बजेटबारे निजी क्षेत्र: कसलाई कस्तो लाग्यो ? (भिडियो)

259
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गरेको आर्थिक वर्ष २०८२/८३ बजेटबारे प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रको धेरै कुरा समेटेको बताए ।

उनले अब आर्थिक ऐन आइसकेपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने महशुस गरेको स्पष्ट पारे ।

साथै बजेटले वैदेशिक लगानी प्रवद्र्धनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको भन्दै यसले आयात निर्यातमा निजी क्षेत्रको संलग्नता बढ्ने विश्वास लिएको अध्यक्ष ढकालले बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटमा समेटिएका सबै कुरा राम्रो भए पनि राजस्व मुख्य चुनौती हुनसक्ने बताए ।

पूर्वअध्यक्ष मल्लले समग्रमा बजेट राम्रो आएको बताए ।

बजेटले युवा पुस्तालाई पनि प्रोत्साहन दिन स्टार्टअप बिजनेसमा पाँच वर्षसम्म कर नलिने घोषणालगायत समग्रमा बजेट राम्रो आएको प्रतिक्रिया दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले बजेटलाई सकारात्मक रुपमा लिएको बताए । उनले कार्यक्रमहरु सबै राम्रा आएका तर बाँकी कुरा आर्थिक ऐन आएपछि थाहा हुने बताए ।

राजश्व उठाउने विषयमा कर्मचारीहरुले राम्रो नियतले काम गरिदिए अन्य कुराहरुलाई बजेट सकारात्मक रहेको अध्यक्ष अग्रवालको भनाइ थियो । निजी क्षेत्रका मागहरुलाई अर्थमन्त्रीले सकारात्मक रुपमा लिएर बजेटमा समावेश गरिदिएको बताए ।

बजेटबारे प्रतिक्रिया दिँदै निजी क्षेत्रका व्यवसायीहरुले बजेट समग्रमा आशालाग्दो भएको र बाँकी कुरा आर्थिक ऐन आएपछिमात्र प्रतिक्रिया दिन सकिने बताए ।