
विराटनगर । इजरायलको कृषि कर्म र सहकारी अभ्यासबारे अवलोकन भ्रमणका लागि नौ दिन अगाडि त्यहाँ पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला जोर्डन हुँदै नेपाल फर्किने भएका छन् । इजरायल–इरान युद्धका कारण पाँच दिन बंकरमा बस्न बाध्य भएका उनी इजरायलको छिमेकी मुलुक हुँदै नेपाल फर्कन लागेको बताएका छन् ।
इजरायलको राजधानीबाट ३० किलोमिटर टाढाको सेफाइम भन्ने शहरमा पुगेका कोइरालाले युद्धका कारण पाँच दिनमा ३० पटकसम्म बंकरमा पस्दै निस्कँदै गरेको अनुभव सार्वजनिक गरेका छन् । जेठ २६ गते इजरायल पुगेका कोइराला असार ६ गते फर्कने कार्यक्रम थियो । मंगलबार कोइराला इजरायका लागि नेपाली राजदुत धनप्रसाद पण्डितको सहयोगमा इजरायलको छिमेकी मुलुक जोर्डन पुगेको कोइरालाका सञ्चार संयोजक मिनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोइराला जोर्डन हुँदै बिहीबार नेपाल फर्कने तयारीमा रहेका छन् ।
यसअघि उनले पाँच दिनसम्म बंकरमा बस्दै र निस्कँदै गरेर विताएको उल्लेख गर्दै यसैगरी नेपाल फर्कन पाउने दिनको प्रतिक्षामा आफु रहेको प्रतिक्रिया दिएका थिए । इजरायलका हरेक ठाउँमा ३–३ दिन बस्ने घुम्ने र अन्तरक्रियामा सहभागी हुने कोइरालाको कार्यक्रम थियो । युद्धका कारण उनका सबै कार्यक्रम रद्द भएका छन ।
‘सेफाइमको कार्यक्रम सकिए लगत्तै इजरायल र इरानबीच युद्ध सुरु भयो । लगत्तै देशैभरी आपतकाल लागू भयो,’ कोइरालाले भनेका छन, ‘सेफाइममै सबै अतिथि बसेका छन ।’ कोइरालाको टिममा फिलिपिन्सका दुई सांसद र पालिका प्रमुख उपप्रमुख सहित १७ जना थिए ।
‘इजरायलको आकाशमा यसबेला बिजुली चम्के झैं सबै उज्यालो पार्दै मिसाइल घुमिरहन्छन् । विराटनगरमा तिहार र छठमा पटका पड्केको अनि फिल्ममा बम पडकेको सुनेको देखेको थियो । यहाँ बमको आवाज सामान्य लाग्न थालेको छ,’ उनको अनुभव छ ।
‘इरानले इजरायलतर्फ हतियार प्रहार गर्ने वित्तिकै सहर नै थर्काउँदै साइरन बज्छ । मोबाइलमा पनि सन्देश आउछ,’ कोइरालाले भनेका छन्, ‘जस्तो सुकै गहिरो निन्द्रामा रहेका मानिस पनि त्यो साइरनको आवाजले ब्यूझिन बाध्य हुँदो रहेछ ।’
साइरन बजेको डेढ मिनेट भित्रमा सबै बंकर भित्र पसिसक्नु पर्ने उनको अनुभव छ । ‘बंकरमा पसेको १५–२० मिनेटमा मोबाइलमा फेरी बाहिर निस्कने सन्देश आउँदो रहेछ,’ उनले भनेका छन्, ‘पछिल्लो १२ घण्टामा ४ पटक बंकरमा छिरें । सुरु सुरुमा आफु बंकरमा पसेको गन्ती गर्दै थिएँ । तर पछिल्लो पटक दिक्क लागेर गन्नै छाडें ।’
कोइरालाको अनुभवमा युद्धग्रस्त क्षेत्रमा बंकर सुरक्षीत मानिँदो रहेछ । बंकरमा खाने बस्ने र सुत्ने सबै व्यवस्थित हुँदो रहेछ । बंकर छिरेको १५–२० मिनेटपछि सन्देश आएपछि नर्मल लाइफ हुँदो रहेछ । उनका अनुसार एउटा बंकरमा २५ देखि ५० जना सम्म बस्दा रहेछन । बंकर छिरेपछि पूर्ण सुरक्षित भइएको अनुभव हुँदो रहेछ ।
इजरायलको आकाशमा एकै पटक सयभन्दा बढी मिसाइल आएपछि आकाशमा निस्तेज पारिँदा एकाधमात्र जमिनमा झर्ने गरेको कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया