपार सम्पत्ति ट्रम्पका विरुद्ध उपयोग गर्ने र नयाँ पार्टी खोल्नेसम्मका कुरा गरेका छन् ।

मस्कलाई अमेरिकाबाट निष्काशन गर्नुहुन्छ भनी मंगलवार ट्रम्पलाई पत्रकारहरूले प्रश्न सोधेका थिए । उनले यसमा विचार गरिने भनी प्रतिक्रिया दिए । मस्क सन् २००२ देखि अमेरिकी नागरिक हुन् ।

इलोनका विरुद्ध डोजलाई प्रयोग गर्ने समेत ट्रम्पले बताए । डोज त्यस्तो राक्षस हो जसले इलोनलाई नै खाइदिन सक्छ, ट्रम्पले टिप्पणी गरे ।

आफूसँग त्यस्तो खेल नखेल्न पनि ट्रम्पले मस्कलाई चेतावनी दिए ।

ट्रम्पले सोमवार पनि यस्तै किसिमका टिप्पणी गरेका थिए । ईभी उद्योगलाई सहयोग गर्ने कार्यक्रमहरू बन्द गरिएपछि रिसाएर मस्कले विधेयकलाई आक्रमण गरेको ट्रम्पको भनाइ छ ।

सरकारले छुट नदिने हो भने इलोनले पसल बन्द गरेर दक्षिण अफ्रिका फर्किनुपर्ने हुन सक्छ, ट्रम्पले ट्रुथ सोसल नेटवर्कमा लेखे ।