५० लाखको चिनी खाल्डोमा पुरियो


परासी । नवलपरासीमा ५० लाख बढीको चिनी खाल्डोमा पुरिएको छ।

महेशपुर भन्सार कार्यालयमा खान अयोग्य भन्दै चार वर्षअघि गोदाममा राखिएको चिनीलाई मंगलबार स्थानीय झरही खोलामा खाल्डो खनेर नष्ट गरिएको हो।

खाद्य आयात र निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाले बोराहरूमा लेबल र सिल उल्लेख नगरिएकाले उपभोग गर्न नमिलेका कारण लिलाम पनि गर्न नमिल्ने जनाएपछि उक्त चिनी गोदाममै थन्किएको थियो।

पटक–पटक आएका भन्सार कार्यालयका प्रमुखहरूले हटाउन वास्ता नगर्दा गोदामभरि झिँगा भन्किन थालेका थिए भने बगेको चिनीको रसले गोदाम नै बिग्रिन थालेको थियो। चिनीको रसले भन्सार वरिपरि नै दुर्गन्ध हुन थालेपछि स्थानीय झरही खोलानजिक खाल्डो खनेर पुरिएको महेशपुर भन्सार कार्यालयका नायब सुब्बा लेखनाथ भण्डारीले बताए।

नष्ट गरिएको चिनीमा ५० केजीका २ हजार बोरा छन्। स्थानीय बजारमा चिनी प्रति केजी ८५ देखि ९० रुपैयाँसम्म छ। त्यसअनुसार उक्त चिनीको बजार मूल्य ५३ लाख २९ हजार पर्न जान्छ। तर, ६२७ क्विन्टल चिनीको भन्सार मूल्य प्रति केजी ६४ का दरले कुल ४० लाख १२ हजार कायम गरेर नष्ट गरिएको नायब सुब्बा भण्डारीले बताए।

२०७८ असारमा पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानबाट उक्त चिनी बरामद गरिएको हो। लामो समयसम्म चिनीका कारण गोदाम खाली नहुँदा अन्य सामान राख्न समस्या भएका कारण प्रक्रिया पूरा गरेर नष्ट गरिएको भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बताए।

Skip This