
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले सरकारले ल्याएको बजेटलाई स्वागत गरेको छ ।
बिहीबार नेपाल सरकारद्वारा संघीय संसदमा पेस गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि गरिएको सकारात्मक प्रावधान तथा प्रवन्धका विषय समेटेकोमा आइमाले स्वागत गरेको हो ।
प्रत्येक वर्ष बजेटमार्फत् सवारी साधनमा आकर्षित हुने करका दरहरु परिवर्तन भई व्यवसायमा कायम रहेको अनिश्चितता र व्यवसायको सञ्चालनमा देखिने गरेको अस्थिरतालाई चिर्दै यस बर्ष अटोमोबाइलमा आकर्षित हुने गरेको करका दर तथा नीति यथावत काय गरिएबाट व्यवसायीहरुमाझ नीतिगत स्थायित्वको अनुभूती भएको नाइमाले जनाएको छ ।
अटोमोवाइल क्षेत्रको विकास र विस्तारका लागि बजेटमा समावेश भएका विषयले व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने व्यवसायीको तर्क छ ।
आगामी आर्थिक वर्षको बजेटले अटोमोबाइल क्षेत्रका कर तथा नीतिहरूमा खास परिवर्तन नगरेकाले यस क्षेत्रमा संलग्न व्यवसायहरूलाई दीर्घकालीन योजना बनाउन सहज भएको र यसले बजारमा स्थिरता कायम गर्न मद्दत गर्ने अपेक्षा नाइमाले गरेको छ । विगतमा बारम्बार नीतिगत परिवर्तन भोगेका व्यवसायीहरूका लागि यो व्यवस्था आत्मविश्वास बढाउने सकारात्मक संकेतका रूपमा जनाइएको छ ।
चार्जिङ मेशिन उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि उपकरणमा केवल एक प्रतिशत भन्सार महसुल लाग्ने प्रावधानले स्वदेशमै यस्ता उपकरण उत्पादन हुने वातावरण बनाउने र स्वदेशी लगानीकर्तालाई प्रोत्साहन दिने अपेक्षा नाइमाले गरेको छ ।
विद्युतीय मोबिलिटी अन्तर्गत हाइब्रिड र प्लग–इन हाइब्रिड सवारीसाधनलाई प्रोत्साहन गर्न कुनै नीति नल्याइनुले सरकारकै दिगो यातायात प्रवर्द्धन गर्ने लक्ष्यसँग विसङ्गति देखिएको पनि नाइमाले औंल्याएको छ ।
विश्व बजारमा यस्ता सवारीसाधन कार्यकुशलता र वातावरणमैत्रीका दृष्टिले व्यापक रूपमा विकास भइरहे पनि नेपालमा बजेटले यसलाई प्राथमिकतामा नराखेको व्यवसायीहरूको ठम्याइ छ।











प्रतिक्रिया