प्रहरीसमक्ष उपस्थित हुन दिलभूषण पाठकलाई साइबर ब्युरोको पत्र


काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन सूचना जारी गरेको छ । ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालका अनुसार मंगलबार पाठकलाई स्वयं उपस्थित हुन अनुरोध गर्दै सूचना पठाइएको हो ।

यसअघि नै पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर भएको भन्दै पक्राउ पुर्जी जारी भइसकेको थियो । पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरको लगानी रहेको भन्दै काठमाडौंको पाँचतारे होटल हिल्टनसम्बन्धी भिडियो रिपोर्ट बनाएका थिए । यही विषयलाई लिएर देउवा परिवारले साइबर ब्युरोमा उजुरी दिएको थियो ।

तर, सोमबार उच्च अदालत पाटनले पाठकलाई ‘कानुनबमोजिम बाहेक’ पक्राउ नगर्न प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश ऋषि राज भण्डारीको एकल इजलासले पाठकका तर्फबाट दायर निषेधात्मक आदेशको निवेदनमा सुनुवाइ गर्दै असार ५ गते (बिहीबार) छलफलको लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सन्दर्भमा विचार गर्दा दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैको कुरा सुनी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्न उपयुक्त देखिएकोले, असार ५ गतेसम्म निवेदनको गम्भीरतालाई विचार गरी निवेदक दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) अनुसार अल्पकालीन अन्तरिम आदेश जारी गरिन्छ। आदेशको जानकारी छिटो माध्यमद्वारा विपक्षीहरूलाई दिनुहोला ।’

साथै, अदालतले पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी किन खारेज गर्न नपर्ने हो भन्नेबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । त्यसका लागि अदालतले १५ दिनको म्याद दिएको छ । आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने हो ? यदि कुनै कारण वा प्रमाण छन् भने त्यसलाई १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत लिखित जवाफसहित पेश गर्नू ।’

Skip This