
काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४२ वर्षीय भारतीय नागरिक संजय कुमारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, कुमारले आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड लैजाने भन्दै एक जना पीडितबाट ९ लाख ८० हजार रुपैयाँ असुल गरेका थिए । रकम लिएपछि लामो समयसम्म झुक्काएर राखेको र अन्ततः सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
भारतको बिहार राज्य, गोपालगंज स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १८ मा बस्दै आएका कुमारलाई २०८३ असार १७ गते काठमाडौंको वडा नं १६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले जानकारी दिए ।






प्रतिक्रिया