
काठमाडौं । चीनले रबर नभई धातुबाट बनेको अत्याधुनिक टायर निर्माण गरेको छ । यस टायरले कठिन भूभागमा चल्ने सवारीसाधनको भविष्य परिवर्तन गर्न सक्ने बताइएको छ ।
चिङह्वा विश्वविद्यालयका वैज्ञानिकहरूले विकास गरेका यी टायरहरूमा निकेल–टाइटानियम शेप–मेमोरी अलोयको जाली संरचना प्रयोग गरिएको छ । यस्तो संरचना दबाब पर्दाखेरी बांगिन्छ तर तुरुन्तै पहिलेकै आकारमा फर्कन्छ । त्यसक्रममा टायरमा कुनै पनि क्षति हुँदैन ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमा र मंगलग्रहमा पठाउने रोभरहरूको लागि विकास गरेको प्रविधिबाट प्रेरित यी टायरहरूमा हावा हाल्नै पर्दैन । यी टायरहरू पंक्चर हुने सम्भावना नै हुँदैन र तापक्रमको असर पनि यसमा पर्दैन ।
यी टायरहरू कीला, तीखो ढुंगा वा गहिरो खाल्डाखुल्डी भएका अप्ठ्यारा ठाउँमा गुडे पनि तिनमा कुनै क्षति हुँदैन ।
अनुसन्धानकर्ताहरूले यी टायरहरूको परीक्षण गर्दा गाडीले कुल्चिने, शून्य डिग्रीभन्दा तलको तापमा जमाउने र उच्च तापमा तताउने गरेका थिए । ती सबै अवस्थाबाट गुज्रिँदा पनि हरेकपटक टायर नयाँ जस्तै भएको थियो ।
परम्परागत रबरका टायरहरू बिग्रिन, फुट्न वा पंक्चर हुन सक्छन् । तर, यी स्मार्ट टायरहरूमा हावा हाल्न नपर्ने र कुनै मर्मतसम्भारको आवश्यकता पनि नपर्ने भएकाले ती फौजी वाहन, मरुभूमिमा सामग्री ढुवानी र कठिन परिस्थितिको उद्धार कार्यका लागि उपयुक्त मानिन्छन् ।
चीन अहिले यी टायरहरूलाई अफ–रोड मोडल र ट्रान्सपोर्ट ट्रकहरूमा राखेर परीक्षण गर्नका लागि विद्युतीय सवारीसाधन निर्माता कम्पनीहरूसँग सहकार्य गरिरहेको छ । गोबी मरुभूमिमा यसको परीक्षण भइरहेको छ ।








प्रतिक्रिया