
विराटनगर । पूर्वी नेपालको सीमावर्ती क्षेत्र झापाको बाहुनडाँगीबाट वर्षौं पहिला सुरू भएको मानव र हात्तीबीचको द्वन्द्व अब नयाँ विषय रहेन ।
मानव–वन्यजन्तु द्वन्द्वको जटिल रूप बन्दै गएको यो समस्या रोकिनुको साटो हरेक साल बढ्दो छ ।
झापाको बाहुनडाँगीबाट सुरू भएको यो द्वन्द्व झापा हुँदै मोरङ, सुनसरी, उदयपुर र इलामका सीमावर्ती तथा वन क्षेत्रसँग जोडिएका बस्तीहरूमा वर्षौंअघि पुगिसकेको छ।
यही द्वन्द्वका कारण झण्डै सवा सय जनाको ज्यान समेत गइसकेको छ ।
झण्डै तीन दशकअघि देखि सुरू भएको यो समस्या अहिले मानव–वन्यजन्तु द्वन्द्वको जटिल रूप बन्दै गएको छ ।
प्रत्येक वर्ष हात्तीको आक्रमणबाट मानिसको ज्यान जाने, हात्ती मारिने, घर भत्किने, अन्नबाली नष्ट हुने र करोडौं रुपैयाँ बराबरको क्षति हुने क्रम रोकिएको छैन ।
यस अवधिमा हात्ती आतंक नियन्त्रणका लागि राज्य, स्थानीय तह, प्रदेश सरकार र नागरिक समूहले गरेका अनेकन उपाय निष्प्रभावी बनिसकेका छन् ।
यो द्वन्द्व रोक्न सरकार, स्थानीय निकाय र स्थानीयवासीले प्रयोगमा ल्याएका विद्युतीय तारको घेराबारा, पुल्ठो, पटका, माहुरी, खुर्सानी र बिजुलीका झड्का सबै विकल्पलाई हात्तीले पचाइसकेका छन् ।
झापाको साविक बाहुनडाँगी हात्ती–मानव द्वन्द्वको उद्गम क्षेत्र मानिन्छ । अहिले त्यही बाहुनडाँगी मेचीनगर नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ मा परिणत छ ।
यहाँबाट सल्किएको हात्ती आतंक मोरङ, सुनसरी, उदयपुर र इलामको वनजंगल क्षेत्रका बस्तीहरूमा फैलिसकेको छ ।
पूर्वी नेपालको हात्ती आतंकको इतिहास झापाको साविक बाहुनडाँगीसँग जोडिन्छ ।
भारतको पश्चिम बंगालस्थित महानन्दा र बैकुण्ठपुर क्षेत्रका जंगलबाट आउने जंगली हात्तीहरू दशकौँदेखि मेची नदी पार गरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्दै आएका छन् ।
पहिले उनीहरू प्राकृतिक जंगल हुँदै सहज रूपमा आवतजावत गर्थे। तर वन फँडानी, कृषि विस्तार, चिया बगान, सडक र मानव बस्ती विस्तारसँगै ती मार्गहरू साँघुरिँदै गएपछि हात्तीको मार्ग मानव बस्ती बनेको विज्ञहरूको बुझाइ छ।
अध्ययनहरूले भारतबाट हरेक वर्ष ५०–६० वटासम्म जंगली हात्तीको हुल मौसमी रूपमा नेपाल प्रवेश गर्ने र पूर्वी नेपालको चारकोसे र कोसी टप्पुको जंगलमा स्थानीय हात्तीसँग घुलमिल गरेर केही मात्रामा यतै स्थायी रूपमा बस्ने गरेको उल्लेख गरेका छन्।
विगतमा भारतको पश्चिम बंगालबाट आएका जंगली हात्ती केही समयपछि फर्कन्थे । पछिल्लो समय यतै बस्ने गरेकाले हात्ती आतंक बढेको हो ।
यो पीडा झापाको बाहुनडाँगीको मात्र नभएर झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरको साझा समस्या बनेको छ ।
झापाको बाहुनडाँगीका साथै बुद्धशान्तिको माथिल्लो भेग, अर्जुनधाराको चुरे क्षेत्र हुँदै दमकको उपल्लो क्षेत्रबाट मोरङको मिक्लाजुङ, लेटाङ, कानेपोखरी, बेलबारी, सुन्दरहरैँचा, सुनसरीको इटहरी, बराहक्षेत्र र कोसी टप्पु क्षेत्र हुँदै उदयपुरसम्म नै हात्तीको बिझ्याइँ र पीडा फैलिएको छ।
झापाको बाहुनडाँगी पछि विशेष गरी कोसी टप्पु वन्यजन्तु आरक्ष आसपासका क्षेत्र, हरिनगर, प्रकाशपुर, कुशाहा तथा मोरङका मिक्लाजुङ, केराबारी, बेलबारी लगायतका क्षेत्रमा हात्ती नियमित रूपमा देखिने गरेका छन् ।
हात्ती र मानव द्वन्द्व चर्किएको झण्डै तीन दशक बित्यो। त्यो अवधिमा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरमा गरेर ११७ जनाको ज्यान गइसकेको सम्बन्धित जिल्लाका सब–डिभिजन वन कार्यालयहरूको तथ्यांक छ। त्यस्तै यो अवधिमा ४१ हात्ती पनि मारिएको तथ्यांक छ ।
तथ्यांकअनुसार २०६२/६३ देखि पछिल्ला वर्षसम्म कोसी प्रदेशमा मानव–हात्ती द्वन्द्वका क्रममा झापामा मात्रै ७६ जना, मोरङमा २१, सुनसरीमा १३ र इलाममा ७ जनाको मृत्यु भएको तथ्यांक छ। त्यस क्रममा ८७ जना गम्भीर घाइते भएका छन्। यो अवधिमा सयौँ घर हात्तीले भत्काएको छ भने बाली र अन्य क्षतिको लेखाजोखा छैन ।
झापाको निर्वाचन क्षेत्र नं १ मा पर्ने हात्ती–मानव द्वन्द्वको उद्गम क्षेत्रमा विगतका स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पनि हात्ती नियन्त्रणको बाचा मुख्य चुनावी मुद्दा बन्दै आएका छन् ।
पछिल्लो दुई दशकको मात्र कुरा कोट्याउँदा २०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन माओवादीका धर्म घिमिरेले हात्ती नियन्त्रण गर्ने मुख्य चुनावी मुद्दा बनाए।
चुनाव जितेर सांसद बने तर हात्ती आउन छाडेनन् । घिमिरेपछि एमालेका रबिन कोइराला सांसद बने, उनले पनि घिमिरेले झैँ बाचा गरे ।
नियन्त्रणको प्रयत्न पनि गरिहेरे तर हात्ती नियन्त्रण कहिल्यै भएन । कोइरालापछि माओवादी नेता राम कार्कीले पनि त्यही मुद्दा बोकेर संसद् भवन छिरे । उनको बाचा पनि निम्छरो बन्यो ।
अघिल्लो पटक अहिलेका कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पनि पहिलाका उम्मेदवारहरू झैँ हात्ती नियन्त्रण गर्ने चुनावी मुद्दा बोके। चुनाव जितेर संसद् पुगे, विद्युतीय तारबार निर्माण र मर्मतलगायतका काम पनि गरे तर हात्ती आउने र बिझ्याइँ गर्ने क्रम रोकिएन ।
पूर्वको मेची नदी किनारबाट सुरू भएको हात्ती र मानवबीचको द्वन्द्व यस बेला कोसी नदी पश्चिम उदयपुरसम्म पुगेको छ । यही द्वन्द्वका कारण यस बेला पूर्वका प्रत्येक सञ्चार माध्यम र सामाजिक सञ्जालका लागि हरेक दिन समाचारको खुराक बन्दै आएको छ– हात्तीको आक्रमणबाट मानवको मृत्यु, घाइते वा लाखौँको धनमाल क्षति आदि ।
साँझ परेपछि पूर्वी सीमावर्ती ग्रामीण क्षेत्र बाहुनडाँगीमा सधैँ हात्तीको हुल मेची तरेर आउन थाल्छ। स्थानीयले हात्तीको हुलसँग पौँठेजोरी खेल्न थालेको वर्षौं भइसक्यो । मान्छे र हात्तीबीचको ‘लडाइँ’ वर्षौंदेखि जारी छ । यो लडाइँ न मान्छेले जितेको छ न त हात्तीले। यतिबेला स्थानीयहरू मानव–हात्ती सहअस्तित्वको खोजीमा छन् ।
वन तथा वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत विज्ञहरूका अनुसार हात्ती स्वभावतः मानव बस्तीमा बस्न चाहने जनावर होइन । तर प्राकृतिक बासस्थान खुम्चिँदै जानु, वन क्षेत्रमा मानव बस्ती बाक्लिनु र पुस्तौँदेखि प्रयोग हुँदै आएका आवागमन मार्ग बन्द हुनुका कारण हात्ती मानव बस्तीमा प्रवेश गर्न बाध्य भएका छन् । यही कारण अहिले झापा, मोरङ, सुनसरी हुँदै उदयपुरसम्म हात्ती–मानव द्वन्द्व फैलिएको छ । अनुसन्धानले नेपाल–भारत सीमा क्षेत्रमा रहेका परम्परागत हात्ती कोरिडोर अवरुद्ध हुँदा समस्या झन् जटिल बनेको छ ।
मेचीनगर–४ बाहुनडाँगीका कमल राईले हात्तीसँग पौँठेजोरी खेलेको ५० वर्षभन्दा धेरै भयो। ‘सानै छँदादेखि यहाँ हात्ती आउँथ्यो । पुल्ठो बालेर हात्तीलाई लखेटिन्थ्यो,’ राईले आफ्नो विगत सम्झँदै भने, ‘अहिले पनि हात्तीको पीडा दैनिक व्यहोरिरहेको छु। पहिला पुल्ठो बाल्दा हच्किने हात्ती अहिले विद्युतीय तारबारबाट पनि डराउँदैनन्।’ हात्तीले पुल्ठो, पटका, माहुरी, खुर्सानी र बिजुलीको झड्का सबै पचाइसक्यो। उनको गुनासो छ– केही गरेर हात्तीको बिझ्याइँ रोक्न सक्ने अवस्था भएन ।
हात्ती विशेषज्ञ तथा वन विभागका अधिकारीहरूका अनुसार खास गरी बाहुनडाँगी क्षेत्र विगतमा हात्ती ‘कोरिडोर’ थियो । जब मानव बस्ती बस्यो, तब कोरिडोर मासिँदै गयो । ‘यहाँ वर्षौँदेखि हात्ती हिँड्दै आएको छ,’ हात्ती विशेषज्ञ डा. नरेन्द्र प्रधानको बुझाइ थियो, ‘वर्षौँदेखि हिँड्दै आएको बाटोमा हात्ती हिँड्दा अहिले मान्छेसँग द्वन्द्व भएको हो ।’ उनका अनुसार विगतमा यहाँ घरहरू धेरै थिएनन् । त्यस कारण हात्तीको पीडा त्यति ठुलो थिएन । तर अहिले बस्ती बढेपछि हात्ती आतंक पनि बढेको हो।
२०५० सालयता हात्ती आतंक चुलिएको हो । त्यसअघि पनि फाट्टफुट्ट हात्ती आउँथ्यो। क्षति ज्यादै न्यून थियो । हात्ती आफ्नै बाटो आएर फर्किन्थ्यो, क्षति खासै गर्दैनथ्यो।
विज्ञहरूका अनुसार हात्तीलाई जब बिच्क्याउन थालियो तब क्षति बढ्न थालेको हो । विज्ञ प्रधानको भनाइलाई आधार मान्ने हो भने हात्तीलाई बिच्क्याउनु, जिस्क्याउनु नै हात्ती आतंक अहिले घातक बन्दै गएको पक्का हो ।
हात्ती बिच्किएर र साविकको मार्ग नपाउँदा मोरङको मिक्लाजुङको करिब नौ किलोमिटर पहाडी क्षेत्रमा समेत दुई वर्ष पहिला हात्तीको एक हुल पुगेर पहाडवासीलाई समेत आतंकित बनाएको थियो ।
पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा वर्षौँदेखि बिझ्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिनु अनौठो मानिएको थियो ।
मोरङको मिक्लाजुङ–२ र इलामको सीमा क्षेत्र कुइनेटार चुरे पहाड हुँदै झण्डै एक दर्जन जंगली हात्तीको हुल कुइनेटारदेखि नौ किलोमिटर माथि इलामको गौथली भीरको फेदीसम्म पुग्दा स्थानीय चकित र आतंकित बनेका थिए ।
‘पहाडमा हात्ती नै देखिँदैन थियो। लामा–लामा दाह्रा भएका नौ वटा हात्ती गाउँमा एकसाथ देखापरेपछि हाम्रो त सात्तो उड्यो,’ गौथली भीरचोकका केबी किरातीले भने, ‘पहाडको भीरमा हात्ती देख्दा हामीलाई त अचम्म लाग्यो ।’
अर्का स्थानीय राम दाहालका अनुसार हात्तीको हुल देख्दा केही स्थानीयको भागदौड समेत चलेको थियो ।
तराईमा बक्राहा र पहाडमा नुनसरी खोला भनिने उक्त खोलाको बगरैबगर उकालो चढेर नौ वटा जंगली हात्तीको हुल मोरङ र इलामको सीमा क्षेत्र पर्यटकीय स्थल कुइनेटार चुरे पहाड पुगेका थिए ।
स्थानीय किशोर निरौलाका अनुसार हात्तीको समूह नौ किलोमिटर माथि मोरङ र इलामको सीमा क्षेत्र गौथली भीरमा पुगेर रोकिएको थियो । उनका अनुसार त्यसमाथिको उकालो चढ्न नसकेर हात्तीको बथान दिनभरि त्यहीँ रोकिएको थियो ।
झापाको मेचीनगरका वडा नम्बर १, २, ३ र ४ हात्ती प्रभावित क्षेत्र हुन्। झापाकै बुद्धशान्तिको माथिल्लो भेग, अर्जुनधाराको चुरे क्षेत्र हुँदै दमकको उपल्लो क्षेत्रसम्म नै हात्तीको पीडा छ । यो पीडा झापा क्षेत्र नम्बर १ को मात्र नभएर ५ वटै निर्वाचन क्षेत्रको साझा समस्या हो। तर यो समस्या समाधानका लागि कुनै पनि नेताले कुनै प्रयत्न नगरेको सम्बन्धित निर्वाचन क्षेत्रका हात्ती पीडितहरूको गुनासो छ ।
झापाकै नेता केपी ओली तीन पटक प्रधानमन्त्री भए । तर झापाको हात्ती आतंक रोक्न कुनै ठोस र दीर्घकालीन योजना समेत ल्याउन नसकेको हात्ती पीडितहरूको दुखेसो छ।
ओलीले दमकको मानव बस्तीविहीन क्षेत्रमा झण्डै दुई अर्ब खर्चेर भ्यूटावर बनाएर राज्यकोषको खर्च गरे तर हात्ती पीडितका लागि उनी प्रधानमन्त्री हुँदा केही पनि नगरेको उनीहरूको गुनासो छ ।
बाहुनडाँगीमा हात्ती आतंक रोक्न विश्व बैंकको करिब दुई करोड सहयोग खर्चेर विद्युतीय तारबार निर्माण गरिएको थियो। तर अहिले त्यो संरचना प्रभावहीन बन्दै गएको स्थानीयको गुनासो छ ।
तारबार छिचोल्दै दैनिक हात्ती आएर किसानका अन्नबालीमा क्षति र घरमा बिझ्याइँ गर्ने क्रम रोकिएको छैन। स्थानीयका अनुसार सोलार ब्याट्री बिग्रिएका छन्, तार काटिएका वा चोरी भएका छन् र संरचना लथालिङ्ग अवस्थामा छ। हात्ती आउने क्रमलाई विद्युतीय तारबारले रोकेको छैन ।
