
काठमाडौं । विभिन्न घटनामा परेर मृत्यु भएका ५ जनाको मृत शरीर बरामद भएको छ ।
जसअनुसार मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान ५ बजेको समयमा बागमती गाउँपालिका ९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबामाथि धारिलो हतियार खुर्पा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
डीएसपी अर्यालका अनुसार गम्भीर घाइते वाइबाको आज बिहान करिब ८ बजे उपचारका क्रममा बेतिनी स्वास्थ्य चौकीमै मृत घोषणा गरिएको थियो । उनको शव हेटौंडा अस्पताल पठाइएको छ ।
थापाले वाइबामाथि खुर्पा प्रहार गरेपछि कोही नजिक आए मार्ने धम्की दिएर गाउँमा आतंक फैलाएका थिए ।
घटनास्लथलमा खटिएका इलाका प्रहरी कार्यालयका फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक पावलसिंह लामाको टोलीले आरोपित थापालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको धनपालथानमा ५ वर्षीय बालिकाको मृत शरीर फेला परेको छ ।शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाकी ५ वर्षीय आत्तिका सरदारको शव फेला परेको हो ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि बलात्कारपछि हत्या भएजस्तो देखिन्छ । बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोटको डाम छ ।
बुबाआमासँग सुतेकी बालिका आज बिहान करिब ३ बजे राति बेपत्ता भएपछि बिहान करिब ५ बजे प्रहरीलाई खबर गरेका थिए ।
शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा अधारभूत विद्यालयको बाहिर खेतबारीमा बालिकाको शव फेला परेको थियो ।
शव भेटिएपछि अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख नारायण चिमरियाले जानकारी दिए । उनका अनुसार बालिकाको हत्याको अनुसन्धानका लागि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ ।
बलात्कार भएनभएको विषय पोष्टमार्टम रिपोर्टपछि खुल्ने उनले बताए ।
‘अहिले यसै भन्न सकिंदैन, अनुसन्धान भइरहेको छ’, उनले भने, ‘पोष्टमार्टम रिपोर्टपछि सबै विषय खुल्छ ।’ बालिकाको पोष्टमार्टमका लागि शव कोशी अस्पताल विराटनगर ल्याइएको छ ।
यस्तै विराटनगरमा बिहे घरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार राति १ बजे करेन्ट लागेर विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकका छिमेकी कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा साउण्ड सिस्टमका लागि जोडेको तारमा लड्दा शुक्रबार राति १ बजे अमितलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
त्यसैगरी सिराहामा एक युवकको शव फेला परेको छ ।
सिराहा जिल्लाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा स्थानीय रामसेवक महराका छोरा ४३ वर्षीय अजय महरा घाँटीमा गम्छा बेरिएर लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
आज बिहान आफ्नो घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए ।
आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
डीएसपी पासवानका अनुसार मृतकको घाँटीमा गम्छा बेरिएको छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
घटनास्थलको प्रकृति हेर्दा हत्या भएजस्तो देखिने र अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।
यस्तै गुल्मीको धुर्कोट गाउँपालिका–७ मा विद्युतीय पोलमा चढ्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मका प्रहरी नायब उपरीक्षक ९ डीएसपी ० गंगाबहादुर सारुले बताए ।
शनिबार बिहान हाइटेन्सन लाइनको फलामको पोलमा चढी निर्माण कार्य गर्दै गर्दा उनलाई अचानक करेन्ट लागेको थियो । गम्भीर अवस्थामा रहेका घिमिरेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो ।
तर, उपचारको क्रममा बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मर्भुङबाट प्रहरी सहायक निरीक्षक दीपक शाहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया