
काठमाडौं । कोसेलीसहित अन्य ४ वटा ब्रान्डमा चामल बेच्ने ओम श्री शान्ति फुड प्रोडक्ट एण्ड सप्लायर्स प्रालिले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सवा १ अर्बको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा १ अर्ब ३२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले ९ महिनाको अवधिमा १.१० प्रतिशतले खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२४ मा ७.८३ प्रतिशतले नााफा कमाएको थियो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ४० करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ८८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१८ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी सिल्भर हिल, कोसेली, सदाबहार, क्रान्ति र थकाली ब्रान्डमा चामल बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले चारवटा ब्रान्ड दर्ता गरेको छ । कम्पनीअनुसार अंश, ओएसपी मेहेन्दी, तुलसी, र आस्ति नाम गरी चार वटा ब्रान्ड दर्ता छन् । कम्पनीले अंश र आस्ति ब्रान्डको चामल उत्पादन र बजारीकरण गर्दै आएको छ ।
प्रतिघण्टा २२ मेट्रिक चामल उत्पादन क्षमता भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४३ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५६ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले चामल उत्पादन गर्न आवश्यक कच्चा पदार्थ अर्थात् धान आन्तरिक तथा भारतबाट आयात गर्ने गरेको जनाएको छ । कम्पनीको अध्यक्ष मनोजकुमार साह हुन् । उनीसँग २५ वर्षको व्यापारिक कार्य अनुभव छ ।
प्रतिक्रिया