बैंक सुपरिवेक्षणबाट हटाइए पौडेल, कार्यकारी निर्देशकमा बढुवा भएका रावलले पाए जिम्मेवारी

1.7k
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर डा. विश्वनाथ पौडेलले विभागीय प्रमुख (कार्यकारी निर्देशक) हरुको जिम्मेवारी हेरफेर गरेका छन् । राष्ट्र बैंकभित्र शक्तिशाली विभाग मानिने बैंक सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी तोकिएको छ ।

बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी भने सोमबार मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घबहादुर रावलले पाएका छन् । मुद्रा व्यवस्थापन विभागको निर्देशक रहेका उनले बढुवा भएसँगै बैंक सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका हुन् ।

सूचना प्रविधि विभागको कार्यकारी निर्देशक रहेका तुलसी प्रसाद घिमिरेको अवकास भएसँगै रावलको बढुवा भएको हो । सूचना प्रविधि विभाग प्रमुखको जिम्मेवारी भने मुद्रा व्यवस्थापन विभागमा रहेका कार्यकारी निर्देशक प्रदिपराज पौड्यालले पाएका छन् ।

यसअघि गभर्नर नियुक्त हुनासाथ गभर्नर पौडेलले आर्थिक अनुसनधान विभाग प्रमुख डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानेका थिए । त्यस्तै जनशक्ति व्यवस्थापन विभाग प्रमुख डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभाग प्रमुख बनाएर विश्रुत थापालाई जनशक्ति व्यवस्थापन विभागमा सुरूवा गरिएको थियो । भर्खरै बढुवा भएर गभर्नर कार्यालयमा कार्यरत रहेका डा. डिल्लिराम पोखरेलले भने बैंकिङ विभागको नेतृत्व पाएका थिए ।