अमेरिकी सेनामा गुप्तचरी गर्न खोज्ने २ चिनियाँ पक्राउ


एजेन्सी । अमेरिकामा चीनका लागि गुप्तचरी गरेको आरोपमा दुईजना चिनियाँ व्यक्तिलाई पक्राउ गरिएको छ ।

रोयटर्स समाचार संस्थामा प्रकाशित समाचारअनुसार, ती व्यक्तिहरूले जलसेनाको अड्डामा फोटो खिचेको, सूचनादातालाई गोप्य रूपमा पैसा दिएको र अमेरिकी सेनाका सदस्यहरूलाई किन्न खोजेको आरोप छ ।

सान फ्रान्सिस्कोमा दायर गरिएको मुद्दाको विवरण मंगलवार सार्वजनिक गरिएको हो । चीन सरकारले अमेरिकाका सैन्य अड्डाहरूबाट सूचना प्राप्त गर्नका लागि निरन्तर प्रयास गरिरहेको आरोप अमेरिकाले लगाएको छ । त्यसलाई नियन्त्रण गर्नका लागि धमाधम अभियोजनहरू गरिँदैछन् ।

चीन सरकारले अमेरिकी सेनामा प्रवेश गरेर राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न लगातार प्रयास गरिरहेको तथ्यलाई यस घटनाले स्पष्ट पारेको दाबी अमेरिकी सरकारी महान्यायाधिवक्ता पाम बोन्डीले गरिन् ।

डिपार्टमेन्ट अफ जस्टिसले युआन्स चन र लिरेन लाइ नामक व्यक्तिहरूलाई पक्राउ गरेको हो । चनले सन् २०१५ मा अमेरिका पुगेर स्थायी आवासीय अनुमति पाएका थिए । लाइले सन् २०२५ मा टेक्सस पुगेर चीनको मिनिस्ट्री अफ स्टेट सिक्योरिटी (एमएसएस) को गुप्तचरी क्रियाकलापको सुपरिवेक्षण गरिरहेका थिए ।

विदेशी एजेन्टका रूपमा दर्ता नभइकन चिनियाँ सरकारका लागि गोप्य रूपमा काम गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

वाशिङटनस्थित चिनियाँ दूतावासका प्रवक्ता ल्यु पंग्युले यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए । अमेरिकाले चीनका विरुद्ध लगातार गुप्तचरी गर्दै आइरहेको भन्दै उनले चिनियाँ नागरिकमाथि लगाइएका आरोपहरू प्रमाणमा आधारित नरहेको बताए ।

यी आरोपहरूसँगै पेश गरिएको एफबीआईको कागजातमा उल्लेख गरिएअनुसार, लाईले चनलाई सन् २०२१ को मध्यतिर गुप्तचर बनाउन खोजेका थिए । उनीहरूले एमएसएसका लागि काम गरिरहेका एक व्यक्तिलाई १० हजार डलर दिलाएको पनि बताइएको छ ।

ती दुई गुप्तचरहरूले गरेका अन्य गतिविधिलाई पनि कागजातमा उल्लेख गरिएको छ । उनीहरूले वाशिङटन राज्यमा अमेरिकाको जलसैन्य अड्डाको र क्यालिफोर्नियामा रहेको जलसेना भर्ती केन्द्रको पनि तस्बिर खिचेका थिए ।
चनले ती तस्बिरहरू खिचेर चिनियाँ गुप्तचरहरूलाई बुझाएका थिए ।

दुई गुप्तचरहरूले अमेरिकी जलसेनामा भर्ती हुन खोजेका चिनियाँ मूलका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई चिनियाँ गुप्तचरहरूसँग काम गर्नका लागि फकाउन खोजेका थिए ।

चनले कतिपय नयाँ भर्ती भएका व्यक्तिको नाम, ठेगाना र उनीहरूको कार्यविवरणको जानकारी दिएका थिए ।

यसअघि सन् २०२३ को अगस्टमा दुईजना अमेरिकी जलसैन्य कर्मचारीहरूलाई संवेदनशील सैन्य जानकारी चीनलाई उपलब्ध गराएको आरोप लगाइएको थियो । उनीहरूले युद्ध अभ्यास, प्राविधिक विवरण र जलसैनिक तैनाथीका विवरणहरू चीन पठाएका थिए ।