युद्धविराम उल्लंघन गरेको भन्दै इजरायल र इरान दुवैसँग रिसाए ट्रम्प

1.6k
Shares


अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प इजरायल र इरान दुवैसँग रिसाएका छन् ।

आफूले मंगलवार घोषणा गरेको युद्धविरामलाई दुवैले उल्लंघन गरेको भन्दै ट्रम्प रिसाएका हुन् ।

युद्धविरामको उल्लंघन हुने गरी इरानले उत्तरी इजरायलमा आक्रमण गरेको आरोप इजरायली सेनाले लगाएको छ । त्यसपछि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानविरुद्ध आक्रमणको आदेश दिएको थियो ।

इरानमाथि आक्रमणको आदेश दिएकोमा ट्रम्प बढी रुष्ट देखिए ।

नेदरल्यान्ड्सको द हेगमा हुन लागेको नेटो शिखर सम्मेलनमा सहभागी हुनका लागि जाँदै गर्दा ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘इजरायल । यी बमहरू नखसाऊ । खसायौ भने त्यो ठूलो उल्लंघन हुनेछ । आफ्ना विमानचालकहरूलाई अहिल्यै फिर्ता बोलाऊ ।’

नेटो सम्मेलनमा भाग लिनका लागि विमान चढ्दै गर्दा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इजरायली कदमप्रति असन्तुष्टि व्यक्त गरे । ‘इजरायल अब शान्त हुनुपर्छ । हामीले सम्झौता गरेलगत्तै उनीहरूले इरानमाथि बम खसाए । त्यति ठूलो बम हामीले पहिले देखेका थिएनौं ।’

इरान र इजरायलले लामो समयदेखि कडा युद्ध गरिरहेको र उनीहरू दुवैलाई के गरिरहेको छु भन्ने कुरा थाहा नभएको टिप्पणी पनि ट्रम्पले गरे ।

इजरायलले युद्धविराम उल्लंघनको आरोप लगाएको भए पनि इरानले त्यसलाई अस्वीकार गरेको छ । बरू उल्टो इजरायलले युद्धविराम सुरु भएको डेढ घन्टासम्म आक्रमण गरेको आरोप इरानले लगायो ।