स्थानीयले बाहुनडाँगीलाई ‘हात्ती प्रकोप क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन्। हालसम्म औपचारिक घोषणा नभएको भन्दै स्थानीय आक्रोसित छन् । जनप्रतिनिधिहरूले यस विषयमा चासो नदेखाएको आरोप उनीहरूको छ ।
पूर्वी नेपालको हात्ती आतंक कुनै आकस्मिक प्राकृतिक समस्या होइन। यो दशकौँदेखि हुर्किँदै आएको मानव–वन्यजन्तु द्वन्द्वको परिणाम हो । प्राकृतिक बासस्थान खुम्चिँदै जाँदा हात्ती मानव बस्तीमा आउन बाध्य हुँदा यो समस्या बढेको हो, जसले गर्दा स्थानीय समुदाय नियमित असुरक्षाको सामना गरिरहेका छन् ।
हात्ती आतंक दीर्घकालीन समाधानका लागि राहत वितरण मात्र पर्याप्त नहुने संरक्षणविद्हरूको भनाइ छ । हात्तीका प्राकृतिक आवागमन मार्ग संरक्षण, सीमापार समन्वय, वैज्ञानिक वन व्यवस्थापन र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत मात्रै पूर्वी नेपालमा दशकौँदेखि कायम रहेको हात्ती आतंकलाई स्थायी रूपमा न्यूनीकरण गर्न सकिने संरक्षणविद्हरूको सुझाव छ ।
प्रधानमन्त्री बालेनलाई चारबुँदे ज्ञापनपत्र
हात्ती प्रभावित क्षेत्र झापाको मेचीनगर नगरपालिका–१, २, ३ र ४ का हात्ती प्रभावित नागरिकहरूले जंगली हात्तीको आतंक नियन्त्रण र नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै कोसीका मुख्यमन्त्री हिकमत कार्कीमार्फत प्रधानमन्त्री बालेन शाहलाई गत शुक्रबार चारबुँदे ज्ञापनपत्र पठाएका छन् ।
ज्ञापनपत्रमा भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ्दै गएको उल्लेख गरिएको छ। नागरिकहरूले अब उप्रान्त थप क्षति सहन नसक्ने भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।
ज्ञापनपत्रमा भारतबाट नेपाल प्रवेश गर्ने हात्तीको आवतजावतलाई मानव–वन्यजन्तु द्वन्द्वका रूपमा लिएर बिना सर्त रोक्नुपर्ने माग गरिएको छ । त्यस्तै सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधिको प्रयोग गरी हात्तीलाई पुनः बासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
नागरिकहरूले पूर्वी मेची किनारदेखि कोसी टप्पुसम्म प्रस्ताव गरिएको वन्यजन्तु कोरिडोरको अवधारणा अव्यावहारिक र जैविक सन्तुलनविपरीत रहेको दाबी गर्दै उक्त परियोजना तत्काल रोक्न पनि माग गरेका छन् । उनीहरूले यसले पूर्व–पश्चिम राजमार्ग उत्तरका बस्तीहरूलाई भविष्यमा थप जोखिममा पार्ने बताएका छन् ।
त्यसैगरी जंगली जनावरको आक्रमणका घटनालाई पर्यटनसँग जोडेर प्रचारप्रसार गरिनु अनुचित भएको भन्दै हात्ती आतंकलाई आधार बनाएर सञ्चालन हुने पर्यटन प्रवर्द्धन सम्बन्धी गतिविधि तत्काल बन्द गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिकहरू चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।






प्रतिक्रिया