घाइतेलाई पेनकिलर मात्र चलाउने डाक्टर र अस्पताललाई करिब ५७ लाख तिराउन उपभोक्ता अदालतको आदेश

1.1k
Shares

काठमाडौं । उपभोक्ता अदालतले उपचारमा गम्भीर लापरवाही गरेको भन्दै चावहिलस्थित ओम अस्पतालबाट ५६ लाख ८१ हजार रुपैयाँबराबरको क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।

उक्त अस्पतालले हरिहरप्रसाद गौतमको उपचारमा गम्भीर लापरवाही गरेको ठहर गर्दै उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मासहित सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पतालसहित उपचारमा संलग्न दुई चिकित्सकबाट समेत गरी ५६ लाख ८१ हजार रुपैयाँबराबरको क्षतिपूर्ति भराउने आदेश जारी गरेको छ ।

उपभोक्ता अदालतका स्रेस्तेदार शोभाकर खरेलका अनुसार उपभोक्ता अदालतले लापरवाहीका कारण भएको कुल क्षतिको ८० प्रतिशत अस्पतालबाट तथा २० प्रतिशत चिकित्सकबाट भराउने आदेश गरेको हो।

ओम अस्पतालबाट ५० लाख र दुई डाक्टरबाट जनही ३ लाख ४० हजार पाँच सयको दरले ५६ लाख ८१ हजार रुपैयाँबराबरको क्षतिपूर्ति भराउने आदेश उपभोक्ता अदालतले गरेको हो ।

हरिहर गौतमको उपचारमा ओम अस्पतालले गम्भिर त्रुटी गरेको भन्दै उनका छोरा बसन्त गौतमले उक्त अस्पताल विरुद्ध मुद्दा दायर गरेका थिए । बसन्त गौतमले उपचारमा लापरवाही गरिएका कारण आफ्नो बुबाको मृत्यु भएको भन्दै अस्पतालबिरुद्ध ५ करोडको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए ।

यसरी भएको थियो घटना

९८ वर्षीय हरिहरप्रसाद गौतम २०८१ माघ ५ गते बाथरुममा जाने क्रममा लडेर खुट्टा टेक्न नसक्ने गरी बिरामी भएका थिए । बाथरुमबाट उठाएर उनलाई ओछ्यानमा राखेपछि उनी ओछ्यानबाट तल लडेका थिए । पुनः लडेपछि उपचारका लागि उनलाई चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार डा सायुज्यराज घिमिरे र डा. सरोजकुमार गोहिबारले गरेका थिए ।

अस्पतालमा एक्सरे गरिए पनि खासै केहि नभएको भन्दै ति चिकित्सको टोलीले गौतमलाई डयनापार ७५ एमजीको दुखाई कम हुने इन्जेक्सन दिएको थियो । यस्तै इकोक्स ७० एमजी तीन दिनको लागि, पान्टोसीड ४० एमजीको ७ दिन, म्योस्पल औषधी ५ दिन सेवन गर्न भनेर लेखेर खुट्टा टेक्न नसकेको अवस्थामा गौतमलाई अस्पतालबाट डिस्चार्ज गरेका थिए ।

ति चिकित्सकले आवश्यक परेको अवस्थामा अर्थोपेडिक विभागमा सल्लाह लिन सकिने भन्दै सुझाव दिएर गौतमलाई डिस्चार्ज गरेको थियो ।

घर पुगेका गौतम औषधी सेवन गरेको ४ दिनपछि पनि दुखाई कम नभएपछि उपचारको लागि उनलाई ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्स अस्पतालका चिकित्सक सन्दिप भण्डारीले गौतमको एक्सरे गर्दा उनको एस्टावोलम फ्राक्चर भएको जानकारी दिएका थिए । चिकित्सकले उनको खुट्टाको सीटी स्क्यान गरी उपचार गर्नुपर्ने सुझाव दिएको थियो ।

सीटी स्क्यान गरेर हेर्दा पहिलो दिनमा लागेको चोट (माइनर फ्राक्चर) बढ्दै गएर फेमोरल हेड र एस्टावोलम स सानो टुक्रा भएर गम्भीर क्षति पुगेको पाइएको थियो ।

ओम अस्पतालको लापरवाहीका कारण उपचार गराउन ढिलाई हुँदा अपरेशन गर्नुपर्ने बाध्यता आएको थियो । बृद्ध अवस्थाका कारण गौतमको अपरेशन गर्दा निमोनियालगायतका अन्य प्रकारका स्वास्थ्य सम्बन्धी समस्या आउन सक्ने र ज्यानसमेत जान सक्ने बिषय ह्याम्सका चिकित्सकले सुझाव दिएका थिए ।

यो सुझावपछि गौतमका आफन्तले बैकल्पिक उपचार स्केलटल ट्राक्सन विधि अपनाइएको थियो । केहि दिन उपचारपछि घरमै राखेर मेडिकल प्रणाली जडान गरेर थप उपचार भइरहेको अवस्थामा उनको फागुन ३ गते निधन भएको थियो ।

चोट लागेपछि उपचारको लागि तत्कालै ओम अस्पतालमा भर्ना गरिए पनि त्यसलाई सामान्य रुपमा लिएर गहन रुपमा उपचार नगरेको कारण गौतमको निधन भएको भन्दै उनका छोरा बसन्त गौतमले उक्त अस्पतालविरुद्ध क्षतिपूर्तिको मागसहित उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ४१ को १ अनुसार २०८१ चैत ३ गते उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए ।