
विराटनगर । मृत्युलाई जीवनको अन्तिम सत्य भनिन्छ । सरकारी निकायले मृत्यु भएको भन्दै प्रमाणित गरेपछि कानूनी रुपमा त्यसलाई अकाट्य मानिन्छ । तर, सरकारी निकायले मृत्यु भएको भन्दै प्रमाणित गरेको व्याक्ति आफू जीवित रहेको प्रमाण देखाउँदै न्यायलयको ढोका ढकढक्याउँदै हिँडन बाध्य हुन्छ भने त्यसलाई के भन्ने ?
विराटनगरमा यसबेला त्यस्तै घटनाले चर्चा कमाएको छ । २०५८ सालमा मृत्यु भएको भन्दै सरकारी कार्यालयले प्रमाणित गरेको व्याक्ति यसबेला आफू जीवित रहेको प्रमाण देखाउँदै न्यायालयको ढोकामा उभिन पुगेका छन् ।
उनी हुन्, विराटनगर ११ निवासी प्रहरी निरीक्षकबाट सेवा निवृत्त ७० वर्षीय केदारबहादुर बस्नेत । उनी यसबेला आफू जीवित भएको प्रमाण देखाउँदै जिल्ला अदालत मोरङको ढोका ढकढक्याउँदै छन् । उनलाई आफ्नै दाजुले सम्पत्तिको र्याल चुहाउँदै जनप्रतिनिधिसँगको मिलेमतोमा २०५८ सालमा मृत्यु भएको घोषणा गर्दै वडा कार्यालयबाट सर्जमिन समेत गराइ सकेको पाइएपछि उनी अहिले आफू जिउँदै रहेको भन्दै उखुम गर्मीमा न्यायालयको ढोका ढकढक्याउँदै छन् ।
सम्पत्तिको लालचमा विराटनगर २ का वडाध्यक्ष कुमार पोखरेलसँगको मिलोमतोमा दाजुले आफ्नै भाइको मृत्यु भएको भन्दै सर्जमिन समेत गराई सकेको प्रमाण सार्वजनिक भएपछि केदार आफू जिउँदै भएको तथ्य देखाउँदै हिँड्न बाध्य भएका हुन् ।
विराटनगर ११ पिछरा स्थायी घर भएर हाल काठमाडौं बस्दै आएका केदारलाई आफ्नै दाजु भरत बहादुरको सक्रियतामा विराटनगर वडा नं. २ को कार्यालयले २०५८ सालमै मृत्यु भएको भन्दै सर्जमिन मुचुल्कामा २०७५ असोजमै सहिछाप गरिदिएको पाइएपछि यो प्रकरण बाहिर आएको हो ।
त्यो किर्तेमा वडाध्यक्ष पोखरेल सहित तत्कालीन वडा सचिव सूर्यबहादुर थापालगायत १० जना संलग्न रहेको पाइएको छ । यो किर्ते प्रकरण अहिले मृत्यु भएको भनिएका केदारकै कारण जिल्ला अदालत मोरङमा पुगेको छ ।
केदारले जिल्ला अदालतमा दिएको ‘जालसाज’ फिरादपत्रमा आफ्नै दाजु भरतबहादुर बस्नेतको योजनामा जग्गाको हकभोग एकलौटी गर्नका लागि वडासँगको मिलेमतोमा आफूलाई मरेको भनेर सिफारिस गरिएको उल्लेख गरेका छन् ।
प्रकरणमा भरतसहित पोखरेल, पूर्वसचिव थापा, विराटनगर–२ कै शान्ता पौडेल, भवानी प्रसाद सापकोटा, इन्द्रबहादुर परियार, सन्तोष कुमार महत, तीर्थराज मिश्र, दीपक प्रधान र मेनका बस्नेत (अधिकारी) संलग्न रहेको फिरादपत्र (निवेदन)मा उल्लेख छ ।
निवेदक बस्नेतका बुबा पहलमान बस्नेतका तीन श्रीमती –जेठी मायादेवी, माइली विष्णुकुमारी र कान्छी उमादेवी बस्नेत थिए । निवेदक बस्नेत कान्छी उमादेवीका जेठा छोरा हुन् । प्रतिवादी उनका दाजु भरत, पहलमानकी माइली पत्नी विष्णुकुमारीका जेठा छोरा हुन् । विष्णुकुमारी तर्फकै अर्का छोरा नवराज हुन् । जेठी पत्नी मायादेवी तर्फबाट भने चार जना छोरी – हर्कमाया, डम्बर कुमारी, भगवती र कुसुम थिए । कान्छी उमादेवी पट्टिका भने केदार र पर्शुराम बस्नेत छोरा हुन् । पर्शुरामको २०६८ साल फागुन १३ गते मृत्यु भयो ।
