वैदेशिक पर्यटन शुल्क खारेज, विदेश जानेले भ्रमण प्याकेजमा अब ५ प्रतिशत शुल्क तिर्नु नपर्ने

280
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वैदेशिक पर्यटन शुल्क खारेज गरेको छ । दुई वर्ष अगाडि सरकारले विदेश जाने नेपालीले भ्रमण प्योकज किन्दा तिर्नुपर्ने शुल्कलाई आगामी आर्थिक वर्षदेखि तिर्नु नपर्ने गरी हटाएको छ ।

वैदेशिक पर्यटन शुल्कमार्फत पर्यटकको रुपमा भ्रमणको लागि विदेशमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले दरले वैदेशिक पर्यटन शुल्क लाग्ने व्यवस्था छ ।

यस्तो शुल्क वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत तिर्नुपर्ने व्यवस्था छ । वैदेशिक भ्रमणको प्याकेज अन्तगत यातायातका साधन, खाना तथा वसोबास, घुमफिर तथा मनोरञ्जनसमेतको प्याकेज पर्ने छ ।

यस्तो शुल्क कुनै कम्पनी वा फर्मले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजादा लाग्ने खर्च लेखाङ्कनका बखत तिर्नुपर्ने व्यवस्था भएको थियो ।

यस्तो शुल्क संकलन रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा बुझाउनुपर्ने र अन्यथा १५ प्रतिशत व्याज लाग्ने व्यावस्था थियो । यस्तो शुल्क सम्बन्धित कम्पनीले भ्रमण प्याकेज बिक्री गर्दा अशुल नगरेमा सो रकमको २५ प्रतिशत शुल्क जरीवानावापत तिर्नुपर्ने व्यवस्था थियो ।