बोइङका विमानमा सुरक्षाको ठूलो प्रश्न, राजनीतिक कनेक्सनले हुँदैन कारबाही

1k
Shares


एजेन्सी । भारतमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीवार दुर्घटनाग्रस्त भएपछि बोइङ विमानहरूको सुरक्षाका विषयमा पहिलेदेखि नै उठेको बहसले थप तीव्रता पाएको छ ।

वर्षौंदेखि बोइङ विमानहरूको सुरक्षामाथि प्रश्न उठिरहेका छन् तर बोइङले त्यसलाई टार्दै आएको छ ।

बोइङ विमानहरूमा गम्भीर प्राविधिक त्रुटि रहेको भनी जानकारी दिन खोज्ने जोन बार्नेट र जोशुआ डीन लगायतका सूचनादाताको (ह्विसलब्लोअर) रहस्यमयी परिस्थितिमा मृत्यु भएको थियो । कतिपय सूचनादाताहरू बेपत्ता भए वा तिनीहरूलाई मौन बस्न दबाब दिइयो ।

सन् २०१८ मा लायर एयरको उडान नं ६१० दुर्घटनामा परेको थियो भने सन् २०१९ मा इथियोपियन एयरलाइन्सको उडान नं ३०२ दुर्घटनाग्रस्त भएको थियो । ती दुई दुर्घटनामा परी ३४६ जनाको मृत्यु भएको थियो । त्यसपछि केही समयका लागि बोइङका विमानहरू नउडाउने (ग्राउन्डिङ) निर्णय गरिएको थियो ।

हिजो दुर्घटनामा परेको ७८७ ड्रीमलाइनरमा पनि सुरक्षासम्बन्धी थुप्रै चुकहरू थिए । विमानका पाटपुर्जा समस्याग्रस्त रहेको, हतारहतारमा विमान एसेम्बल गरिएको र कतिपय नटबोल्ट नै नरहेको वा राम्ररी नकसिएको समेत पाइएको थियो ।

तर यस्तो लापरवाही गरे पनि बोइङमाथि ठोस कारवाही गरिएन । बोइङ कम्पनी निकै विशाल र उसको राजनीतिक सम्पर्क निकै बलियो भएकाले उसलाई कसैले पनि छुन सक्दैन । बोइङले कमर्सियल विमानका साथै फौजी हातहतियार पनि उत्पादन गर्ने गरेकाले शक्तिशाली प्रभाव राख्छ ।

दुईवटा ७३७ म्याक्स विमानहरू दुर्घटनाग्रस्त हुँदा त्यसमा बोइङको लापरवाही र ठगी देखिएको भन्दै कानुनी कारवाही चलाउन खोजिएको थियो । तर बोइङले अमेरिकाको जस्टिस डिपार्टमेन्टसँग सम्झौता गरेर अभियोजन लाग्नबाट आफूलाई जोगाएको थियो ।

गत मे महिनामा बोइङले ठगी सम्बन्धी पुर्पक्षको सामना नगर्ने सम्झौता गरेको थियो । त्यसो हुँदा उसलाई फौजदारी अभियोग लाग्दैन थियो । सम्झौताअनुसार, बोइङले संघीय उड्डयन अधिकारीहरूलाई अनुसन्धान गर्नबाट रोकेको कुरा स्वीकार गर्ने र १.१ अर्ब डलर जरिवाना तिर्ने भएको थियो ।

अमेरिकी सरकारले बोइङसँगको यो सम्झौता दुर्घटनामा परेका मानिसको परिवारलाई जानकारी दिएरै गरेको र उनीहरूको स्वीकृति लिएको जनाएको छ । तर कतिपय मृतक परिवारले यस सम्झौताको कडा विरोध गरेका थिए । बोइङलाई यसरी फौजदारी दायित्वबाट पन्छाउन नमिल्ने उनीहरूको भनाइ छ ।

सम्झौताअनुसार, बोइङले दुर्घटनामा परेका यात्रुका परिवारलाई ४४ करोड डलर तिर्नेछ । उसले विमानहरूको सुरक्षा र गुणस्तरीयतामा सुधारका लागि ४५ करोड डलर खर्च पनि गर्नेछ ।

तर यति हुँदाहुँदै पनि भारतमा विमान दुर्घटना हुँदा बोइङको सुरक्षा चुकेको बारेमा प्रश्न उठिरहनेछ ।