एक वर्षभित्र काठमाडौं–केरूङ रेलमार्गको डीपीआर तयार गरिने, अन्य कहाँ कहाँ रेल ?

336
Shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित गर्न मेट्रोरेल मोनोरेल जस्ता विकल्पहरुको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षा २०८२/०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताए ।

त्यस्तै आगामी वर्ष पूर्वपश्चिम राजमार्गलाई आधार मानी स्ट्याण्डर्ड गेज मापदण्डको विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरिने पौडेलले बताए ।

निर्माणाधीन वर्दिवास–निजगढ खण्डको रेलमार्गलाई पूर्व पश्चिम विद्युतीय रेलमार्गको मापदण्डअनुरूप बनाइने भएको छ । पूर्वपश्चिम रेलमार्ग निर्माण गर्ने प्रयोजनका लागि अधिग्रहण गर्न रोक्का राखिएको काकडभिट्टा–इटहरी खण्डको जग्गा फुकुवा गरिने बजेटमा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षमा काठमाडौँ–केरूङ्ग रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने पौडेलले बताए । सीमावर्ती दक्षिण नाकाका न्यूजलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज जोड्ने रेलमार्ग निर्माण कार्यको तयारी शुरू गरिने बजेटमा उल्लेख छ ।