जेठी मायादेवीलाई भने उनकै विवाहित साइली छोरी भगवतीले लालन, पालन, रेखदेख गर्दै आएकी थिइन् । मायादेवीको २०४५ भदौ १५ गते मृत्यु भयो । उनको काजकिरिया पनि उनै भगवतीले गरेको निवेदक बस्नेतले फिरादमा उल्लेख गरेका छन् । निवेदक केदार बस्नेत नेपाल प्रहरीको निरीक्षकबाट २०६४ सालमा सेवा निवृत्त भएका थिए ।
जेठी मायादेवीका नाममा सुनसरीको हाँसपोसा गाविस–८ (ग) को कित्ता नम्बर १५६ को तीन कठ्ठा २ धुर र कित्ता नम्बर १५७ को ६ धुर गरी ३ कठ्ठा ८ धुर जग्गा थियो । सोही जग्गा एकलौटी खानकै लागि भरतबहादुर बस्नेतले केदारलाई मृत्यु भएको भनेर सर्जमिन गराएको उजुरीमा उल्लेख गरिएको छ ।
‘मेरो भाइ पर्शुराम बस्नेतको २०६७/८/१३ मा परलोक भएकोमा निजको समेत मिति २०५८/८/१४ मा नै मृत्यु भइसकेको भनी सर्जमिन गरेर जग्गा आफ्नो नाममा ल्याएर अर्कैलाई बेचिसकेपछि मैले थाहा पाएँ,’ केदारले भने, ‘मेरो आमाको नाम पनि उमादेवीको सट्टा ज्ञानकुमारी भनेर झुटो विवरण उल्लेख गरेको पाइएपछि न्यायका लागि अदालत पुगेको हुँ ।’
महानगरपालिकाको २ नम्बर वडा कार्यालयले २०७५ असोज १७ गते त्यस्तो व्यहोरा भएको सर्जमिन मुचुल्का गरेको पाइएको छ । ‘वडाध्यक्ष कुमार र तत्कालीन वडा सचिव (हाल सेवा निवृत्त) सूर्यबहादुर थापासमेतले मलाई मृत घोषणा गरेर अन्य विपक्षीहरूलाई रोहबरमा राखी सर्जमिन मुचुल्का गराएको, सोही जालसाजी सर्जमिन मुचुल्काको आधारमा सिफारिस गरी गराई, सोही सिफारिसको आधारमा जेठी आमा मायादेवी बस्नेतका नामका जग्गा भरतबहादुर बस्नेतका नाममा नामसारी दाखिला गर्ने जालसाजपूर्ण कार्य गरिएको रहेछ,’ फिरादपत्रमा केदारले उल्लेख गरेका छन्, ‘म फिरादी केदारलाई मृत्यु भइसकेको भनी मिति २०७५ असोज १७ मा सिफारिस गर्दा सिफारिस व्यहोरा अनुसार कान्छी आमाबाट जन्मेका छोराहरू केदार र पर्शुरामको मिति २०५८/८/१४ गते मृत्यु भएको भन्ने व्यहोरा उल्लेख छ ।’
आफ्नो भाइ पर्शुरामको पनि २०६७ मंसिर १३ गते मृत्यु भएको विषयलाई समेत २०५८ मंसिर १४ गते उल्लेख गरिएको केदारले उल्लेख गरेका छन् ।
सर्जमिन मुचुल्का पछि वडा कार्यालयले २०७५ असोज १९ गते नै मालपोत कार्यालय सुनसरी, इनरुवालाई सिफारिस गरेको थियो । उक्त घटना आफूले २०८२ जेठ ११ गते मात्र थाहा पाएको केदारले बताएका छन् । उनले विपक्षीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७९ को उपदफा (३) बमोजिम हदैसम्मको कैद र जरिवाना दुवै सजायको माग गरेका छन् ।
भरतबहादुरले भने ‘२०७५ असोज ११ गते वडा कार्यालयमा सर्जमिन सिफारिस गरिपाउँ भन्ने निवेदन पेश गरेका थिएँ । उक्त निवेदनमा पनि केदार र पर्शुराम बस्नेतको मृत्यु भइसकेको उल्लेख गरिएको छ ।’
निवेदनमा उनले केदार र पर्शुरामको मृत्यु भइसकेको र अंश लिई छुट्टी सकेको दाबी गरेका छन् । त्यही निवेदनका आधारमा वडा कार्यालयले २०७५ असोज १७ गते सर्जमिन गरिदिएको हो । जसमा वडासचिव थापा र वडाध्यक्ष पोखरेलले असोज १९ गते रोहबरमा हस्ताक्षर गरेका छन् ।












प्रतिक्रिया