इन्ड्राइभको पहिलो आधिकारीक कार्यालय ललितपुरको कुपन्डोलमा

2.1k
Shares

काठमाडौं । राइड सेयरिङ कम्पनी इनड्राइभले ललितपुरको कुपन्डोलमा आफ्नो आधिकारिक कार्यालय स्थापना गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेको हो ।

कार्यालय उद्घाटन कार्यक्रममा पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको समेत सहभागिता थियो । कार्यालय उद्घाटन कार्यक्रममा पूर्व मन्त्री ज्वालाले राइड सेयरिङलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने धारणा राखे ।

‘राइड सेयरिङ तथा सम्पूर्ण सार्वजनिक यातायात व्यवस्था गर्न संघीय सरकारले नै यसमा काम गर्न आवश्यक छ । राइड सेयरिङलाई बन्द गर्ने अथवा रोक्ने किसिमको सोच राख्नुहुँदैन,’ उनले भने, ‘यसलाई सबैले प्रोत्साहन गर्न आवश्यक छ । नागरिकलाई आवतजावत गर्न सजिलो भएकाले राइड सेयरिङ कम्पनीहरुले आफ्नो सेवा अझ बढी विश्वसनीय बनाउनुपर्छ ।’

उनले प्रयोगकर्ताका गुनासा सुनेर त्यसलाई समाधान गर्नेतर्फ कम्पनीहरुले ध्यान दिनुपर्ने बताए । इनड्राइभमा एपिएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले नेपालमा आफ्नो कार्यालय खोल्न पाउँदा खुसी लागेको बताए ।

उनले कार्यालयको सुरूआतसँगै इनड्राइभले अब चालकलाई प्रशिक्षण तथा राइडरहरूलाई सुरक्षा केन्द्रित सेवा प्रदान गर्ने पनि जानकारी दिए ।

नयाँ कार्यालयमा चालकहरूलाई व्यावसायिक दक्षता बढाउन र उच्चस्तरीय सेवा प्रदान गर्न नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने बताइएको छ । समस्यामा परेका अवस्थामा चालकहरूले कार्यालयमै आएर सहयोग लिन सक्ने व्यवस्था पनि बताइएको छ ।

इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु कम्पनीको प्राथमिकता रहेको बताइन् । उनले भनिन्, ‘स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु हाम्रो प्राथमिकता हो। ललितपुरमा कार्यालय सुरु गर्नु हाम्रो गहिरो प्रतिबद्धताको संकेत हो ।’

इनड्राइभले आफ्नो प्लेटफर्मलाई चालक–केन्द्रित, पारदर्शी र समुदाय संचालित बनाउने प्रतिबद्धता लिएको छ ।
काठमाडौंमा सञ्चालनमा आएको नयाँ कार्यालयले स्थानीय आवश्यकताको आधारमा निर्णय लिने, समस्याको समाधान गर्ने र नेपालभर उदाहरणीय मोडेल प्रस्तुत गर्ने विश्वास दिलाएको छ ।

नेपाली बजारमा इनड्राइभले राइड(हेलिङ मात्र होइन, समावेशी सोच, सुरक्षित यात्रा र सम्मानजनक व्यवहार स्थापना गर्ने दृढता देखाएको छ ।