
एजेन्सी । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले विकास सहायता यूएसएड कार्यक्रम आधिकारिक रूपमा अन्त्य भएको घोषणा गरेका छन् ।
मंगलवार विदेश मन्त्रालयको वेबसाइटमा उनले यसको घोषणा गरेका हुन् ।
विदेशमा खर्च गर्नका लागि यूएसएडले छुट्याएको सबै पैसा विदेश मन्त्रालय आफैंले व्यवस्थापन गर्ने रुबियोको भनाइ छ । जवाफदेहिता, रणनीति र चुस्तताका साथ उक्त रकम वितरण गरिने उनले बताए ।
रुबियोका अनुसार, सबै सरकारी कर्मचारीले देशको हितलाई अघि बढाउने कार्यक्रम बनाएर अमेरिकी नागरिकप्रतिको दायित्व वहन गर्नुपर्ने हुन्छ । ट्रम्प प्रशासनले हजारौं कार्यक्रमहरूको पूर्ण समीक्षा गर्दा यत्तिका वर्षमा ७१५ अर्ब डलर खर्च भएको पाइयो । यूएस एजेन्सी फर इन्टरनेशनल डिपलपमेन्ट यो मापदण्डमा खरो नउत्रिएको पाइयो ।
शीतयुद्धको अन्त्यपछि अमेरिकी जनताबाट उठाएको करले संसारभरि गैरसरकारी संस्था खोल्ने कामबाहेक यूएसएडले अरू खासै केही गर्न नसकेको पाइयो, रुबियो लेख्छन् । विकास लक्ष्यहरू प्रायः पूरा हुने गरेका छैनन् र अस्थिरता झनै बढेको छ । अमेरिकाविरोधी भावनामा पनि अभिवृद्धि भएको छ । अमेरिकाको उदारताबाट लाभ लिने मुलुकहरूले प्रायः त्यसको सकारात्मक प्रतिक्रिया नदिएको रुबियोको गुनासो छ ।
यूएसएडले अमेरिकी करदाताहरू भन्दा पनि संयुक्त राष्ट्रसंघ, बहुराष्ट्रिय गैरसरकारी संस्था र बृहत्तर विश्व समुदायप्रति उत्तरदायी भएको सोच राख्ने गरेको थियो । उसले आफ्ना कार्यक्रमहरूलाई परोपकारका रूपमा चित्रित गरेको छ जबकि यो अमेरिकाको राष्ट्रिय हितलाई अघि बढाउने कार्यक्रम हुनुपर्थ्यो, रुबियोले तर्क गरे ।
यसका कार्यक्रमहरूले अमेरिकाविरोधी गतिविधि र समूहहरूलाई प्रवर्धन गर्ने गरेको, समावेशिताका नाममा सेन्सरशिप गर्ने गरेको र कम्युनिस्ट चीन तथा अन्य भूराजनीतिक प्रतिस्पर्धीहरूसँग साँठगाँठ गरेको रुबियोले आरोप लगाए ।
अब त्यसको अन्त्य भएको र पहिलेका अपरिचित लोगोहरूको ठाउँमा अमेरिकी झण्डाहरू सहायता कार्यक्रममा स्पष्टसँग देखिने उनको भनाइ छ । सहायता प्राप्त गर्नेहरूले अपरिचित गैरसरकारी संस्थाबाट भन्दा पनि अमेरिकी जनताबाट लगानी भएको कुरा अब थाहा पाउनेछन्, उनले लेखे ।








प्रतिक्रिया