ट्रम्प र मस्कबीच यसरी भयो ‘ब्रेकअप’

392
Shares

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक उद्यमी एलन मस्कसँगको निकट सम्बन्ध अन्त्य भएको पुष्टि गरेका छन्।

शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सम्बन्ध अन्त्य भएको हो भन्ने प्रश्नमा भने, ‘म त्यस्तै ठान्छु, हो।’

सम्बन्ध सुधार्ने चाहना छ कि भनेर सोधिएको प्रश्नमा भने उनले छोटो जवाफ दिए , ‘छैन।’

ट्रम्पको यो टिप्पणी मस्कसँग सामाजिक सञ्जालमा देखिएको तनावपूर्ण सम्बन्धपछि आएको हो। मस्कले ट्रम्पको चुनाव अभियानमा करोडौं डलर सहयोग गरेका थिए र केही समयका लागि श्वेत भवनका सल्लाहकारसमेत बनेका थिए।

तर पछिल्ला महिनामा ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयकको मस्कले खुलेर आलोचना गरेका छन्। सो विधेयक ट्रम्पको प्रमुख आन्तरिक नीतिमा पर्छ।

बहुसंख्यक रिपब्लिकन नेताहरूले ट्रम्पको पक्ष लिएका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्क ‘अत्यधिक आक्रामक’ बनेको टिप्पणी गर्दै अब उनलाई पार्टीमा फिर्ता स्वागत गरिने सम्भावना न्यून भएको बताए। भान्सले पोडकास्टर थियो भोनसँगको कुराकानीमा मस्कको आलोचनालाई ‘ठूलो गल्ती’ भने।

सातौं साता लगातार, मस्कले ‘बिग ब्यूटिफुल बिल’ नाम दिइएको विधेयकको आलोचना गर्दै आइरहेका थिए। उनले उक्त विधेयकले अमेरिका को राष्ट्रिय घाटामा ट्रिलियन डलर थप्ने र उनले डीओजीई (डिर्पाटमेन्ट अफ गभर्मेन्ट इफिसियनसी) को प्रमुखको रूपमा गरेको खर्च कटौतीको प्रयासलाई कमजोर बनाउने बताएका थिए।

डीओजीईको प्रमुखको पदबाट १२९ दिनपछि बाहिरिएपछि मस्कले आफ्नै प्लेटफर्म एक्समा सो विधेयकलाई ‘घृणास्पद र लाजमर्दो’ भनेका थिए, यद्यपि उनले सीधै ट्रम्पको नाम भने उल्लेख गरेका थिएनन्।

तर बिहीबार ट्रम्पले पत्रकारहरूसँग बोल्दै मस्कको व्यवहारप्रति ‘निराश’ रहेको बताए।

त्यसपछि मस्कले एक्समा लगातार पोस्ट गर्दै ट्रम्पले मस्कको सहयोगबिना चुनाव जित्न नसक्ने बताएका थिए र ट्रम्पको नाम बदनाम वित्त व्यवसायी जेफ्री एपस्टिनसँग जोडिएको आरोप पनि लगाए। यद्यपि उनले त्यो पोस्ट मेटाइसकेका छन् र एपस्टिनका कानूनी प्रतिनिधिले आरोप अस्वीकार गरेका छन्।

ट्रम्पले ट्रुथ सोसलमा जवाफ दिँदै मस्क ‘पागलजस्तै’ भएको टिप्पणी गरे। उनले मस्कको संघीय सरकारसँगका ठेक्का तोड्नेसमेत धम्की दिएका छन्।

शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मस्कले राष्ट्रपति पदको गरिमालाई अपमान गरेको बताए।

‘मलाई लाग्छ, त्यो धेरै गलत कुरा हो। उनले राष्ट्रपति पदको सम्मान गरेनन्,’ ट्रम्पले भने।

करिब २५ करोड डलर ट्रम्पको चुनाव अभियानमा दान गरेका मस्कले सामाजिक सञ्जालमा देखिएको वाकयुद्धकै क्रममा आगामी वर्षका मध्यावधि चुनावमा ट्रम्पका केही विरोधी उम्मेदवारलाई समर्थन गर्न सक्ने संकेत दिएका छन्। यसले ट्रम्प पक्षमा रहेका सांसदहरूलाई चुनौती दिन सक्ने देखिएको छ।

तर जब ट्रम्पसँग सोधियो कि मस्कले डेमोक्र्याट उम्मेदवारलाई समर्थन गरेमा के हुन्छ, उनले भने, ‘गम्भीर परिणाम भोग्नुपर्नेछ।’